चार करोडको दूध बिक्री

राष्ट्रिय समाचार समिति (रासस) २०७९ भदौ २४ गते १५:३१

म्याग्दी ।
म्याग्दीको बेनी नगरपालिकाको एउटै वडाबाट वार्षिक रु चार करोड मूल्य बराबरको दूध निकासी हुन थालेको छ । बेनी नगरपालिका–४ को सिंगा, बास्कुना, सुर्केमेला, राक्से, ठूलोखोला, स्वाँत, थामडाडा र तातोपानीका कृषकले दैनिक एक हजार लिटर दूध बेच्छन् । वडाध्यक्ष अणबहादुर खड्काका अनुसार तीन वटा सहकारी संस्था र एक जना कृषकले बेनीमा दूध निर्यात गर्दै आएका छन् ।

‘सहकारीले कृषकले उत्पादन गरेको दूध सङ्कलन गरेर बजार लैजाने गरेका छन्,’ उनले बताए ‘यो वडाबाट मात्रै दैनिक एक हजार लिटर दूध निकासी हुन्छ ।’ बास्कुना कृषि सहकारी संस्थाले बास्कुना र थामडाँडाबाट दैनिक दुई ६० लिटर, सिंगाको शुभकामना दुग्ध सहकारीले दैनिक दुई सय ६० लिटर र सिमलचौर विउविजन तथा कृषि सहकारी संस्थाले मंगलाका कृषकसहित चार सय ५० लिटर दूध बेनीमा ल्याउने गरेका छन् ।

सिंगाका कृषक कोपीपाल पौडेलले व्यक्तिगतरुपमा दैनिक ४० लिटर दूध बिक्री गर्छन् । वडाभर करिब सय बढी कृषकले गाईभैँसी पालन गरेर दूध उत्पादन गरेका छन् । बास्कुना कृषि सहकारीले बेनीमा आफ्नै बिक्री कक्ष सञ्चालन गरेको अध्यक्ष तिलक गुरुङले बताए । ‘बास्कुनालाई फलफूल र दूधमा नमुना (एफएम फ्रुट–मिलक) भिलेज बनाउने अभियानमा छौं, उनले भने ‘गाईभैँसी पालनबाट कृषकको जीवनस्तरमा परिवर्तन आएको छ ।’

Advertisement

उपभोक्ताको घरमै पुर्‍याँउदा प्रतिलिटर रु एक सय २० र डेरीलाई प्रतिलिटर रु एक सय १० का दरले दूध बिक्री हुने गरेको कृषक कोपीपाल पौडेलले बताए। ‘वार्षिक करिब रु १७ लाख आम्दानी हुन्छ । खर्च कटाएर रु छ/सात लाख बच्छ,’ उनले भने, ‘पशुपालनबाट छोराछोरीको पढाइसँगै घरव्यवहार चलाउन सहज भएको छ ।’

कृषकले घरबाट सङ्कलन केन्द्रमा ल्याउने दूध गाडीमा राखेर बेनी पठाउने गर्छन् । सडक यातायातको सुविधासँगै सिंगाका कृषकले दूध उत्पादनका लागि व्यावसायिक गाईभैंसी पाल्न थालेका थिए । विदेशबाट फर्किएका र युवाले पनि गाईभैंसीपालन गरेका छन् ।

Advertisement

भेटेरीनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रका प्रमुख जीवनप्रसाद आचार्यले सिंगा, अर्थुंग र बरङ्जा क्षेत्रका कृषकले दूध उत्पादन गर्न थालेपछि आयात घटेको बताए । नयाँ फार्म स्थापना, स्तरोन्नति, गोठ सुधार, संकलन केन्द्र स्थापना, दूध ढुवानी गर्ने क्यान आदीमा केन्द्रले सघाएको छ ।

गत आर्थिक वर्षमा रु १८ लाख बजेट विनियोजन भएको उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रममार्फत दोभान, बास्कुना र सिमलचौर कृषि सहकारीमा आबद्ध सय कृषकले प्रतिलिटर रु २.५० का दरले रु १५ लाख ९० हजार अनुदान पाएका थिए ।

राष्ट्रिय समाचार समिति (रासस)

रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो । 

तपाईको प्रतिक्रिया