खुला तीज गीतमा सक्षम अभियान पहिलो

समाधान संवाददाता २०७९ भदौ १७ गते ११:३२

पोखरा ।
हरितालिका तीजको पर्वको अवसरमा सामुदायिक सेवा तथा सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीले खुला तीज गीत प्रतियोगिता २०७९ गरेको छ । प्रतियोगितामा सक्षम अभियान नेपाल प्रथम भएको छ । प्रतियोगितामा कन्या क्याम्पस नदीपुर द्वितीय, ईन्जीनियरिङ अध्ययन संस्थान पश्चिमाञ्जल क्याम्पस तृतीय र जनहित महिला समूहले सान्त्वना पुरस्कार पाएको सेवा केन्द्रका सचिव तथा कार्यक्रम संयोजक विष्णुमाया सुवेदीले जानकारी दिइन् ।


प्रतियोगितामा उत्कृष्ट समूहतर्फ प्रतिभाशाली समूह बुढीबजार र भेषभुषातर्फ नवदुर्गा टोल विकास संस्था पुरस्कृत भएको छ । विकृति विसंगति समाज निर्माण शीर्षकमा भएको तीज गीततर्फ प्रथम, द्वितीय, तृतिय हुने समूहलाई क्रमशः २५ हजार, २० हजार र १० हजार नगद पुरस्कार प्रदान गरिएको छ ।


प्रतियोगितामा सान्वना र उत्कृष्ट भेषभुषातर्फ जनही ५ /५ हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ । सबै सहभागीले लागु औषध नियन्त्रण, मानव बेचविखन तथा सामाजिक अपराध न्यूनीकरण, ट्राफिक नियम, बाल विवाह रोकथाम र प्राकृतिक विपद् सम्बन्धी शीर्षकमा गीत गाएका छन् ।

Advertisement


गण्डकी प्रदेश सभाका सदस्य मीना गुरुङले प्रतियोगिताको उद्घाटन गरिन् । प्रतियोगिताको निर्णायकमा प्रजापति पराजुली, सरला पाण्डे, तारापति सुवेदी र मञ्जु चापागाई रहेका थिए । अन्तर सामुदायिक सेवा केन्द्र स्तरीय भलिबल प्रतियोगितामा सामुदायिक सेवा केन्द्र कालिका प्रथम भएको छ । प्रतियोगितामा आयोजक जिल्ला समन्वय समिति कास्की द्वितीय भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक अजय केसीले प्रतियोगिताको उद्घाटन गरे ।


दुबै प्रतियोगिता पोखरा ९ शान्तिवनस्थित जिल्ला समन्वय समितिको प्रांगणमा गरेको कार्यवहाक अध्यक्ष भीम पराजुलीले जानकारी दिए । भलिबल प्रतियोगिताको संयोजन कार्यसमिति सदस्य प्रेम पहारीले गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया