‘मदन पुरस्कार–२०७८’ को श्रेष्ठ सूचिमा ८ पुस्तक

समाधान संवाददाता २०७९ साउन २३ गते ११:५०

काठमाडौँ ।
मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार–२०७८’ का लागि ८ पुस्तकहरु छनोट गरेको छ । गुठीलाई प्राप्त २९९ पुस्तकहरूमध्ये ८ वटा पुस्तकलाई श्रेष्ठ सूचीमा समेटिएको हो । यी पुस्तकहरू मध्येबाट बढीमा १० पुस्तकहरूको श्रेष्ठ सूची तयार गर्न गठन भएको समितिले गुठीलाई ८ पुस्तकको नाम उपलब्ध गराएको थियो ।

यी पुस्तकहरूमध्ये एक पुस्तकलाई सर्वश्रेष्ठ पुस्तकका रूपमा वर्ष २०७८ को मदन पुरस्कार दिइने छ ।

  • श्रेष्ठ सूचिमा परेका ८ पुस्तक
    अग्नि : डा नवराज लम्साल
    ग्रीष्मको नीलो बतास : डा दामोदर पुडासैनी ‘किशोर’
    महाभारा : बसन्त बस्नेत
    यादको सन्दुक : दिपा मेवाहाङ राई
    लिच्छवि लिपि : डा नयनाथ पौडेल
    व्युत्पत्तिमूलक संस्कृतनेपाली शब्दकोश : प्रा. नीलमणि ढुङ्गाना
    सती : इतिहास र मीमांसा : सुजित मैनाली
    हिति प्रणाली : पद्मसुन्दर जोशी

मदन पुरस्कार
२०१२ साल असोज १० मा मदनशमशेर राणाको स्मृतिमा रानी जगदम्बाबाट मदन पुरस्कारको स्थापना भएको थियो । मदन पुरस्कारको पहिलो घोषणा २०१३ सालमा भयो । पहिलोपटक ‘हाम्रो लोकसंस्कृति’ का लागि सत्यमोहन जोशी, ‘जनरल भीमसेन थापा’ का लागि चित्तरञ्जन नेपाली र ‘अधिकविभव स्थिरविद्युत् उत्पादक’का लागि बलराम जोशीलाई मदन पुरस्कार दिइएको थियो । तर सम्मान कार्यक्रम २०१४ सालमा गरियो । त्यतिबेला पुरस्कारको राशि ४ हजार रहेको थियो । एक वर्षभित्रमा नेपाली भाषामा निस्किएका उत्कृष्ट कृतिहरूमध्ये एक कृतिलाई मदन पुरस्कार दिइन्छ । २०३१ र २०३३ सालमा कसैलाई मदन पुरस्कार वितरण गरिएन ।

Advertisement

पुरस्कार राशि
४ हजारबाट सुरु भएको मदन पुरस्कारको राशि २०७५ सालदेखि ४ लाख बनाइएको छ । मदन पुरस्कार गुठीले २०२५ सालपछि १०–१० हजार रूपैयाँका दुई सम्मान दिने व्यवस्था भयो । २०३३ सालपछि भने एक मात्र सम्मान दिने र पुरस्कार राशि २५ हजार बनाइयो । त्यस्तै, २०४० सालमा ३० हजार, २०४२ सालमा ४० हजार, २०४३ सालमा ५० हजार, २०५१ सालमा १ लाख, २०६१ सालमा २ लाख र २०७५ सालमा चार लाख बनाइयो ।

२०७२ चैत्र १८ गते बसेको मदन पुरस्कार गुठीको बैठकले सर्वोत्कृष्ट १० कृति छनोट गर्ने निर्णय गरेको हो । जुन निर्णयअनुसार बर्सेनि सर्वोत्कृष्ट कृतिको नाम सार्वजनिक गर्ने गरिएको छ ।

Advertisement

गत वर्षको ‘मदन पुरस्कार २०७७’ लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह’ पुस्तक भगिराज इङ्नामले प्राप्त गरेका थिए ।

तपाईको प्रतिक्रिया