छात्रालाई यौन दुर्व्यवहार गर्ने गल्कोटका शिक्षकलाई उन्मुक्ति

प्रमिला कुँवर २०७९ भदौ १ गते १२:०८

प्रमिला कुँवर । पोखरा
बागलुङको गलकोट १० मा रहेको पाण्डवखानी माध्यमिक विद्यालयका दुई शिक्षकले छात्रामाथि यौन दुव्र्यहार गर्दै आएको घट्ना सार्वजनिक भएको छ । कक्षा १० मा अध्ययनरत एक छात्राले साउन २७ गते आफूमाथि शिक्षकले यौन दुर्व्यवहार गरेको घट्ना सार्वजनिक गरेकी थिइन् ।

औरही गाउँपालिका सिरहाका ३४ वर्षीय शिक्षक देवकुमार शाह र राजविराज गाउँपालिका सप्तरीका ३५ वर्षीय रोशनकुमार शाहले ट्युसन पढाउने क्रममा विभिन्न बहाना बनाउँदै संवेदनशील अंगमा छुने जस्ता अनुचित क्रियाकलाप गरेको भन्दै नाबालिकाका अभिभावकले विद्यायल प्रशासनलाई जानकारी गराएका थिए । यौन दुव्र्यवहार जस्तो संवेदनशील घटनाका आरोपितलाई राजीनामामात्रै गराई बिना कानुनी कारबाही उन्मुक्ति दिइएको गुनासो अभिभावकले गरेका छन् ।

शिक्षकले एक वर्षदेखि आफूमाथि यौन दुव्र्यहार गर्दै आएको छात्राहरुले बताएका छन् । गलत नियतले संवेदनशील अंगमा छुने, चिमोट्ने, अपशब्द प्रयोग गर्ने गरेको उनीहरुले खुलाएका हुन् । ‘दुर्व्यवहारको कुरा विद्यालय प्रशासनलाई भन्दिन्छु भन्दा ‘तेरो विद्यालय व्यवस्थापन समितिले के गर्न सक्छ ? हामी कोहीसँग पनि डराउदैनौं भन्ने जस्ता शब्द प्रयोग गरी उल्टै डर र धम्की दिन्थ्योे,’ उनीहरुले भने ।

Advertisement

गर्न मिल्ने कारबाही गरिसकेको विद्यालयका प्रध्यानाध्यापक नवीन सुनारले बताए । उनले भने, ‘तत्कालका लागि आरोपतिलाई विद्यालयबाट निष्कासन गरेका छौं ।’ आरोपितलाई सम्पर्कमा लिएर शिक्षा विभागका तर्फबाट हुने कारबाहीका लागि प्रक्रिया अघि बढाएको जानकारी दिएका छन् । ‘यदि उहाँहरु सम्पर्कमा आउनमान्नु भएन भने प्रहरीको सहायता लिनेछौं, इलाका प्रहरी कार्यालय हरिचौरमा मौखिक निवेदन पेश गरिसकेकाछौं,’ उनले भने ।

आइतबार आरोपित, विद्यालय प्रशासन, व्यवस्थापन समिति, जनप्रतिनिधि र अभिभावकबिच छलफल भएको थियो । ‘छलफलमा आरोपितले आफूमाथि लागेको आरोप झुटो भएको बताएका थिए,’ वडाध्यक्ष भक्तबहादुर काउचाले भने, ‘तपाईंहरुले अनुचित कार्य गरेको भनेर सार्वजनिक भइसक्यो अब तपाईहरु यहाँ बस्न लायक हुनुहुन्न भन्दै अभिभावकले दुई शिक्षकको राजीनामा माग गरेका थिए । ‘कानुनी प्रक्रियामा जाँदा धेरै झमेला हुन सक्थ्यो, यसले झन् पीडितलाई समस्या थप्न सक्थ्यो त्यसैले राजीनामा कुरा मिलाउन खोजेका थियौं,’ उनले भने ।’

Advertisement

विद्यालय प्रशासनले पीडकलाई संरक्षण दिएको अभिभावकको गुनासो छ । ‘राजिनामा पत्र बुझाउँदा हामि कोहि पनि अभिभावक उपस्थित थिएनौं, प्रशासनले दोषीमाथि कानुनी कारवाही प्रक्रिया अघि बढाउनुको साटो विद्यालय व्यवस्थापन समिति, जनप्रतिनिधि, समाजसेवी तथा शिक्षकहरुको मिलेमतोमा राजीनामा दिन लगाई यौन दुर्व्यवहार जस्तो जघन्य अपराधलाई माफिनामा गराई उन्मुक्ति दिएको अभिभावकको आरोप छ ।

राजीनामा दिए लगत्तै सोमबारदेखि आरोपित सम्पर्कविहीन छन् । उनीहरु २०७८ सालदेखि करार सेवामा शिक्षकका रुपमा कार्यरत थिए ।

बालबालिकासम्बन्धी ऐन २०७५ दफा ६६ को उपदफा ३ मा बालबालिकामाथि गरिने कस्ता व्यवहार बाल यौन दुव्र्यवहार हुन् भनेर स्पष्ट उल्लेख छ । उक्त उपदफामा अश्लील चित्र, श्रव्यदृश्य वा यस्तै किसिमका अन्य सामग्री देखाउनेदेखि अश्लील तथा यौनजन्य आचरण वा व्यवहार झल्काउने अभिव्यक्ति वा हाउभाउ प्रदर्शन गर्ने कामलाई पनि बाल यौन दुर्व्यवहारको रूपमा परिभाषित गरिएको छ । ऐनमा यौनजन्य मनसायले शरीरको संवेदनशील अंगमा स्पर्श गर्ने, चुम्बन गर्ने, समाउने, अंकमाल गर्ने वा आफ्नो वा अरू कसैको शरीरको संवदेनशील अंग छुन वा समाउन लगाउने वा यौनजन्य मनसायले बेहोस पार्ने वा यौनजन्य अंग प्रदर्शन गर्ने वा गर्न लगाउने कामलाई पनि यौनजन्य दुव्र्यवहार हो भनेको छ । ऐनको दफा ७२ को उपदफा ’ग’ मा यस्तो कार्य गर्नेमाथि बढीमा ८० हजारसम्मको जरिवाना वा चार वर्षसम्मको कैद सजाय व्यवस्था गरिएको छ ।

प्रमिला कुँवर

पत्रकारितामा स्नातक कुँवर समाधान दैनिक र समाधानन्युज डटकमकी संवाददाता हुन् । 

तपाईको प्रतिक्रिया