नवौं राष्ट्रिय खेलकुदः १४ खेलको छनौट र प्रशिक्षण सुरु

समाधान संवाददाता २०७९ भदौ ३ गते १३:१८

पोखरा ।
गण्डकी प्रदेशमा आउदो असोज २८ देखि कार्तिक ३ गतेसम्म संचालन हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी गण्डकी प्रदेशमा १४ वटा खेलहरुको छनौट तथा प्रशिक्षण सुरु भएको छ । गण्डकी खेलकुद परिषदले आयोजना गरेको उक्त छनौट तथा प्रशिक्षण कार्यक्रमको गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले उद्घाटन गरेका छन् ।

परिषदले पहिलो चरणमा भदौ ३ गतेबाट १४ वटा खेलहरुको विशेष प्रशिक्षण सहित खेलाडी छनौट प्रतियोगिताहरु कास्की, नवलपुर, स्याङजा र बागलुङमा सञ्चालन भएको परिषदका सदस्य सचिव तेज बहादुर गुरुङले बताए । २० दिनका लागि तय गरिएको विशेष प्रशिक्षणमा सफ्ट टेनिस, टेनिस, स्क्वास, खो–खो, हक्की, फेन्सिङ, स्विमिङ, ट्राइयाथलन, साइक्लिङ, महिला ह्याण्डबल, महिला बास्केटबल, महिला फुटबल, महिला क्रिकेट, प्याराग्लाइडिङ, गल्फ, कुस्ती, सुटिङ र आर्चरी खेलहरु रहेको छ ।

विशेष प्रशिक्षणबाट आवश्यक खेलाडीहरु छनोट गरिने परिषदले जनाएको छ । विशेष प्रशिक्षण र जिल्ला छनोट पश्चात पोखरामा भदौ १५ देखि १८ गते सम्म अन्तिम छनोट तालिका तय गरिएको छ । प्रतियोगितामा ३६ र २ प्रदर्शनी खेल गरी ३८ खेलका करिव ८ हजार खेलाडी गण्डकी प्रदेशको राजधानि पोखरा आउने भएको परिषदले जनाएको छ । गण्डकी प्रदेशबाट ३८ खेलमा ७ सय भन्दा वढी खेलाडीले सहभागिता जनाउने छन् भने छनोट भएका खेलाडीहरु भदौ २६ देखि असोज २६ गते सम्म आवाशिय सुविधा सहित बन्द प्रशिक्षणमा राखिने तयारी गरिएको परिषदका उपाध्यक्ष धोज कुमार गुरुङले बताए ।

Advertisement

खेलाडी तथा खेल संघका पदाधिकारीलाई परिषदले उपलब्ध गराएको खेल सामाग्रि, स्वास्थ्य सामाग्रि हस्तान्तरण गर्दै अर्थ मन्त्री बरालले उक्त प्रतियोगिता सम्पन्न गर्न आर्थिक हिसावले कुनै अभाव नहुने बताएका छन् । व्यबस्थापकीय, सम्मान सत्कार, खेलाडीहरुलाई आधारभूत व्यबस्थापकीय क्षेत्रमा कुनै कमी कमजोरी नगर्न मन्त्री बरालले निर्देशन दिदै आर्थिक अभावले प्रदेशले गर्ने कुनै पनि दाहित्व बहन गर्न तयार रहेको बताए । हरेक हिसावले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न गर्न प्रदेश सरकार तयार रहेको मन्त्री बरालले बताए ।

मिडिया सेन्टर अवलोकन
यसैबिच गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले पोखरा रंगशालामा रहेको मिडिया सेन्टरको समेत अवलोक गर्नु भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको माताहातमा रहेको उक्त मिडिया सेन्टरको बारेमा जानकारी गराउदै नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि समेत आफुहरुले २१ लाख मुल्य बराबरको अर्को मिडिया सेन्टर स्थापनाको लागि नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत प्रचार प्रसार समितिलाई पेश गरिएको मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालले बताए ।

Advertisement

खेलकुदका लागि कम्तिमा एक सय जना क्षेमताको मिडिया सेन्टर स्थापना गर्नु आफुहरुले माग गर्दै आएको अध्यक्ष बरालले जनाए । उक्त मिडिया सेन्टर १३ औं सागको अवसरमा स्थापना गरिएको मञ्चका पूर्व अध्यक्ष केशव पाठकले भने ।

तपाईको प्रतिक्रिया