भारतीय स्वतन्त्रता दिवस पोखरामा

समाधान संवाददाता २०७९ साउन ३० गते १८:०९

पोखरा ।
भारतको ७६औँ स्वतन्त्रता दिवस पोखरामा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । भारतले सन् १९४७ देखि हरेक वर्ष तत्कालीन ब्रिटिस शासकबाट मुक्ति पाएको दिन अगस्ट १५ लाई स्वतन्त्रता दिवसको रुपमा मनाउँदै आएको छ ।

स्वतन्त्रता दिवसको अवसरमा भारतीय दूतावास पेन्सन वितरण कार्यालय(पीपीओ) रामबजार पोखराले सोमवार विशेष कार्यक्रमको आयोजना गरी मनाएको हो । सो अवसरमा झण्डोतोलन सहित भारत र नेपाल दुवै देशको राष्ट्रिय गान गाईएको थियो ।

पेन्सन वितरण कार्यालय रामबजार पोखराद्वारा आयोजित स्वागत समारोहमा पीपीओ प्रमुख लेफ्टिनेन्ट कर्णेल शशांक त्रिपाठीले उपस्थित सम्पूर्णलाई आगन्तुकलाई स्वागत गरेका थिए । पीपीओ प्रमुख त्रिपाठीले नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच बहुपक्षीय एवम् बहुक्षेत्रीय सहकार्य रहेको बताए ।

Advertisement

त्रिपाटीले सदिँयौदेखि नेपालीको भारतीय सेनामा सहभागिता रहेकोमा भारतलाई गर्व रहेको बताउदै विश्वमै बहादुरी र बफादारीरुपमा परिचित वीर गोर्खा भूपू तथा तिनका आश्रित परिवारजनप्रति भारतले सेवानिवृत्त हुँदासमेत आवश्यक सेवासुविधालाई उच्च प्राथमिकता दिएको उल्लेख गरेका थिए ।

समारोहमा नेपाल–भारतमैत्री विद्यालयका बालबालिकाले नेपाली र भारतीय बिबिध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए भने उत्कृष्ट कर्मचारी एसटिओ डोलबहादुर थापा, युडिसी भरत भूषण पाण्डे लगाएतका कर्मचारीहरूलाई सम्मान गरिएको थियो ।
उक्त समारोहमा पोखराका उद्योगपति, व्यापारी, समाजसेवी, कामको सिलसिलामा पोखरामा रहेका भारतीय नागरिक र वरिष्ठ सञ्चारकर्मीहरुको उपस्थिति थियो ।

Advertisement

तपाईको प्रतिक्रिया