पार्टी प्यालेसमा नवौं राष्ट्रिय खेलकुद !

रिखिराम जिसी २०७९ भदौ ३० गते १०:१९

रिखिराम जिसी ।
पोखरा
दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुनुअघिसम्म पोखरामा खेलकुदका कुनै पूर्वाधार थिएनन् । त्यही प्रतियोगिताको अवसरमा पोखरा रंगशाला नै निर्माण गरियो । त्यो पूर्वाधारले पोखरेली खेलकुदलाई ४० वर्ष धान्यो । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरामा हुँदैछ । तर प्रतियोगिताका लागि आवश्यक पूर्वाधारमा भने ४० वर्षअघिको जस्तो तयारी र योजना सरकारले बनाउन सकेन ।

पूर्वाधार अभावकै कारण नवौं खेलकुदका कतिपय इभेन्ट पार्टी प्यालेस र स्कुलमा आयोजना हुन लागेका छन् । यो खेलकुद पूर्वाधार खडा गर्न सरकारले उदासीनता देखाउँदाको परिणाम हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले बुधबार खेलस्थल र खेल तालिका सार्वजनिक गर्‍यो । अधिकांश खेलस्थल पोखरामा तोकिएको छ । त्यसको कारण पनि अरु जिल्लामा खेलकुद पूर्वाधार नहुनु हो ।

पोखरामा तोकिएका खेलस्थलमा पार्टी प्यालेसदेखि स्कुलसम्म छन् । कबड्डी महिला पुरुषको खेलस्थल रञ्जित पार्टी प्यालेसमा तोकिएको छ । हक्की महिलाको खेलस्थल गण्डकी बोर्डिङ तोकिएको छ । प्राथमिकताको आधारमा खेलस्थल छनोट गरिएको प्राविधिक उपसमिति संयोजक हिमालराज दाहालले बताए । खेल हुने अवधिमा जाडो बढेर जान्छ, २/३ वटा कुरा हेर्नुपर्छ । त्यहाँ उपचारको व्यवस्था छ कि छैन, कतिजना खेलाडी जान्छन्, तिनीहरुलाई व्यवस्थापन गर्न सक्ने क्षमता छ कि छैन, ती सबै कुरा हेर्नुपर्छ र खेलस्थल छनोट गर्नुपर्छ,’ उनले भने ।

Advertisement

सार्वजनिक गरेको खेल तालिका अनुसार महिला क्रिकेट प्रतियोगिता असोज २३ गतेबाट सुरु हुनेछ । उसु, फेन्सिङ, कबड्डी महिला पुरुषको खेल असोज २४ गतेबाट सुरु हुनेछन् । प्रतियोगितामा ४०४ वटा इभेन्टमा १३८६ पदकका लागि प्रतिस्पर्धा हुनेछन् ।

पत्रकार सम्मेलनमा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले नवौं खेलकुदको वेबसाइट र एप सार्वजनिक गरे । वेबसाइट र एपले सूचना प्रवाहमा सहज पुग्ने अपेक्षा छ ।
प्रदेशका मुख्यमन्त्री, अर्थमन्त्री, खेलकुद मन्त्री राष्ट्रिय खेलकुद प्रति जिम्मेवार महसुस गरेको मन्त्री गहतराजले बताए । ‘मुख्यमन्त्रीज्यूले, अर्थमन्त्रीज्यूले, खेलकुद मन्त्रीज्यूले जिम्मेवारी महसुस गर्नुभएको छ, हामीले त यति कुरा हुँदाहुँदै पनि विगतजस्तै बुझेछौँ । केन्द्रले सबै पठाइदिन्छ । अनि त्यसपछि हामी त गर्छौं भन्ने बुझेछौं भन्ने उहाँहरुलाई परेछ,’ उनले भने ।

Advertisement

प्रदेशले प्रदेशभित्र खेल सञ्चालन गर्ने, खेलाडी सम्पूर्ण योग्य बनाउने, क्लोज क्याम्प राख्ने जस्ता व्यवस्था रहेको मन्त्री गहतराजले सुनाए । ‘यसो होइन, हामीले त्यतिबेला भनेका थियौं, केन्द्रले सानोसानो रुपमा सर्पाेट त गर्नेछ तर व्यवस्थापन आफै गर्नुपर्नेछ,’ उनले भने, ‘आफ्नो खेल सञ्चालन गर्ने, खेलाडी सम्पूर्ण योग्य बनाउने, क्लोज क्याम्प राख्ने तपाईहरुकै काम हो है यो कुरा प्रष्टै छ, यो संवैधानिक व्यवस्था हो ।’

खेलकुद प्रतियोगिताका लागि तोकिएका खेलस्थलको मर्मत तीव्र गतिमा भइरहेको सदस्य सचिव घिसिङले बताए । ‘धेरैजसो खेलस्थलको मर्मत सकिएको छ र एक हात कुनै खेलस्थलको पनि मर्मत तीब्र बनाइएको छ,’ उनले भने । पोखरा सहरलाई खेलमय बनाउन स्ट्न्डी कटआउट, फ्लेक्स व्यानर तथा स्वागतद्वार राख्न स्थानीय तहसँग समन्वय भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रचारप्रसार उपसमिति संयोजक दीपेन्द्र विष्टले बताए । खेल सामग्री, खेलपोसाक लगायत खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको विष्टले दाबी गरे ।

प्रतियोगितको मूलट्रफी ३१ गते शुक्रबार सार्वजनिक गरिने राखेप सदस्य सचिव घिसिङले जानकारी दिए । त्यसलगत्तै ट्रफी सबै प्रदेशमा लगिने उनले बताए । नवौं राष्ट्रिय खेलकुद आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा हुँदैछ ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको अधिकांश खेल पोखरामा केन्द्रित हुने भएका छन् । संरचनाका अभावका कारण सुटिङलाई काठमाडौं तय हुँदा पुरुष क्रिकेट अहिले काठमाडौंमा सञ्चालन भइरहेको छ । बुधबार सार्वजनिक तालिका अनुसार गण्डकीका ४ जिल्लामा कुनै पनि खेल नहुने भएका छन् । खेल हुने कास्कीबाहेक अन्य ६ जिल्लामा ७ खेलमा हुनेछन् ।

मनाङ, मुस्ताङ, लमजुङ र तनहुँमा कुनै पनि खेल नहुने भएका छन् । खेलकुद संरचना र खेलाडी सुरक्षालाई कारण देखाउदै ४ जिल्लामा खेलकुद नहुने जनाएको छ । कास्कीबाहेक नवलपुर कावासोतीमा सेपाक्टाक्रो महिला पुरुष र कुस्ती, गोर्खामा बुद्धिचाल, म्याग्दीमा तेक्वान्दो र महिला भलिबल, पर्वतमा कराते, बागलुङमा आइटिएफ तेक्वान्दो, स्याङजामा महिला फुटबल हुने तय गरिएको छ । अन्य खेल भने पोखरामा हुनेछन् ।

तयारीको दौरानमा खेलकुद पदाधिकारीले कम्तीमा एउटा खेल सबै जिल्लामा हुने गरी व्यवस्था मिलाउने आश्वासन दिएका थिए । सोही अनुसार नै नवौं राष्ट्रिय खेलकुद खेलस्थल व्यवस्थापन उपसमितिकोे टोली गण्डकी प्रदेशका ११ वटै जिल्ला खेलस्थल निरीक्षणका लागि पुगेका थिए । प्रतिवेदन पनि बुझाएका थिए । तर ७ जिल्लामा मात्रै हुने गरी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको खेलस्थल सार्वजनिक गरिएको छ ।

रिखिराम जिसी

जिसी समाधान संवाददाता हुन् 

तपाईको प्रतिक्रिया