अमेरिकाबाट परिवार भेट्न पाेखरा आइन्, श्रीमानले खुकुरीले हाने

सञ्जय रानाभाट २०७९ भदौ १८ गते १८:१९

श्रीमतीको मृत्यु, आत्महत्याको प्रयास गरेका लोकबहादुर पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारत

पोखरा ।
परिवारको न्यास्रो मेट्न १० वर्षपछि भदौ ९ गते बिमला गुरुङ नेपाल आइन् । स्याङ्जा बिरुवा पुख्र्यौली घर भएको उनको परिवार १ वर्षअघि मात्र पोखरा १४ आएर बसोबास गर्न थालेको थियो । अमेरिकाबाट परिवार भेटन् नेपाल आएकी बिमला गुरुङ अब यो संसारमा छैनन् ।


श्रीमान् लोकबहादुरले पोखरा १४ राधाकृष्ण टोल स्थित निवासमै शुक्रबार एकाबिहानै बिमलामाथि खुकुरी प्रहार गरे । खुकुरी प्रहारले गम्भीर अवस्थामा उपचारका लािग पार्कल्यान्ड अस्पताल पु¥याइएकी बिमलाले त्यही अन्तिम सास फेरेकी हुन् ।

Advertisement


नयाँ घरमा पाइला टेकेको ९ दिनमै बिमलाको निधन भयो । शुक्रबार उठेर भान्सामा छिरेकी बिमला जेठी बुहारीलाई सघाउँदै थिइन् । बुहारीका अनुसार ससुरा लोकबहादुरले एक्कासि भान्छामा आएर बिमलालाई खुकुरीले हान्न सुरु गरे । ससुराको रौद्र रुप देखिपछि आफू छोरी लिएर भागेको बुहारीले बताइन् । ‘आमालाई खुकुरीले हान्न थाल्नुभयो । म छोरी लिएर गुहार माग्दै ढलमा पुगे,’ जेठा छोरा सुरेशकी श्रीमतीले भनिन् ।
बिहान सबा ८ बजे रामबजार प्रहरीलाई घटनाबारे खबर गरियो । लगत्तै कास्की प्रहरी घटनास्थल पुग्यो । प्रहरी घटनास्थल पुग्दा कोठा रगताम्य थियो । घरमा रुघाबासी चलिरहेको थियो । श्रीमान्, श्रीमति दुवै छटपटाइरहेका थिए । बुहारीको हारगुहारपछि छरछिमेक र प्रहरीको सहयोगमा उनीहरुलाई अस्पताल पु¥याइयो । ‘प्रहरी पुग्दा रुवाबासी चलिरहेको थियो । सुत्ने कोठामा चुकुल लगाइएको थियो,’ ती प्रहरीले भने, ‘भान्साकोठाबाट खुकुरी हान्दै कोठामा ल्याएर चुकुल लगाएर श्रीमतीलाई प्रहार गरेको देखिन्छ । घटनास्थल हेर्दा श्रीमती गम्भीर भएको थाहा पाएपछि लोकबहादुर आफैंले आत्महत्याको प्रयास गरेको हाम्रो प्रारम्भिक अनुसन्धानले देखाएको छ ।’


लोकबहादुर र बिमलाका ३ छोरा छन् । माइला छोरा बिदेश छन् । जेठा र कान्छा छोरा घरमै छन् । तर, घटना हुँदा जेठा छोरा जिमखाना र कान्छोछोरा घरबाहिर थिए । घटनालगत्तै छोराहरुलाई खबर गरिएको थियो । उनीहरुलाई खबर गरेपछि घाइतेहरुलाई उपचारका लागि अस्पताल पु¥याइएको थियो ।

Advertisement


छिमेकी गोरे गुरुङ र हेम बस्नेतले जेठी बुहारी बाहिर निस्केर गुहार मागेपछि घटनाबारे थाहा पाए । उनीहरु भन्छन्, ‘हामीहरु दौडिदै गयौं । घरभित्र जाँदा लोकजीले आफैंले आफैंलाई खुकुरी हानिसक्नुभएको थियो । एक एक छेउमा उहाँहरु पल्टिरहनुभएको थियो । अस्पतालसम्म पु¥याउन गाडी आउनै ढिला भयो । समय घर्किसकेको थियो । तर, ढिला भए पनि पार्कल्यान्डसम्म उहाँको सास बाँकी थियो ।’


लोकबहादुरभन्दा बिमला २ वर्ष कान्छी हुन् । बिमला ४४ वर्षकी थिइन् । ३ सन्तान जन्मेपछि वैदेशिक यात्रातर्फ हान्निएकी बिमला यसअघि इजरायल पुगेकी थिइन् । इजराइलबाट नेपाल फर्केपछि उनी फेरि अर्काे देश गएकी हुन् । त्यसपछि उनी अमेरिका गएको १० वर्ष भएको थियो । छोराहरुलाई अमेरिका लैजाने प्रक्रियामै थिइन् बिमला । ‘श्रीमान् पनि श्रीमती आएपछि पोखरा १४ को घरमा आएर बस्नुभएको रै’छ,’ प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले भने, ‘लोकबहादुर स्याङ्जा बिरुवाबाट श्रीमती आएको भोलिपल्ट घरमा आएका आउनुभएको रैछ ।’ उनका अनुसार लोकबहादुरले मदिरा सेवा गर्ने गरेका बताए ।
घटना घट्नुको कारण अझै नखुलेको पोखरा १४ का अध्यक्ष बोधराज कार्कीले बताए । ‘बिहानै भएको घटनाले स्तब्ध भएँ ।

कारण बुझ्दा पारिवारिक देखिन्छ । दुवैको पेटमा ठूलो चोट थियो । श्रीमान्को अवस्था पनि गम्भीर छ । भुँडीबाहिर निस्केको छ । अवस्था दर्दनाक छ,’ वडाध्यक्ष कार्कीले भने । एकाबिहानै अचानक घटना घटेको खबर आएपछि घरमै गएर बुझ्दा पनि घटना घट्नुको कारण नखुलेको उनले सुनाए । लोकबहादुरको स्वास्थ्य अवस्था गम्भीर रहेको चिकित्सकहरुले बताएका छन् । उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।


दिदी अमेरिकाबाट आएकाले बिमलालाई भेट्न उनका बहिनीहरु बिहीबार पोखराको घर आएका थिए । घटना हुँदा उनीहरु दोस्रो तलामा सुतिरहेका थिए । बहिनीहरुले शुक्रबार जिल्ला प्रहरी कार्यालयमा लोकबहादुर बिरुद्ध जाहेरी दिएका छन् ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया