जन्मस्थलमा पुष्पकमलको सम्झना

समाधान संवाददाता २०७९ भदौ १२ गते ११:३२

पोखरा ।
वामपन्थी नेता पुष्पकमल सुवेदीको ४० औं स्मृति दिवसको सन्दर्भमा लागुपदार्थ दुव्र्यसनः समस्या र समाधान विषयक रुपा गाउँपालिका स्तरीय वक्तृत्व प्रतियोगिता भएको छ । पुष्पकमल सुवेदी स्मृति प्रतिष्ठान पोखराले आयोजना गरेको माध्यमिक विद्यालय स्तरीय प्रतियोगितामा शिवालय माध्यमिक विद्यालय थुम्कीकी छात्रा करिना ओझा प्रथम भएकी छन् ।

विभिन्न ८ विद्यालयका छात्र छात्राले भाग लिएको प्रतियोगितामा रामकोट माध्यमिक विद्यालय हंसपुरका छात्र एलिस भुजेल द्वितीय, विश्वशान्ति माध्यमिक विद्यालय देउरालीका छात्रा सफलता राई तृतीय भएका छन् । प्रतियोगितामा चन्द्रप्रभा माध्यमिक विद्यालय रुपाकोटका सौगात मियाँ र कालिका माध्यमिक विद्यालय थुम्की स्यास्त्रीका ममता श्रेष्ठ सान्त्वना बने ।

कार्यक्रममा रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले पुष्पकमल सुवेदी कास्कीको मात्र नभएर समग्र राष्ट्रको सच्चा क्रान्तिकारी नेता भएको बताए । नेता सुवेदीको जन्मथलो रुपा ७ अर्थात साबिक हंसपुरमा रहेका उनको नाममा खेलिएका संरचनाको संरक्षणमा पालिकाले ध्यान दिने उल्लेख गर्दैै उनले अहिलेको राजनीति व्यवस्था ल्याउन पुष्पकमलको योगदान रहेको दाबी गरे ।

Advertisement

‘पञ्चायती व्यवस्थाको विरोधी जनमत निर्माणदेखि कम्युनिस्ट आन्दोलनलाई संगठित र सुदृढ बनाउन पुष्पकमलको योगदान छ, ’अध्यक्ष ओझाले भने, ‘उहाँका योगदान तथा विचारलाई चिरस्थायी बनाउन सकेको खण्डमा सच्चा कम्युनिस्ट हुनुको सार्थकता मिल्नेछ ।’ उनले पालिकाले कम्युनिस्ट नेता पुष्पकमलको योगदानलाई सदाको लागि चिरस्थायी बनाउन ध्यान दिइने बताए ।

प्रतिष्ठानका सल्लाहकार रामराज रेग्मीले पुष्पकमल निश्चित पार्टीको भन्दा सबै कम्युनिस्ट पार्टीको साझा नेता भएकाले उनका विचारलाई अझ परिस्कृत रुपमा जनतासमक्ष लैजान प्रतिष्ठानले ध्यान दिने बताए । उनले सच्चा देशभक्त नेता पुष्पकमलको स्मरणमा राष्ट्रवादी आन्दोलनलाई सुदृढ बनाउन लाग्नुपर्ने खाँचो औंल्याए ।

Advertisement

एमाले गण्डकी प्रदेश संगठन कमिटी सदस्य कालीदास सुवेदीले कम्युनिस्ट आन्दोलनलाई उचाईमा पुर्‍याउनमा नेता सुवेदीको योगदान रहेको चर्चा गरे । नेकपा एकीकृत समाजवादीका केन्द्रीय अनुशासन आयोगका सदस्य विजयबाबु वनवासीले नेता पुष्पकमल सुवेदीको स्मरणमा हंसपुरको दमदमेमा खोलेको वाचनालयको संरक्षण र सम्बद्र्धनमा ध्यान दिन आग्रह गरे ।

उनले प्रतिष्ठानले रचनात्मक र सिर्जनात्मक कार्यक्रम गरेर उहाँको योगदान र विचारलाई जनता समक्ष पुर्‍याउने काम गरेको बताए । रुपा गाउँपालिका वडा नम्बर ७ हंसपुरका अध्यक्ष कृष्ण सुवेदीले पुष्पकमलकै कारण वडालाई कम्युनिस्टको किल्लाको रुपमा कायम गर्न सकेको उल्लेख गरे ।

कार्यक्रममा पुष्पकमल सुवेदी स्मृत स्मृति प्रतिष्ठान पोखराका अध्यक्ष पूर्ण गिरी, सचिव ध्रुवकल्पित सुवेदी, पुष्पकमल सुवेदीका छोरा मोहन सुवेदी लगायतले कम्युनिस्ट आन्दोलनमा पुष्पकमलको योगदानका बारेमा बोलेका थिए । गण्डकी धौलागिरी माले क्रान्तिकारी दलका संस्थापक मध्येका एक पुष्पकमल सुवेदी पृथ्वीनारायण क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका संस्थापक सभापति हुन् ।

तपाईको प्रतिक्रिया