संघीयता राखौं, प्रदेश हटाऔंः लिङ्देन

समाधान संवाददाता २०७९ भदौ १ गते १३:०१

पोखरा ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई देशलाई बन्धक बनाउने पार्टी र नेतृत्व परिवर्तन गर्न चुनाव उपयोग गर्नुपर्ने बताएका छन् । आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमार्फत शान्तिपूर्ण रुपमा पुराना दल र त्यसका नेतृत्व परिवर्तन गर्नुपर्ने उनको धारणा छ ।

‘आउँदो चुनावलाई हामीले सधैं आउने चुनाव जस्तो एउटा नेता छान्न र फेर्ने अवसरका रुपमा मात्र होइन, देशलाई लामो समयदेखि बन्धक बनाएर राख्ने दल र तिनका नेताबाट मुलुकलाई मुक्त गर्ने अवसरका रुपमा हामीले उपयोग गर्नुपर्छ,’ लिङ्देनले भने ।

‘नाम संघीयता राख्न हामीलाई आपत्ति छैन, तर प्रदेश खारेज हुनुपर्छ । हामीले ऋण काढेर जनप्रतिनिधि पालेका छौं ।’

Advertisement

देशलाई संकट र चक्रब्यूहबाट मुक्त गर्न राप्रपालाई मतदान गर्नुपर्ने उनले बताए । अध्यक्ष लिङ्देनले सरकारलाई कर तिर्न पनि घूस खुवाउनुपर्ने अवस्था आएको बताए । ‘देशभित्र हाम्रा उद्योगी, व्यवापारीले कर तिर्न पनि घूस खुवाउनुपर्ने स्थित छ, त्यसलाई अन्त्य गरेर हाम्रै जीवनकालमा नेपाललाई समुन्नत बनाउनुपर्ने छ,’ उनले भने, ‘हाम्रा भाइ, छोरालाई यही देशमा गरी खाने वातावण बनाउनुपर्छ ।’

मलेसिया, दुबई, कतार लगायतका देश नेपाली युवा गएर बनाएको भन्दै उनले अब युवाले आफ्नै देश बनाउनुपर्ने बताए । यसका लागि अठोट, हिम्मत र इमान्दार भएको नेतृत्व र असल प्रणाली आवश्यक पर्ने लिङ्देनको भनाइ छ । लिङ्देनले अहिलेको व्यवस्थालाई संघीय व्यवस्था भने पनि प्रदेश सरकार खारेज हुनुपर्ने आफ्नो धारणा रहेको बताए । ‘नाम संघीयता राख्न हामीलाई आपत्ति छैन, तर प्रदेश खारेज हुनुपर्छ,’ उनले भने, ‘अहिले ३ तहका सरकार देशले धान्न सक्दैन, हामीले ऋण काढेर जनप्रतिनिधि पालेका छौं ।’

Advertisement

पोखरामा मंगलबार आयोजित राप्रपा कास्की क्षेत्र नम्बर १ को कार्यालय उद्घाटनमा लिङ्देनले निर्वाचन प्रणाली महँगो भएको बताए । उनले सांसद बन्न मतदाता र प्रधानमन्त्री बन्न सांसद किन्नुपर्ने अवस्था आएको दाबी गरे । राप्रपाले यस्तो विकृति हटाउन निर्वाचन प्रणाली परिवर्तनको माग राखेको उनले बताए । अब पूर्ण समानुपातिक सांसद, जनताले सोझै चुन्न पाउने प्रधानमन्त्री र अहिलेको राष्ट्रपतिको ठाउँमा राजा हुने व्यवस्था आवश्यक रहेको उनले बताए । उनले २०४६ सालपछि बनेका प्रधानमन्त्री, मन्त्री र उच्च पदस्थ कर्मचारीको सम्पत्ति छानबिन गर्नुपर्ने भन्दै त्यसको सुरुवात राप्रपाकै नेताबाट गर्न मागसमेत गरे ।

अहिलेका दलहरुले सत्तामा टिक्न विदेशीसँग साँठगाँठ गरेर हस्तक्षेप बढाएको उनले अरोप लगाए । गणतन्त्र स्थापनापश्चात देश विदेशी ऋणमा डुबेको उनको दाबी छ । ‘हिजो राजाको पालामा २९ अर्ब रहेको ऋण आज संघीयता कार्यान्वयनको सन्दर्भमा झण्डै १९ खर्ब पुग्न लागेको छ,’ उनले भने । राप्रपा प्रतिको आकर्षण रोक्न नक्कली अभ्यास भइरहेको दाबी गर्दै उनले भने, ‘राप्रपाप्रति जुन विश्वास प्रदा भइराखेको छ, त्यो बीचमा खण्डित गर्न सकिन्छ कि भनेर प्रयास भइराखेको छ, हाम्रा नेता, कार्यकर्ता र मतदाता सचेत हुन जरुरी छ ।’

राप्रपा अध्यक्ष लिङ्देनले सोमबार पोखरामा आयोजित पार्टीको क्षेत्रीय कार्यालय उद्घाटनका क्रममा विभिन्न पार्टी परित्याग गरी आएका सयभन्दा बढीलाई राप्रपामा स्वागत गरेको राप्रपा कास्की प्रवक्ता अरुण गिरीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया