मन्त्री मनाङेले गरे यार्तुङ महोत्सव उद्घाटन

समाधान संवाददाता २०७९ भदौ १७ गते १९:३५

सुन्दरकुमार थकाली
जोमसोम–

हिमाली जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अन्तर्गतका १९ वटा गाउँहरुमा बर्सेनि आलोपालो संञ्चालन हुँने ऐतिहाँसिक,धार्मिक र सांस्कृतिक पर्व यार्तुङ शुक्रबारदेखि मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–३ छुसाङमा सुरु भएको छ । यसवर्ष छुक नरसिंह युवाक्लव छुसाङको आयोजना तथा वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको आर्थिक सहयोगमा चौथो संस्करणको यार्तुङ महोत्सव छुसाङमा संञ्चालन गरिएको हो ।


बर्खायामको मौसममा खेतीपातीको कामकाज सकेर अन्नबाली घरभित्र भित्र्याईसकेपछि वारागुङ मुक्तिक्षेत्रका गुरुङ समुदायका मानिसहरुले यार्तुङ पर्व मनाउने चलन छ । परम्परगत रुपमा मनाईने यातुङ पर्व वारागुङका १९ वटै गाउँहरुमा मनाईने गरिएपनि पछिल्लो समय महोत्सवको रुपमा यसलाई थप महत्व दिन थालिएको हो । यार्तुङ पर्वमा सबै गाउँका ईष्टमित्र,छरछिमेक र आफन्तहरु एकै ठाउँमा भेला हुने,मौलिक भेषभुषामा सजिएर सांस्कृतिको उजागर गर्ने,मिठो खाने र आत्मियता साटासाट गर्ने प्रचलन छ ।यातुङ पर्वमा पुरुषहरु घोडा दौडाएर साहसिकता प्रदर्शन गर्ने,तारो हान्ने खेल खल्ने गर्छन भने महिलाहरु सांस्कृतिक कार्यक्रममा सरिक भएर स्याब्रो नाच देखाउन गर्छन् ।

Advertisement


केही वर्षदेखि धार्मिक तथा ऐतिहाँसिक महत्व बोकेको यार्तुङ पर्वलाई स्तरवृद्धि गर्दै विभिन्न प्रतियोगिता समावेश गरेर महोत्सवको रुपमा संञ्चालन गर्ने गरिएको छ । वारागुङ मुक्तिक्षेत्र –३ छुसाङ सुरु भएको यातुङ महोत्सवमा कलासंस्कृति र परम्परालाई संरक्षण गर्दै सेभेन ए साईड फुटबल ,तारो हान्ने खेल ,डोरी तान्ने खेल र घोडा दौड प्रतियोगिता आदी संञ्चालन हुने छुक नरसिंह युवाक्लवले जनाएको छ ।


चौथो यार्तुङ महोत्सवको गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजिव गुरुङ (दिपक मनाङे)ले उद्घाटन गरेपछि यार्तुङ महोत्सव संञ्चालन गरिएको थियो ।बर्खायामको असहज सडक छिचोल्दै मुस्ताङको छुसाङमा महोत्सव उद्घाटन गर्न पुगेका मन्त्री गुरुङलाई वारागुङ मुक्तिक्षेत्रका गुरुङ समुदायले भव्य स्वागत गरेका थिए । मन्त्री मनाङले सुरुमा महोत्सवको अवसरमा राष्ट्रिय झन्डोक्तलन गरे भने त्यसपछि यार्तुङ पर्वको दिपप्रज्वलन गरेका थिए ।उनले यार्तुङ महोत्सव २०७९ लेखिएको ब्यानरमा हस्ताक्षर गरे ।

Advertisement


शुक्रबार दिउँसो छुसाङ पुगेका गण्डकीका युवा तथा खेलकुद मन्त्री गुरुङलाई वारागुङ मुक्तिक्षेत्रका समुदायका मानिसहरुले स्थानीय संस्कृति अनुसार स्वागत गरेका थिए ।यार्तुङ महोत्सवको उद्घाटन गर्दे मन्त्री गुरुङले सांस्कृतिक पर्वलाई संस्थागत गर्दै खेलकुद क्षेत्रको विकास गर्न पर्याप्त संम्भावना रहेको बताए । हिमाली जिल्ला मुस्ताङमा कृषि र पर्यटकको साथसाथै हाईअल्टिच्युड खेल पर्यटनले समेत जोड्न सके पर्यटन क्षेत्रको विकासमा योगदान पुग्ने बताए ।


गण्डकी प्रदेशका सांसद महेन्द्रबहादुर थकालीले यार्तुङ पर्वले खेलकुद क्षेत्रको विकास र आपसी सम्वन्धलाई घनीभुत बनाएर लैजान महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।उनले मुस्ताङमा खेलकुदको प्रचृुर संम्भावना रहेको र वारागुङ–२को छेङ्गुरमा हाईअल्टिच्युड खेल पूर्वाधार निर्माण गर्न जग्गा समेत प्राप्ती भईसकेको बताए । महोत्सव उद्घाटनका क्रममा जिसस प्रमुख माया गुरुङ,गापा अध्यक्ष रिङझिङ नाम्गेल गुरुङ लगायतले शुभकामना दिएका थिए ।


छुसाङमा सुरु भएको चौथो यातुङ महोत्सव अवलोकन गर्न वारागुङ मुक्तिक्षेत्रका १९ वटै गाउँ मानिसहरु उपस्थित भएका छन् । यार्तुङ महोत्सव २०७९ का खेलकुद संयोजक एवं छुक नरसिंह युवाक्लवका अध्यक्ष टसी नाम्ग्या गुरुङ (कान्छा)ले वारागुङ मुक्तिक्षेत्रको १९ वटै गाउँहरुलाई चिनाउन महोत्सव आयोजना गरिएको बताए । परम्परागत सांस्कृतिक पर्वलाई संस्थागत गर्दै खेलकुद क्षेत्रको विकास गर्न यार्तुङ पर्व महोत्सवको रुपमा संञ्चालन हुन थालेको उनले उल्लेख गरे ।


छुसाङमा आयोजित ३ दिनसम्म संञ्चालन हुने यार्तुङ महोत्सव आईबार समापन हुने जनाईएको छ । महोत्सवमा परम्परागत घोडा दौड प्रतियोगिताको च्याम्पियनलाई नगद ५० हजारसहित मेडल,ट्रफी र प्रमापत्र पाउँने छन् भने दोश्रो हुनेले ३० हजारसहित मेडल,ट्रफी र प्रमाणपत्र पाउँने छन् ।तारा खेलतर्फ प्रथम हुने टोलीले क्रमश २० हजार १० हजारसहित मेडल ,ट्रफी र प्रमाणपत्र ,सेभेन ए साईड फुटबल तर्फको च्याम्पियनले ५० हजार र उपविजेता टिमले ३० हजारसहित मेडल,ट्रफी र प्रमाणपत्र पाउँने छ ।
बर्सेनि जनैपूर्णिमाको सेरोफेरोमा वारागुङ मुक्तिक्षेत्रमा यार्तुङ पर्व मनाउने चलन रहेको वारागुङ मुक्तिक्षेत्र गापाका अध्यक्ष रिङझिङ नाम्गेल गुरुङले बताए । धर्मसंस्कृतिलाई साथसाथै लिएर गाउँपालिकाले खेलकुदक्षेत्रको विकास र प्रर्वद्धन गर्न यार्तुङ महोत्सवलाई बजेट विनियोजन गर्ने गरेको अध्यक्ष गुरुङले उल्लेख गरे । पालिका भित्रका कुनै वडाले यार्तुङ महोत्सव संञ्चालन गर्न चाहे बर्सेनि आलोपालो बजेट उपलब्ध गराउने गरेको अध्यक्ष गुरुङको भनाङ छ ।


यसअघि चौथो यार्तुङ महोत्सव अन्तर्गत आयोजना गरिएको सेभेन ए साईड फुटबल प्रतियोगितको गण्डकीका सांसद महेन्द्रबहादुर थकाली लगायतले बल हस्तान्तरण गरी उद्घाटन गरे । यस्तै,तारो हान्ने खेलको गापा अध्यक्ष रिङझिङ नाम्गेल गुरुङले तारो प्रहार गरी उदेघाटन गरे । वारागुङ मुक्तिक्षेत्रका कुल १६ वटा क्लवले यार्तुङ महोत्सवको विभिन्न खेलमा भाग लिने छुक नरसिंह युवाक्लवले जनाएको छ । प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथको पुराङ रानीपौवाबाट सुरु गरिएको यार्तुङ महोत्सव कागबेनी,फल्याक हुँदै यसवर्ष छुसाङले आयोजना गरेको हो । महोत्सवका लागि वारागुङ मुक्तिक्षेत्रले १० लाख विनियोजन गरेको छ । महोत्सवको क्रममा साँझ विभिन्न सास्कृतिक कार्यक्रम समेत आयोजना गरिने बताईएको छ ।

फोटो फिचर ः मुस्ताङको वारागुङ मुक्तिक्षेत्रमा यार्तुङ महोत्सव सुरु । गण्डकीका युवा तथा खेलकुद मन्त्री राजिव गुरुङ –दिपक मनाङेले उद्घाटन गरे । सुन्दरकुमार थकाली

तपाईको प्रतिक्रिया