‘पहिरो देखाए पनि मुस्ताङमा पर्यटकको ओइरो लाग्छ’

समाधान संवाददाता २०७९ भदौ २२ गते १०:४६

पोखरा ।
मुस्ताङ जिल्लाका चार गाउँपालिकाका अध्यक्षहरु पोखरामा शनिबार आयोजित एक कार्यक्रममा एकसाथ उपस्थित भए । उनीहरुको एक स्वर थियो– सम्भावना व्यापक हुँदा पनि मुस्ताङ पछि नै रह्यो । पर्यटकीय र व्यापारिक सम्भावना बोकेपनि मुस्ताङले विकासमा फड्को मार्न नसकेको उनीहरुको चिन्ताको विषय थियो ।


पोखरा पर्यटन परिषद्को आयोजनामा गरिएको अन्तक्र्रिया कार्यक्रममा मुस्ताङका चारवटै गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, पर्यटन व्यवसायीले पर्यटकीय गतिविधि बढाउन पूर्वाधार विकासमा जोड दिनुपर्ने बताए । भेलामा सबैले वर्षौैदेखि बन्द रहेको कोरोला नाका खुलाउनुपर्ने माग गरेका थिए ।


थासाङ गाउँपालिकाका अध्यक्ष प्रदीप गौचन आफू खराब सडकका कारण बाटोमै अलपत्र परेको किस्सा सुनाउँदै मुस्ताङको विकास नहुनुमा खराब सडक कारक रहेको बताए । ‘एउटा तालिका बनाएर पोखरा झरेको बाटोमै अलपत्र परें । यसले मलाई मुस्ताङ ज्यादै पिछडिएको महशुस भयो,’ उनले भने ।

Advertisement


मुस्ताङकै घरपोझोंग गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचन पनि मुस्ताङमा पर्यटक नबढ्नुको प्रमुख कारण सडक पूर्वाधार भएको सुनाउँछन् । उनले पर्यटनसँग जोडिने पूर्वाधार नबन्दा पर्यटन क्षेत्र जोखिममा भएको बताए । ‘पोखरा जसरी पर्यटकको रोजाइ मुस्ताङ पनि हो । एकपटक जोसुकै मुस्ताङ पुग्न चाहन्छन् । तर, हामीले प्याकेज बनाउँदादेखि सेवा सुविधा उपलब्ध गराउन नसक्दा पर्यटकको संख्यामा सुधार आएको छैन,’ उनले भने ।


पर्यटक बढाउन सडक विस्तार र पर्यटकीय क्षेत्रको विकास गर्नुपर्ने उनले बताए । ‘पोखराबाटै पर्यटक मुस्ताङ जाँदा मुस्ताङमा १ हप्ता पर्यटक रहन सक्ने सेड्युल बनाउनुपर्छ । यसका लागि हवाइमार्गदेखि सडक विस्तारलाई जोड्नुपर्छ,’ उनले भने । भारतीय पर्यटक मुस्ताङ हुँदै मानसरोवर जाने बाटो भएकाले पनि यसलाई विकास गर्नुपर्ने उनको भनाइ छ ।

Advertisement


लोघेकर दामोदर कुन्डका अध्यक्ष लोप्साङ छोम्पेल विष्टले मुस्ताङमा प्राकृतिक विपद्बाट प्रत्येक वर्ष भौतिक संरचना बिग्रने र भत्कने हुँदा दीर्घकालिन योजना बनाउन माग गरे । ‘मुस्ताङ पर्यटकीय आकर्षणको क्षेत्र हो । यहाँ आउने पर्यटकलाई ठूलाठूला पहिरो देखाउन सकेपनि पर्यटक बढ्छन्,’ उनले भने, ‘यसका लागि पनि सरकारले मुस्ताङको विकास गर्न सक्ने बजेट दिनुपर्‍यो ।’


कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मुस्ताङको विकास गर्न प्रदेश सरकार सधंै तत्पर रहेको बताए । ‘मैले गत हप्ता पनि मुस्ताङको भ्रमण गरे । यसले मलाई मुस्ताङ विकास निर्माणबाट पिछडिएको महशुस भयो,’ मुख्यमन्त्री पोखरेलले भने ।


पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले संघले मुस्ताङको पर्यटन विकासमा आर्थिक, सामाजिक सहयोग गर्न सधैं तयार रहेको बताए । लोमान्थाङमा भएको गुम्बा दरबार देखाएर चिनियाँ पर्यटक भित्रयाउन सकिने उनको भनाइ छ । उनले भने, ‘पर्यटन क्षेत्रमा देखिएका गाँठो परिषद्ले फुकाउँछ, गण्डकी प्रदेश सरकारले कोरोला नाका खुलाउन पहल गर्नुपर्छ ।’

तपाईको प्रतिक्रिया