फोहोर व्यवस्थापन बुझ्न धरानदेखि दिल्लीसम्म

सञ्जय रानाभाट २०७९ भदौ १८ गते १८:३३

सञ्जय रानाभाट
पोखरा ।
पोखराका मेयर धनराज आचार्यले आफ्ना सय दिनका उपलब्धि सार्वजनिक गरेका छन् । फोहोर व्यवस्थापन गर्न छिमेकी देश भारतको राजधानी दिल्ली र धरान उपमहानगरपालिकाको फोहोर व्यवस्थापन प्रक्रिया अवलोकनसम्मलाई समेटेर आचार्यले शनिबार १०० दिनका सय उपलब्धिमा सार्वजनिक गरेका छन् ।


मेयरसहितको टोलीले फोहोर व्यवस्थापनबारे बुझे पनि पोखरेलीले अनुभूत गर्ने गरी फाहोर व्यवस्थापनमा केही परिवर्तन भएको छैन । ल्यान्डफिल साइटसमेत आवश्यक नपर्ने गरी फोहोर मैला व्यवस्थापनको दिगो समाधानका लागि दिल्ली र धरानमा सञ्चालिन फाहोरमैलासम्बन्धी परियोजना अवलोकन गरेको उपलब्धिमा उल्लेख छ ।


मेयर आचार्यले ल्यान्डफिल साइटको खोजीभन्दा पनि दीर्घकालीन रुपमा समस्या समाधानका लागि ठाउँ ठाउँमा प्रशोधन केन्द्र बनाउन महानगरले पहल गरिहेको सुनाए । ‘पोखरा औद्योगिक क्षेत्रको फाहोर अब बाहिर ल्याउने होइन । महानगरले अब त्यो ठाउँबाट निस्किएको फोहोरलाई त्यही व्यवस्थापन गर्ने गरी उपायको खोजी रहेको छ । ठूलो ल्यान्डफिल साइट बनाउनुभन्दा पनि प्रशोधन गरेर बाँकी रहेको फोहोर निश्चित ठाउँमा पु¥याउने गरी महानगरअघि बढेको छ,’ मेयर आचार्यले भने ।

Advertisement


उनले भनेजस्तै जुन ठाउँको फोहोर हो, त्यही ठाउँमा व्यवस्थापन गर्ने कुरा राम्रो भए पनि त्यो जटिल छ । विज्ञका अनुसार त्यसो गर्न समय लाग्छ । तर, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल भएकै वडामा ल्याडफिल साइट हुँदा तोकिएको समयभित्रै विमानस्थल सञ्चालन हुनेमा अझै शंका छ । विमानस्थलको क्यालिब्रेसन फ्लाइट अक्टोबर (असोज–कात्तिक) मा हुने तय भइसकेको छ ।


अहिले विमान उडानका लागि प्रमुख समस्या ल्यान्डफिल साइट देखिएको छ । विमानस्थलबाट करिब २ किलोमिटरमा रहेको ल्यान्डफिल साइट नहट्दा जहाजमा पंक्षी ठोक्किने खतरा हुन्छ । चराचुरुंगीले बासोबास गरेको स्थान सार्न समय लाग्ने हुँदा महानगरले यथासक्य चाँडो ल्याल्डफिल साइट सार्नुपर्ने हुन्छ ।

Advertisement


चराचुरुंगीलाई अन्यत्र गएर घुलमिल हुन समय लाग्छ । फोहोरमैला व्यवस्थापन गरी ग्याँस र मल उत्पादन गरिने मेयर आचार्यको दाबी छ । सय दिनका सय काममा मेयर आचार्यले नगरपालिकाले किसानलाई घाँस उत्पादन गर्न सहयोग गरेकोसमेत उल्लेख छ । यो अघिल्लो आर्थिक वर्षको कार्यक्रम हो । पोखराभित्र घाँस उत्पादनमा संलग्न ९३ कृषकलाई परिवारलाई १४ लाख ६५ हजार ५ सय रुपैयाँ अनुदान वितरण गरिएको छ ।


महानगरभित्रका १९ हजार ८ सय ४३ भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीको पहिचान भएको छ । तीमध्ये २ सयभन्दा बढी परिवारलाई निस्सा वितरण भइसकेको छ ।


मेयरमा आचार्य निर्वाचित भएपछि सपथग्रहणकै दिन पोखरालाई पर्यटनको राजधानी बनाउन केन्द्र सरकारलाई निवेदन पठाएका थिए । तर केन्द्रले अहिलेसम्म यसबारे कुनै निर्णय गरेको छैन । नयाँ जनप्रतिनिधि आएपछि महानगरका कार्यरत करारका कर्मचारीको म्याद थपिएको छ । अन्तिम चोटिका लागि ६ महिना म्याद थप्ने कार्यपलिकाले निर्णय गरेको थियो ।
महानगरका ३३ वटै वडामा ब्लड प्रेसर, ब्लड सुगर, युरिन टेस्ट गर्नका लागि प्रयोगशाला स्थापना तथा सञ्चालन प्रक्रिया सुरु भइसकेको छ । स्कुल नर्सिङ कार्यक्रम सञ्चालन गरेका छन् । उनले सामुदायिक विद्यालयहरुमा अध्ययानरत विद्यार्थीहरु निम्ति स्वास्थ्य परिक्षण गर्ने गरी स्कुल नर्सिङ कार्यक्रम सुरुवात गरेका छन् ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया