राष्ट्रिय खेलकुदका लागि तालिम

समाधान संवाददाता २०७९ साउन २५ गते ११:१४

पोखरा ।
गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सफल पार्नुपर्ने बताएका छन् । प्रदेश खेलकुद परिषद गण्डकीले पोखरामा मंगलबार आयोजना गरेको अभिमुखीकरण समापनमा मन्त्री गुरुङले प्रदेशले बजेटको सुनिश्चितता नगरेकोमा चिन्ता व्यक्त गरे ।

‘सबै जना मिलेर नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सफल पारौं, गण्डकी प्रदेशले बजेटको सुनिश्चितता गरिसकेको छैन । यसका लागि भोलि नै अर्थमन्त्रीलाई भेट्छु,’ मन्त्री गुरुङले भने । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै प्रदेश खेलकुद परिषद गण्डकीले आयोजना गरेको तालिममा गण्डकी प्रदेशका जिल्ला तथा प्रदेश स्तरीय खेल संघ तथा क्रियाशील क्लबका पदाधिकारी गरी करिब १ सय जनाको सहभागिता रहेको प्रदेश खेलकुद परिषद गण्डकी सदस्य सचिव तेजबहादुर गुरुङले बताए ।

खेल संघ तथा क्लबलाई संस्थागत रुपमा अगाडि बढाउन कार्यक्रम गरिएको हो । ‘नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरेरै कार्यक्रम गरेका हौं,’ उनले भने । तालिममा सहजीकरण गर्दै उनले प्रदेश खेलकुद परिषदको योजनाका बारेमा प्रष्ट पारेका थिए ।

Advertisement

खेलकुदको विकास सम्बन्धमा गण्डकी प्रदेश सरकारको नीतिगत व्यवस्था, तयारी अवधारणाका बारेमा नीति तथा योजना आयोगका सदस्य डा. सुवास अधिकारीले सबैलाई जानकारी गराए । नेतृत्व अभिमुखीकरण सम्बन्धमा नेपाल ओलम्पिक कमिटीको साइकोलोजी विभाग प्रमुख ईन्द्रबहादुर गुरुङ र ओलम्पिक मुभमेन्टका बारेमा नेपाल ओलम्पिक एकेडेमीका निर्देशक रविराज कर्निकारले प्रकाश पारे ।

खेल संघ तथा क्लबले राख्ने लेखा प्रणाली र लेखा व्यवस्थापनका बारेमा प्रदेश खेलकुद परिषदका लेखापाल नीलकण्ठ ढकालले जानकारी दिए । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ११ टिमले ३६ खेलका ४ सय ७ इभेन्टमा पदकको लागि प्रतिष्पर्धा गर्ने छन् । दोस्रो खेलकुद भएको ३९ वर्षपछि पोखरामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुन लागेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया