‘अन्डरग्राउन्ड खाली गरी पार्किङ बनाऊ’

सञ्जय रानाभाट २०७९ भदौ १३ गते १०:५४

सञ्जय रानाभाट

पोखरा
मुख्य चोकहरु महेन्द्रपुल, चिप्लेढुंगा, न्युरोड, नयाँबजार, अमरसिंहचोक, लेकसाइडको र पृथ्वीचोकमा सवारी साधन पार्किङ गर्न हत्तपत्त ठावै पाइन्न । अफिस समयमा चारपांग्रे सवारी मुख्य बजार महेन्द्र पुलमा पार्किङ गर्ने ठाउँ पाउन मुस्किल हुन्छ । चारपांग्रे सवारी प्रयोगकर्ताले दुई पांग्रे सवारी लिएर बजार डुल्नुपर्ने अवस्था छ । पार्किङ गर्न अर्को व्यक्तिले कुन बेला निकाल्छ, हेरेर बस्नुपर्छ । कुनै बेला त्यो पनि पाइँदैन ।

०७४ सालमा निर्वाचित जनिप्रतिनिधिहरुले पार्किङलाई व्यस्थित गर्न अन्डरग्राउन्ड खाली गर्न सूचना जारी गरे पनि त्यो सम्भव भएन । बरु पार्किङ शुल्क उठाउने ठेक्का लगाइयो । त्यो ठेक्काले पनि नागरिकले कर तिरे अनुसार पार्किङको समस्या ज्यूँका त्यूँ छ ।

Advertisement

मेयर धनराज आचार्यले आन्डरग्राउन्ड पार्किङ अनुमति लिएर अन्य पेसा व्यवसाय गर्नेले समयमै अन्डरग्राउन्ड ओगट्ने व्यवसाय वा अरु सामान नहटाए महानगरले नै हटाउने बताएका छन् । ‘महानगरले १ महिनाअघि नै सूचना जारी गरेको हो । फेरि सूचना जारी भएको छ । अटेर गर्नेलाई उनीहरुकै खर्चमा अन्डरग्राउन्ड खाली गराउने गराउँछौं,’ आचार्यले भनेका छन् ।

महानगरको मुख्य चोकमा निर्माण हुने घरले अहिले अन्डरग्राउन्ड बनाउनै पर्ने व्यवस्था छ । नत्र त्यो नक्सा पास नहुने मेयर आचार्य बताउँछन् । ‘अन्डग्राउन्ड खाली गरेर पार्किङ गर्ने आफ्नै साधन हो । हामीले बाहिर दिनुस् भनेका छनौं । यति पब्लिकलाई दिनुहुन्छ भने, शुल्क लिएर उहाँहरुले दिनसक्नुहुन्छ ।’ मेयर आचार्यले भने ।

Advertisement

महानगरले पार्किङको अनुमति लिएका घरधनीहरुलाई पत्र पठाउन सुरु गरको महानगरका इन्जिनियर सुरेन्द्र पौडेलले जानकारी दिए । उनले बढ्दो सवारी जामलाई कम गर्न असारमा नै सूचना जारी गरे पनि फेरि सूचना गरेको बताए । पोखराको जनघनत्व र सवारीको प्रयोग बढ्दा पोखराको पार्किङ दिनप्रतिदिन अस्तव्यस्त भएको छ ।

महानगरले आर्थिक वर्ष ७६/०७७ देखि अन्डरग्राउन्ड पार्किङसहित घर वा भवनको नक्सापास गर्दा दस्तुरमा एक तलाको राजस्व छुटको व्यवस्था गरेको थियो । यो आर्थिक वर्षमा अन्डरग्रान्डको पार्किङ गर्नेलाई भुइँतलाको ५० प्रतिशत छुट दिइरहेको छ । तर, राजस्व छुट लिएपनि महानगरभित्रका २५० भन्दा बढी घरले व्यापार व्यवसाय सञ्चालन गरिरहेको महानगरकै इन्जिनियर सुरेन्द्र पौडेलले बताए ।

उनका अनुसार पोखरामा अन्डरग्राउन्डको अनुमति लिएर पालना नगर्ने सबैभन्दा बढी चिप्लेढुंगा, महेन्द्रपुल र न्यूरोड रहेको बताए । ‘अन्डरग्रान्डको अनुमति लिएका घरले महानगरको मापदण्ड पालना गरेका छैनन् । उनीहरुको आफ्नै साधन राख्ने ठाउँ पनि छैन,’ उनले भने ।भुइँतलामा दोहोरीसाँझ, कपडा पसल, मोबाइल पसल, खाजा पसलदेखि मोटरसाइकल ग्यारेज, स्टोर साथै साना ठूला व्यवसाय सञ्चालन भइरहेका छन् ।

तर, भवन आचारसंहितामा अन्डरग्राउन्ड पार्किङ प्रयोजनकै लागि प्रयोग गर्नुपर्ने व्यवस्था छ । फितलो अगुगमन र नीतिका कारण कार्यान्वयनमा भने जटिल देखिन्छ । अहिलेसम्म १ चौथाइ घरले पनि महानगरको मापदण्ड पालना नगरेको इन्जिनियर पौडेलले बताए । उनले भ्यालीका कोर एरियामध्ये सबैभन्दा बढी पार्किङको जोखिम महेन्द्रपुल र कम जोखिम लेकसाइड भएको बताए । ‘महेन्द्रपुल चिप्लेढुंगामा त सवारी लिएर हिँड्न नसकिने छ ।

अन्डरग्राउन्डको पालना नभएको पनि यही एरिया हो । न्युरोड, नयाँबजार, महेन्द्रपुल, चिप्लेढुंगामा मात्र करिब ३० घरले अन्डरग्राउन्ड पार्किङ पालना गरेका छैनन्,’ इन्जिनियर पौडेलले भने । पोखरामा पार्किङ पालना गर्ने करिब ६० घर भएको उनले सुनाए । मेयर आचार्यका अनुसार सबै भन्दा बढि अन्गरग्रान्डको पार्किङ गर्ने लेकसाइड भएको बताए । ‘पर्यटक एरिया भएर पनि होला, सबैभन्दा बढी लेकसाइडमा मापदण्डको पालना भएको छ ।

अरु ठाउँमा पनि नक्सा पास हुँदाको मापदण्ड पालना भए पोखरामा पार्किङको समस्या धेरै कम हुने थियो,’ मेयर आचार्य भन्छन् । इन्जिनियर पौडेलका अनुसार नक्सा पास र घर निर्माण गर्दा गरिएको वाचा सबैले पालना गर्नुपर्छ । ‘अघिल्लो पटकै जनप्रतिनिधि हुँदा अन्डरग्राउन्डलाई पार्किङकै लागि प्रयोग गर्नेहरुलाई राजश्व छुटको दिँदै आएका छौं । त्यो पालना गर्ने धेरै छैनन्,’ उनले भने ।

इन्जिनियर पौडेलका अनुसार पोखरामा कोर एरियामा २५० वटामात्र कार राख्न सक्ने क्षमता भएकाले समस्या बढ्दै गएको छ । ‘न्युरोड एरियामा कार राखेपछि बाइक राख्न मिल्ने ठाउँ नै भेट्न कठिन हुन लागिसक्यो,’ उनले भने, ‘बजारमा चल्ने ८ सय सार्वजनिक बस छन्, २५ सयभन्दा बढी दुई पांग्रे सवारी एक ठाउँमै पार्किङ गर्नुपर्ने बाध्यता छ । पार्किङको वैकल्पिक उपायहरु थपिएका छैन । यसले समस्या भयो ।’ पोखरामा २२ सयभन्दा बढी ट्याक्सी छन् । निरन्तर चल्ने सावरीको यकीन डाटा महानगरसँग छैन ।

सवारी साधनको पार्किङ गर्ने अनुमति लिई बनाएका संरचनामा व्यापार, व्यवसाय सञ्चालन भएका ठाउँ खाली गर्न पोखरा महानगरले सूचना प्रकाशित गरेको छ । बढ्दो जनघनत्व र सवारी चापले पोखराको पार्किङ अस्तव्यस्त भइरहेको बेला महानगरभित्र पार्किङको अनुमति लिएका संरचना हटाउन महानगरले उर्दी जारी गरेको हो ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया