गण्डकी प्रदेशमा अधिकांश खेलका छैनन् प्रशिक्षक

रिखिराम जिसी २०७९ भदौ ४ गते १८:०१
तस्बिरः सुदर्शन रञ्जित


रिखिराम जिसी
पोखरा ।
आउँदो असोजमा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेशले विशेष प्रशिक्षण सुरु गरेको छ । प्रदेश खेलकुद परिषद्ले पहिलो चरण अन्तर्गत १४ खेलका विशेष प्रशिक्षण शुक्रबारबाट गण्डकी प्रदेशका ५ जिल्लामा सुरु भएको हो ।


गण्डकी प्रदेशले नवौं खेलकुदमा समावेश ३६ वटै खेलमा सहभागिता जनाउने तयारी गरेको छ । तर विशेष प्रशिक्षण सुरु भए पनि अशिकांश खेलका प्रशिक्षक छैनन् । प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेज गुरुङका अनुसार गण्डकी प्रदेशमा ९ खेलका मात्रै आधिकारिक प्रशिक्षक छन् ।


‘ध्यान नदिँदा प्रशिक्षक उत्पादन शून्य छ । हामीकहाँ ३६ खेलमा ९ वटाका मात्रै प्रशिक्षक छन्,’ सदस्य सचिव गुरुङले भने । उनका अनुसार अहिले प्रदेशमा भलिबल, कराँते, एथलेटिक्स, जिम्नास्टिक, उसु, फुल कन्ट्याक्ट कराँते, भारोत्तोलन, शारीरिक सुगठन र तेक्वान्दोका मात्र आधिकारिक प्रशिक्षक छन् । अन्य प्रशिक्षकका लागि संघसँग छलफल भइरहेको गुरुङले बताए । अर्काे चरणको छनोटसम्म प्रशिक्षक आउने उनको विश्वास छ ।

Advertisement


हाल पुराना खेलाडी र स्वयंसेवकसँग सम्झौता गरी प्रशिक्षण गराइएको सदस्य सचिव गुरुङले बताए । नवौं राष्ट्रिय खेलकुदको प्रशिक्षणका लागि एथ्लेटिक्सका प्रशिक्षक सुशील नरसिंह राणालाई ल्याइएको उनले बताए । प्रशिक्षक राणाले पोखरामा २ महिना प्रशिक्षकसहित खेलाडीलाई प्रशिक्षण दिने छन् ।


पहिलो चरणको विशेष प्रशिक्षण कास्की, नवलपुर, स्याङ्जा र बागलुङमा सञ्चालन हुनेछ । २० दिनका लागि तय गरिएको विशेष प्रशिक्षणमा सफ्ट टेनिस, टेनिस, स्क्वास, खो–खो, हक्की, फेन्सिङ, स्विमिङ, ट्राइयाथलन, साइक्लिङ, महिला ह्यान्डबल, महिला बास्केटबल, महिला फुटबल, महिला क्रिकेट, प्याराग्लाइडिङ, गल्फ, कुस्ती, सुटिङ र आर्चरी समावेश छन् ।
अर्काे चरणमा भदौ ९ गतेदेखि १५ गतेसम्म २२ खेलमा जिल्ला छनोट सञ्चालन गर्ने तालिका छ । विशेष प्रशिक्षण र जिल्ला छनोटपछि पोखरामा भदौ १५ देखि १८ गतेसम्म अन्तिम छनोट गर्ने तालिका छ ।

Advertisement


विशेष प्रशिक्षण शुभारम्भ कार्यक्रममा गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल ‘जीवन’ले प्रतियोगिता गर्न आर्थिक अभाव हुन नदिने प्रतिवद्धता गरे । व्यवस्थापकीय, सम्मान सत्कार, खेलाडीलाई आधारभूत व्यवस्थापकीय क्षेत्रमा कुनै कमजोरी नगर्न उनले निर्देशन दिए । हरेक हिसाबले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न गर्न प्रदेश सरकार तयार रहेको उनको भनाइ छ । राष्ट्रको गौरवसँग जोडिएको राष्ट्रिय खेलकुदलाई भव्यताका साथ सफल पार्न आयोजक प्रदेशका हिसाबले गण्डकी प्रदेश सरकारका प्रतिबद्ध रहेको मन्त्री बरालले उल्लेख गरे ।


प्रतियोगितामा ४ सय ७ इभेन्ट समावेश छन् । खेलाडीले ४ सय ७ इभेन्टमा ४ सय ७ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछन् । कुनै इभेन्टमा ४ भन्दा कम प्रतिस्पर्धी भए त्यो इभेन्ट सञ्चालन हुने छैन । जसले गर्दा इभेन्टको संख्या घट्न सक्नेछ ।
नवौं राष्ट्रिय खेलकुद आउँदो असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा सञ्चालन हुनेछ । ३९ वर्षपछि हुन लागेको यो प्रतियोगितामा कम्तीमा १ खेल सबै जिल्लामा गर्ने गरी प्रदेश खेलकुद परिषद्ले प्रस्ताव पठाएको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले सबै जिल्लामा स्थलगत निरीक्षण गरी खेल स्थल तय हुने जनाएको छ ।

रिखिराम जिसी

जिसी समाधान संवाददाता हुन् 

तपाईको प्रतिक्रिया