पोखरा ९ मा निस्सा वितरण

समाधान संवाददाता २०७९ भदौ १७ गते १२:५२

पोखरा ।
पोखरा ९ का २ सय ५१ जना भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जाको निस्सा वितरण गरिएको छ । पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य र राष्ट्रिय भूमि आयोग कास्की अध्यक्ष गंगा पोख्रेलले संयुक्त रूपमा उनीहरूलाई निस्सा वितरण गरेका हुन् ।


प्रमुख आचार्यले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले प्राप्त गरेको निस्सा लालपुर्जाअघिको लालपुर्जा नै भएको बताए । ‘यो सरकारी छाप लगाएको लालपुर्जा पाउनु अगाडिको लालपुर्जा नै हो,’ उनले भने, ‘यो कागज नपाउनेले लालपुर्जा पाउदैनन् ।’ उनले लालपुर्जा वितरण प्रक्रियामा रहेको र छिट्टै वितरण गरिने आश्वासन दिए ।


भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई हाल बसिरहेको स्थानमा कुनै समस्या नभए सोही स्थानमा, यदि त्यो स्थान उपयुक्त नभए अर्को उपयुक्त स्थानको खोजी गरी बसोबासको व्यवस्था गरिने उनको भनाइ छ । ‘अब तपाईहरु महानगरको ढोकामा आएर जिन्दावाद र मुर्दावाद भन्नु पर्दैन,’ मेयर आचार्यले भने । सरकारले तोकेको समय सीमाभित्र सूचीकृत हुन नआएका र पछि दाबी विरोधको प्रक्रियामा झुटो ठहरिएका निवेदनउपर आवश्यक कारबाही हुने उनले बताए ।

Advertisement


राष्ट्रिय भूमि आयोग कास्की अध्यक्ष गंगा पोख्रेलले कतिपयले यो निस्सा केही होइन भनेर भ्रम छर्न खोजेको भन्दै महत्वमाथि खेलबाड नगर्न सचेत गराए । भोलि जग्गा प्राप्तिसम्मको अन्तिम प्रक्रियामा समेत यो निस्साको महत्वपूर्ण भूमिका रहने उनले जानकारी दिए । ‘निस्सा महत्वपूर्ण छ, यो निस्सा भनेको तपाईहरुले लगत फर्म भरेको प्रमाण हो । त्यतिमात्र होइन, यही निस्साको आधारमा तपाईँको जग्गाको नाप जाँच हुन्छ ।’


पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले वडामा रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्दै अगाडि बढ्ने प्रतिबद्धता गरे । पोखरा ९ मा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको संख्या ९ सय ११ छ । यसअघि महानगरको वडा नं.२५ र ३२ मा पनि निस्सा वितरण गरिसकिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया