तेस्रो गण्डकी प्रदेश स्तरीय व्याडमिन्टन प्रतियोगिता सम्पन्न

रिखिराम जिसी २०७९ साउन २१ गते १७:२४

पोखरा ।
तेस्रो गण्डकी प्रदेश स्तरीय व्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । पोखरा रंगशालामा शनिबार सकिएको प्रतियोगितामा खुला मेन्स डबल्सतर्फ होम गुरुङ र विधान अधिकारीको जोडीले उपाधि जित्न सफल भएका छ ।

फाइनलमा विशाल बस्नेत र बिशाल गुरुङको जोडीलाई २–० को सोझो सेटमा पराजित गर्दै उपाधी जित्न सफल भएको हो । उपाधी जितेको सो जोडीलाई कार्यक्रमका प्रमुख अतिथी नेकपा एमालेका उपमहासचिव एवम् गण्डकी प्रदेशमा पूर्व मुख्यमन्त्रि पृथ्वीसुब्बा गुरुङले नगद ३५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरे ।

फाइनलमा पराजित विशाल बस्नेत र विशाल गुरुङको जोडी दोस्रो भयो । दोस्रो हुन सफल उक्त जोडीले नगद २५ हजारसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो । प्रतियोगिताको खुला मेन्स डबल्सतर्फको तेस्रो स्थान सुरेन्द्र हमाल र प्रवेश मगरको जोडी र सुजन थापा र दीपक रानाको जोडीले हात पारे । उनीहरुले नगद १०/१० हजारसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

Advertisement

भेट्रान्सतर्फ राजेश गुरुङ र शम्भु श्रेष्ठको जोडी उपाधी जित्न सफल भयो । उक्त जोडीले फाइनलमा नरबहादुर गुरुङ र डोलराज आलेको जोडीलाई २–० को सोझो सेटमा पराजित गर्दै उपाधी जित्यो । उपाधी जितेको गुरुङ र श्रेष्ठको जोडीले ३५ हजारसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो ।

फाइनलमा पराजित गुरुङ र आलेको जोडी दोस्रो बन्दै नगद २५ हजारसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो । तेस्रो स्थान राजेन्द्र गुरुङ र कृष्ण रानाको जोडी र प्रेम गुरुङ र कुस गुरुङको जोडीले हात पारे । उनीहरुले १०/१० हजारसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे । उत्कृष्ट टिमकाे रुपमा कास्की जिल्ला टिम र उत्कृष्ट अनुशासित टिमकाे रुपमा रोमन बानिया र क्षितिज खनालको जोडीले घाेषित भए ।

Advertisement

नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ गण्डकी प्रदेश, कास्की जिल्ला र पोखरा महानगर कमिटीको संयुक्त आयोजना र जिल्ला ब्याडमिन्टन संघको सहकार्यमा प्रतियोगिता शुक्रबारदेखि पोखरा रंगशालामा सुरु भएको थियो ।

४४ औं पुष्पलाल स्मृति दिवसको अवसरमा ‘सफल व्यवसायीका लागि स्वास्थ्य, स्वास्थ्यताको माध्यम खेलकुद’ भन्ने मुल नाराको साथ प्रतियोगिता आयोजना गरिएको उक्त प्रतियोगितामा खुल्ला मेन्स डबल्सतर्फ प्रदेशभित्रका २५ र भेट्रान्सतर्फ १६ टिमले सहभागिता जनाएका थिए ।

रिखिराम जिसी

जिसी समाधान संवाददाता हुन् 

तपाईको प्रतिक्रिया