कालोपत्रे पछि डेढ घण्टाको बाटो २० मिनेट

राकेश शर्मा २०७९ भदौ ३ गते १०:३९

म्याग्दी ।
म्याग्दीको बेनी दरवाङ सडकको बेनी–सिम खण्ड कालोपत्र भएको छ । १२ किलोमिटर ५ सय मिटरको यो सडक कालोपत्र भएपछि डेढ घण्टाको यात्रा २० मिनेटमा छोटिएको छ ।

मंगला गाउँपालिका २ सिमलचौरका श्रीराम पौडेलले यसअघि १ घण्टादेखि डेढ घण्टा लाग्ने यात्रा कालोपत्र भएपछि १५ देखि २० मिनेटमा छोटिएको बताए । ‘म्याग्दीको पश्चिमी भेगका नागरिकलाई आवजजावतमा सहज भएको छ,’ उनले भने, ‘सामान ढुवानी र आवतजावतमा सहजतासँगै यस क्षेत्रको व्यापार व्यवसायमा पनि फरक हुन थालेको छ ।’

बेनी दरवाङ सडकको बेनी–सिम खण्ड कालोपत्र भएपछि यात्रा अवधि छोटिएको हो

Advertisement

बेनी नगरपालिका ४ तातोपानीका कृषक भविलाल सापकोटाले बर्खामा हिलाम्मे र हिउँदमा धूलाम्मे हुने समस्याबाट मुक्ति पाएर सहज, सुरक्षित र छिटो यात्रा गर्न पाएको बताए । ‘हिलो, धूलो, खाल्डाखुल्डी र साँघुरो सडकमा हिड्नै गाहे थियो,’ उनले भने । १२ वर्षदेखि बेनीमा मोटरसाइकलमा दूध ढुवानी गर्दै आएको उनले बताए । उनले भने, ‘सडकका कारण कुनै कुनै दिन त बजारमा दूध पुर्‍याउन सकिदैनथ्यो ।’

बेनीदेखि मंगला गाउँपालिका २ सिमसम्मको सडक कालोपत्र भएपछि म्याग्दीको पश्चिमी भेगमा पर्ने ३ पालिकाका बासिन्दा लाभान्वित भएका छन् । मंगला, मालिका र धवलागिरी गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने म्याग्दीको रणनीतिक महत्वको बेनी दरबाङ सडकको बेनीदेखि सिमखण्ड पूर्वाधार विकास कार्यालयले कालोपत्र भएको हो । कार्यालयका निमित्त प्रमुख गुरुदत्त अधिकारीले बेनी सिम खण्डको सडक कालोपत्र सकिएको जानकारी दिए ।

Advertisement

‘पहिरोको समस्या र जग्गा विवाद भएका बाहेकका ठाउँमा कालोपत्र सकिएको छ,’ उनले भने, ‘११ मिटर फराकिलो सडकमा ७ मिटर चौडाइ सडक कालोपत्र गरिएको हो ।’ डिबिएसटी प्रविधिको कालोपत्र भएको हो । कार्यालयका सडक इन्जिनियर सञ्जय सुवेदीले गत चैत पहिलो हप्तादेखि थालिएको कालोपत्र गर्ने काम असार अन्तिम साता सकिएको बताए । सडक विस्तार गरेर फराकिलो, नाली र पर्खाल निर्माण सकिएपछि प्राइम कोट, बिटुमिन र चिप्स राखेर २ चरणमा कालोपत्र गर्नुअघि रोडा, गिट्टी, बालुवा, ढुंगा र माटोलाई सडकमा पेलेर लेभल मिलाइएको थियो ।

०७४ असोज ४ गते ४५ करोडमा ठेक्का सम्झौता भएको यो सडकमा पर्याप्त बजेट विनियोजन नहुने, निर्माण कम्पनीले उपकरण र मजदूर परिचालन गर्न नसक्दा ढिलाइ भएको हो । तत्कालीन सडक डिभिजन कार्यालय बागलुङले ठेक्का लगाएको यो आयोजना २०७५ पुसमा प्रदेश सरकारलाई हस्तान्तरण भएको थियो । कालोपत्र भएको खण्डको ढुवानी र यात्रु भाडा समायोजन गर्न स्थानीयले माग गरेका छन् ।

म्याग्दीको ‘लाइफ लाइन’ मानिने बेनी–दरवाङ सडकको ०६३ मा खुलेको थियो । आयोजनाको दोस्रो चरणमा लाम्पाटादेखि दरवाङसम्म ८ किलोमिटर खण्ड सडक कालोपत्र गर्न २२ करोड ५७ लाख ९ सय ३२ मा २०७६ जेठ ३१ गते बिरुवा–क्याराभान जेभीले ठेक्का लिएको थियो । पछिल्लो एक वर्षयता निर्माण कम्पनीले काम नगर्दा अलपत्र परेको यो सडकमा हिलो, धूलोको समस्याका साथै दुर्घटनाको जोखिम बढेको मंगला गाउँपालिका २ बाबियाचौरका श्रीराम पौडेलले बताए ।

यो खण्डको अहिले करिब ५० प्रतिशतमात्र भौतिक प्रगति छ । मंगला गाउँपालिकाको सिमदेखि लाम्पाटासम्मको साढे २ किलोमिटर सडक स्तरोन्नतिका लागि सम्झौता गरेको निर्माण कम्पनीले प्रारम्भिक चरणको काम थालेको छ । ४ किलोमिटर सडक कालोपत्रे गर्न ०७८ पुस १८ गते ओमबुद्ध निर्माण सेवा बसुन्धराले १० करोड ७० लाख २१ हजारमा ठेक्का सम्झौता गरेको थियो ।

राकेश शर्मा

शर्मा समाधान राष्ट्रिय दैनिकका म्याग्दी संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया