पान्डा खोलामा गुरु रिम्पोछे पद्म सम्भवको मूर्ति

सुन्दरकुमार थकाली २०८१ वैशाख १६ गते १२:३७

जोमसोम ।
ऐतिहासिक तथा धार्मिक महत्वले प्रसिद्ध मुस्ताङको पान्डा खोलास्थित लमकुचीमा गुरु रिम्पोछे पद्मसम्भवको विशाल मूर्ति स्थापना गरिने भएको छ । गुरु पद्मसम्भवसँग जोडिएको ऐतिहासिक स्थान पान्डाखोलामा ९ फिट अग्लो गुरु पद्मसम्भवको मूर्ति स्थापना गर्ने तयारी गरिएको हो ।


सकसबहादुर गौचन तथा कर्णकुमारी गौचनको स्मृतिमा पान्डाखोलामा गुरु रिम्पोछे पद्मसम्भवको विशाल मूर्ति प्रतिस्थापन गर्न लागिएको हो । स्वर्गीय गौचन दम्पतीको स्मृतिमा छोरा इन्जिनियर गोविन्द गौचन, बुहारी मीरा गौचनका साथै छोरीहरु ओमकुमारी गौचन र झुमा मथला गौचनले पान्डा खोलामा पद्मसम्भवको मूर्ति स्थापना गर्न लागेका हुन् । यसका लागि छोरीहरु ओमकुमारी गौचन र झुमा मथला गौचनले मूर्ति स्थापना गर्न १ करोड रुपैयाँभन्दा बढी रकम खर्च गर्ने भएका छन् ।


ऐतिहासिक तथा धार्मिक महत्व बोकेको स्थानमा गुरु पद्मसम्भवको मूर्ति स्थापना गरिने छोरी ओमकुमारी गौचनले जानकारी दिए । धार्मिक स्थानको संरक्षण, सम्वद्र्धन र विकास गर्ने उद्देश्यसहित स्वर्गीय बुबाआमाको सम्झना गुरु पद्मसम्भवको मूर्ति प्रतिस्थापन गरिने उनले जनाइन् ।

Advertisement

‘जोमसोम—मुक्तिनाथ सडक छेउमा रहेको ठाउँ गुरु पद्मसम्भवको ऐतिहासिकतासँग सम्वन्धित छ, यहाँ मूर्ति प्रतिस्थापन गर्न उचित हुन्छ भन्ने सोच्यौं,’ छोरी गौचनले भनिन्, ‘मूर्ति स्थापनाले धार्मिक पर्यटनको विकास र धार्मिक सम्पदाको महत्वलाई थप परिस्कृत बनाएर लैजाने छ ।’


जोमसोम—मुक्तिनाथ सडकसँगै जोडिएको लमकुची भन्ने स्थानमा पद्मसम्भवको विशाल मूर्ति प्रतिस्थापनका लागि पूर्वाधार निर्माण गर्न तथा मूर्ति स्थापना गर्न करोडभन्दा बढीको लागत स्टमेट गरिएको मूर्ति स्थापनका लागि खटिएका प्राविधिक सहयोगी सोजन शेरचनले जानकारी दिए । पान्डा खोलास्थित लमकुचीमा शनिबार बिहान लामाहरुले पूजापाठ गरेर पद्मसम्भवको मूर्ति प्रतिस्थापन गर्न शिलान्यासको कार्यक्रम भएको प्राविधिक सहयोगी शेरचनले जानकारी दिए ।

Advertisement

गौचन परिवारले करोडभन्दा बढी रुपैयाँ खर्चने


मूर्ति स्थापनाका लागि ९ वर्षीय बालक शीर्षक शेरचनले शिलान्यास गरे । शिलान्यास अघि स्याङ्वा रिर्पोछे लामासहित ४ जना लामाहरुले बुद्धिस परम्परा अनुसार पूजापाठ गरेका थिए । पद्मसम्वभवको मूर्ति स्थापनाका लागि गरिएको शिलान्यास कार्यक्रममा घरपझोङ—४ जोमसोमका स्थानीयहरुको सहभागिता थियो ।


पान्डाखोलाको लमकुचीमा पद्मसम्भवको मूर्ति स्थापनाका लागि काठमाडौंमा अर्डर भइसकेको र चालु आर्थिक वर्षको असारभित्रै आवश्यक पूर्वाधार निर्माण गरेर पद्मसम्भवको विशाल मूर्तिको प्राण प्रतिस्थापन गरिने योजना रहेको छोरी झुमा मथला गौचनले जानकारी दिइन् । उनले प्रतिस्थापन गरिने मूर्ति सुनको जलपसहित तामाको धातुले निर्माण गरिने बताइन् ।

भगवान बुद्धपछिको सम्मानीत भगवान पद्मसम्भवको मूर्ति स्थापनाले धार्मिक र सांस्कृतिक संरक्षणमा महत्वपूर्ण सहयोग पुग्ने छोरी मथला गौचनले उल्लेख गरिन् । मुक्तिनाथ र उपल्लो मुस्ताङ पुगेर फर्किने पर्यटक तथा दर्शनार्थीले जोमसोम—कोरला राजमार्ग सडक नजिकैको पद्मसम्भवको दर्शन गर्न सहज हुने विश्वास गरिएको छ ।


आठौं शताब्दीमा कमलको फूलबाट जन्म लिएको विश्वास गरिने गुरु पद्मसम्भव तिब्बत जाने क्रममा मुस्ताङमा राक्षससँग द्वन्द्व भएको घटनासँग पान्डाखोलाको लमकुची ठाउँ सम्बन्धित छ । त्यस बेला तिब्बतका धर्म राजा ठिसोङ देउचान सम्राट थिए । उनले आफ्ना पालामा भारतबाट तिब्बतमा बौद्ध धर्म फैलाउन र प्रचारप्रसार गर्न चाहन्थे । त्यस बेला तिब्बतमा पेम्बो धर्म थियो ।

ठिसोङले भारतबाट अत्तेरिया शान्तिलाई तिब्बतमा बुद्ध धर्म प्रचार प्रसास गर्न लगाए । सोही क्रममा त्यहाँ साम्य गुम्बा निर्माण गर्न थालियो । गुम्बा निर्माण हुँदै गर्दा बुद्ध धर्मका अनुयाी र पेम्बो धर्मका अनुयायीबीच अशान्ति फैलियो ।


दिनभरि गुम्बा बनाउन काम हुन्थ्यो राती बुद्ध धर्म विरोधीले बनाउन लागिएको गुम्बा भत्काइदिन्थे । यो अराजकता रोक्न त्सबेलाका धर्म राजा सम्राटले पद्मसम्भवलाई तिब्बत बोलाए । पद्मसम्भव धार्मिक सहयोग पु याउन तिब्बत पुगे । पद्मसम्भवले अराजकता सृजना गर्ने व्यक्ति (राक्षस)हरुलाई लखट्दै नेपाल धपाए । यसरी राक्षसलाई खेद्दै गर्ने क्रममा मुस्ताङको पान्डा खोलामा राक्षस र पद्मसम्भवको लडाई चल्यो ।

राक्षसहरुसँग लड्ने क्रममा पद्मसम्भव थाकेर विश्राम गर्न लमकुची भित्तामा ठाँडै पल्टिए । त्यही पद्मसम्भव थाकेर पल्टिएको डोब लककुची स्थानमा देख्न सकिन्छ । यसैले पनि सो स्थान गुरु पद्मसम्भवको कथासंग जोडिएको हो । आठौं शताब्दीमा राक्षस धपाउन क्रममा मुस्ताङका धेरै ठाउँहरु पद्मसम्भवको जीवन कथा संग जोडिएको छ । पद्मसम्भवले त्यस बेला लोघेकरको ढाक्मरमा राक्षसको आन्द्राभुँडी निकालेर पहाडमा मिल्काएको ढाक्मरको पहाड रातो भएको हो भन्ने धार्मिक विश्वास छ ।


पद्मसम्भवले राक्षसको अन्तिम समाधि लोघेकरको मराङमा गरेको हुनाले त्यहाँ गुम्बा निर्माण गरिएको भन्ने भनाइ छ । यो गुम्बा विश्वकै पहिलो र पुरानो गुम्बा दावी गरिएको छ । यसका अलावा चिउँसी गुफा र गुरुसाङ्वो गुफामा गुरु पद्मसम्भवले ध्यान गरी बसेको भन्ने भनाई छ । पद्मसम्भवले तिब्बतबाट लेखट्दै मुस्ताङमा राक्षसको बध गरेपछि तिब्बतमा साम्य गुम्बा निर्माण गरिएको बताइन्छ ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया