मुस्ताङ गेट फुटबल च्याम्पियन

समाधान संवाददाता २०७९ भदौ २१ गते १८:५४

सुन्दरकुमार थकाली
मुस्ताङ ।

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका ३ छुसाङमा शुक्रबारदेखि सुरु भएको चौथो यार्तुङ महोत्सव आइतबार सकिएको छ । चौथो यार्तुङ महोत्सव अन्तर्गत आईतबार भएको सेभेन ए साइड फुटबल प्रतियोगितामा मुस्ताङ गेट युथ क्लब (चैले) उपाधि चुम्दै च्याम्पियन बनेको छ ।

फाइनलमा ताङ्वे युथ क्लवलाई १–० गोल अन्तरले हराउँदै मुस्ताङ गेट च्याम्पियन बनेको हो । चौथो संस्करणको यार्तुङ महोत्सवमा वारागुङ मुक्तिक्षेत्रका १६ युथ क्लबले फुटबल प्रतियोगितामा भाग लिएका थिए । यसअघि भएको सेभेन ए साइड फुटबल प्रतियोगिताको सेमीफाइनल खेलमा मुस्ताङ गेट युथ क्लव (चैले ) भर्सेस हिमाल एग्रो युथ क्लव (झारकोट ) र ताङ्वे युथ क्लव (ताङ्वे) भर्सेस झोङ युथ क्लव (झोङ ) आमने/सामने भएका थिए । सेमी फाईनल खेलमा मुस्ताङ गेट युथले हिमाल एग्रो र ताङ्वे युथले झोङ युथ क्लवलाई हराउँदै फाईनलको स्थान सुरक्षित गरेका थिए ।

चौथो यार्तुङ महोत्सवको सेभेन ए साईड फुटबलको च्याम्पियन मुस्ताङ गेट युथ क्लव (चैले)ले नगद ५० हजारसहित प्रमाणपत्र, शिल्ड,मेडल र ट्रफी जितेको छ ।यस्तै, ताङ्वे युथ क्लव (ताङ्वे)ले उपविजेता बन्दै नगद ३० हजारसहित प्रमाणपत्र शिल्ड,मेडल र ट्रफी जितेको छ ।

Advertisement

मुस्ताङको धार्मिक,सांस्कृतिक र ऐतिहाँसिक महत्व बोकेको परम्परागत घोडा दौड प्रतियोगितामा वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–२ झोङका विरबहादुर नेपालीको टिका नामको घोडाले प्रथम स्थान हासिल गरेको छ । प्रतियोगितामा सहभागी एक दर्जन प्रतिस्पर्धी मध्ये विकको टिका नामको घोडाले करिव ३ किलोमिटर दुरी ७ मिनेटमा पुरा गरेको थियो ।घोडा दौड प्रतियोगितमा बहादुर गुरुङको घोडाले दोश्रो स्थान हासिल गरेको छ । गुरुङको घोडाले ७ मिनेटको समय खर्चिदै ३ किलोमिटर दुरी तय गरेको थियो । साहसिक खेलको रुपमा परिचित घोडा दौड एक जोखिमयुक्त खेलको रुपमा लिने गरिन्छ । प्रतियोगितमा प्रथम विकले नगद २० हजारसहित प्रमाणपत्र,मेडल र ट्रफी जिते । दोश्रो स्थान हासिल गरेका गुरुङले नगद १० हजारसहित प्रमाणपत्र,मेडल र ट्रफी हात पारे । हिमाली क्षेत्रको महत्वपूर्ण चाडपर्व यार्तुङ,तिजी,धज्याङ लगायतका पर्वहरुमा घोडा दौडको कलाकौशलता देखाउने प्रचलन छ ।

पुरापूर्व कालमा तारो हानेर शिकार खेल्ने प्रचलन थियो । त्यही खेल अहिल सहर/बजारमा आर्चरी खेलको रुपमा मान्यता पाएको छ । पुरापूर्व कालमा शिकार खेल्दा प्रयोग गरिने तारो हान्ने प्रचलन हिमाली क्षेत्रमा सांस्कृतिक खेलको रुपमा विकसित भएको हो । छुक नरसिंह युथ क्लव छुसाङको आयोजना तथा वारागुङ मुक्तिक्षेत्रको आर्थिक सहयोगमा आयोजित चौथो संस्करणको यार्तुङ महोत्सवको तारो हान्ने खेल प्रतियोगितमा सेर्घङ ल्हङबुक युथ क्लव च्याम्पियन बनेको छ । प्रतियोगितमा धाकारजोङ लुम्वुक युथ क्लव दोश्रो बन्यो । ९ डोरमा खेलाईएको खेलमा सेर्घङ ल्हङबुक युथ क्लव च्याम्पियन बन्दै नगद ५० हजारसहित ,शिल्ड,मेडल र प्रमाणपत्र जितेको छ । उपविजेता धार्काजुङ लुम्वुक युथ क्लवले नगद ३० हजारसहित शिल्ड,प्रमाणपत्र,शिल्ड,मेडल र ट्रफी हात पारेको छ ।

Advertisement

यार्तुङ महोत्सवको पुरुष डोरी तान्ने खेलमा थ्रोरङपास युवा क्लव प्रथम र छुक नरसिंह युथक्लव दोश्रो भए । महिलातर्फको डोरी तान्ने खेलमा तिरी आमा समुह प्रथम र चैले आमा समुह दोश्रो भए । डोरी तान्ने खेलको प्रथम र दोश्रो हुने टिमले नगद २० हजार १० हजारसहित प्रमाणपत्र,मेडल र ट्रफी पाए ।

चौथो यार्तुङ महोत्सव अन्तर्गत भएको बिभिन्न प्रतियोगिताका बिजेतालाई वारागुङ मुक्तिक्षेत्र गापकी उपाध्यक्ष ढिकी गुरुङ ,वडाध्यक्ष र क्लव अध्यक्षहरुले नगद,शिल्ड,मेडल,ट्रफी र प्रमापत्रले पुरस्कृत गरे । महोत्सव समापन समापन समारोहमा बोल्दै उपाध्यक्ष ढिकी गुरुङले परम्परा र संस्कृति जोगाउन गाउँपालिका कटिवद्ध रहेको बताईन् । उनले संस्कृति र खेललाई एकैसाथ लिएर दिगो पर्यटन विकासमा वारागुङ मुक्तिक्षेत्र क्रियाशिल रहने जनाईन् ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका १९ वटा गाउँहरु मध्ये कुनै गाउँले महोत्सव आयोजना गर्न चाहेमा पालिकाले बर्सेनि आलोपालो बजेट विनियोजन गरी यार्तुङ पर्वको प्रर्वद्धन गर्दैआईरहेको छ । सदियौंदेखि मुक्तिनाथक्षेत्रमा जनप्रिय युथ क्लवले आयोजना गर्ने गरेको यार्तुङ महोत्सव पछिल्लो ४ वर्ष यता पालिकाको सहयोगमा बर्र्सेनि यार्तुङ महोत्सव गर्ने गरिएको छ । मुक्तिनाथ देखि सुभारम्भ गरिएको महोत्सव कागबेनी,फल्याक हुँदै यसवर्ष छुसाङमा आयोजना गरिएको थियो । यार्तुङ महोत्सवको गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजिव गुरुङ उर्फ दिपक मनाङेले समुउद्घाटन गरेका थिए ।

तपाईको प्रतिक्रिया