कास्कीमा थपिए ३७,८४९ मतदाता

असार १ गतेपछि मात्रै ११ हजार ३ सय ६१ नयाँ मतदाता थपिए

सञ्जय रानाभाट २०७९ भदौ २८ गते १०:२५

सञ्जय रानाभाट ।
पोखरा
आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव नजिकिएसँगै राजनीतिक माहोल तातेको छ । नेता, कार्यकर्ता टिकट पाउने दौडधुपमा लागेका छन् । निर्वाचन जित्ने समीकरणको खोजी गर्दै दलहरु तीव्र दौडधुपमा देखिन्छन् । वडादेखि प्रदेशका मन्त्री मुख्यमन्त्रीहरु उम्मेदवार बन्न नाम टिपाएका छन् ।

निर्वाचन क्षेत्र सीमित भए पनि आकांक्षी बढी हुँदा उम्मेदवार टुंगाउन केन्द्रीय नेताहरुलाई कठिनाइ देखिएको छ । स्थानीय तहको चुनावमा स्वतन्त्र उम्मेदवारहरुले जिते पछि स्वतन्त्रहरुले उम्मेदवारी दिने क्रम पनि बढ्दो छ । थपिएका नयाँ मतदाता अबको प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनमा ‘गेम चेन्जर’ बन्न सक्छन् ।

कास्कीमा २०७४ मंसिरको निर्वाचनभन्दा अहिले ३७ हजार ८ सय ४९ जना नयाँ मतदाता थपिएका छन् । यो अपरिस्कृत तथ्यांक हो । अघिल्लो निर्वाचनमा कास्कीमा २ लाख ५५ हजार ४ सय ५२ मतदाता थिए । यति बेला कास्कीमा २ लाख ९३ हजार ३ सय १ मतदाता पुगेका छन् । दाबी विरोधपछि परिस्कृत गर्दा यो अंक थोरैमात्र तलमाथि हुन भने सक्छ । यो मतदाता संख्या बाहिरी जिल्लामा दर्ता भएर थप हुन आउने, दाबी विरोधको समयमा मृत्यु भएको तथा दोहोरो तथ्यांक हटाउने लगायत काम गर्नुअघिको तथ्यांक भएको निर्वाचन आयोग गण्डकी प्रदेशका प्रमुख हुमनाथ अधिकारीले बताए ।

Advertisement

२०७९ वैशाख ३० गते भएको स्थानीय तहको चुनावमा कास्कीमा २ लाख ८१ हजार ९ सय ४० मतदाता थिए । असार १ गतेदेखि सुरु भएको मतदाता नामावली संकलन प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति घोषणाको दिनसम्म ११ हजार ३ सय ६१ नयाँ मतदाता थपिएको निर्वाचन कार्यालय कास्कीका सूचना अधिकारी रुद्र न्यौपानेले बताए ।

थपिएका मतदाता कास्कीका जनप्रतिनिधि चुन्न निर्णायक हुन सक्छन् । चुनावमा भर्खर बनेका नयाँ दल, स्वतन्त्र उम्मेदवारहरु छानिन सक्ने सम्भावना उत्तिकै छ । कास्कीमा प्रतिनिधि सभाका ३ र प्रदेश सभाका ६ निर्वाचन क्षेत्र छन् । १ महानगरपालिका र ४ वटा गाउँपालिका छन् । कास्कीका अन्नपूर्ण, माछापुच्छ«े, मादी र रुपा गाउँपालिका तथा पोखरा महानगरपालिकामा गरी ७२ वडा छन् । आउँदो निर्वाचनमा कास्कीमा १ सय ५१ मतदानस्थल हुने निर्वाचन कार्यालय गण्डकीका प्रमुख पराजुलीले बताए । मतदाता संख्याका आधारमा मतदान केन्द्रको तय गरिने छ । गत स्थानीय चुनावमा कास्कीमा ३ सय ३६ वटा मतदान केन्द्र थिए ।

Advertisement

०७४ सालको चुनावमा कास्कीमा ३ प्रतिनिधिसभामध्ये एमाले उम्मेदवार तीनै ठाउँमा विजयी भएका थिए । त्यति बेला एमाले–माओवादी वाम गठबन्धन बनाएर चुनावी मैदानमा थिए । गण्डकी प्रदेश सभाका ६ मध्ये एमालेले ३, माओवादीले २ र कांग्रेसले १ निर्वाचन क्षेत्रमा जितेका थिए । तर, अहिले विगतको आँकडालाई आधार मानेर विश्लेषण गर्नु हतार हुन सक्छ । कास्कीमा प्रत्यक्षतर्फ प्रतिनिधिसभाका लागि ३ सिट र प्रदेश सभामा ६ जना सिट छन् ।

०७४ सालको निर्वाचनभन्दा अहिले परिस्थिति परिवर्तन भएको छ । एमालेबाहेक पाँचदलीय गठबन्धन बनेको छ । उनीहरु संयुक्त मोर्चा बनाएर चुनावमा जाने तयारीमा छन् । पार्टी र स्वतन्त्रबाट उम्मेदवारी दिने आकांक्षी बढ्दै जाँदा अहिले नै कुन पार्टी, उम्मेदवारले जित्छन् भन्ने आँकलन गर्न हतार हुन्छ ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया