ट्रेड मलको चाडपर्व लक्षित योजना

समाधान संवाददाता २०७९ भदौ १ गते १३:४१

पोखरा ।
पोखराको चिप्लेढुंगामा रहेको पोखरा ट्रेड मलले नेपालीका चाडपर्व दसैं, तिहारलाई लक्ष्य गरी यस वर्ष ‘नगदै नगदको वर्षा’ उपहार योजना ल्याएको छ । ट्रेड मल व्यवस्थापन समिति र व्यवसायीले यही भदौ १ देखि कात्तिक ३० गतेसम्म लागू हुने गरी उपहार योजना ल्याएका हुन् ।

चाडपर्वको अवसरमा विगतदेखि नै विभिन्न उपहार योजनामार्फत ग्राहक आकर्षित गर्दै आएको मलले यस वर्ष धेरैभन्दा धेरै ग्राहकलाई नगद उपहार प्रदान गर्न नगद वर्षा उपहार योजना ल्याएको उत्सव व्यवस्थापन समिति अध्यक्ष नवराज त्रिपाठीले बताए । ट्रेड मलभित्र ५ सय रुपैयाँभन्दा माथिको सामान खरिदमा ग्राहकले निःशुल्क उपहार कुपन प्राप्त गरी लाखौँको उपहार जित्न सक्ने छन् ।

ग्राहकले पाक्षिक रुपमा नगद तथा सपिङ भौचरका साथमा गिफ्ट ह्याम्पर र बम्परमा १ लाख रुपैयाँ प्राप्त गर्ने ट्रेड मलले जनाएको छ । बम्पर उपहार विजेताको छनोट गोलाप्रथाबाट गरिनेछ । चाडपर्वको उत्सवका बेला ग्राहकसँग खुसी साट्नका लागि उपहार योजना ल्याइएको त्रिपाठीले बताए । उनले भने, ‘दसैं, तिहार उत्सव योजना ग्राहकसँग खुसी साट्नका लागि ल्याइएको हो । ग्राहकलाई यस योजनाले फाइदा पुग्नेछ ।’

Advertisement

मलको कुनै पनि पसलबाट न्यूनतम ५ सय रुपैयाँको सामान किन्दा १ बम्पर उपहार कुपन साथै १ हजार ५ सयभन्दा माथिको सामान खरीद गर्दा ३ कुपन प्राप्त गर्ने उत्सव व्यवस्थापन समितिका कोषाध्यक्ष रघु दवाडीले जानकारी दिए । पाक्षिक उपहार योजनाका विजेताले १ हजारदेखि १० हजारसम्म नगद साथै गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन् । ‘स्क्राच एन्ड विन’ अफरमा सहभागी हुनका लागि कुनै पनि पसलबाट ५ हजार वा सोभन्दा माथिका सामान खरिद गर्नुपर्ने हुन्छ ।

पोखरा ट्रेड मलभित्रका ५ सय २ व्यापारिक सटरमा २ सय ७५ व्यावसायिक प्रतिष्ठान सञ्चालनमा छन् । मलमा फेन्सी, कस्मेटिक, जुत्ता चप्पल, बैँक तथा वित्तीय संस्था, रेस्टुरेन्ट, जिम हल लगायतका पसल सञ्चालन रहेको मलका व्यवस्थापक कमल खनालले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया