राकेश शर्मा ।
म्याग्दी
म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ पाउद्वारका प्रकाश पुन २१ वर्ष लागेका थिए । कक्षा १२ पास गरेका पुनलाई घरपरिवार र आफन्तले विदेश जान सुझाए । तर उनलाई विदेश जान पटक्कै मन लागेन । कक्षा १२ गाउँकै विद्यालयबाट पास गरेका पुनको पढाइ राम्रो भए पनि आर्थिक कारणले अध्ययन थपअघि बढाउन सक्ने अवस्था थिएन । घर, परिवारले विदेश जानका लागि भनेर राहदानी बनाइदिए ।
यता, पुनलाई भने अर्काको देशमा पुगेर कामदार बन्नुभन्दा आफ्नो देशमा किसान बन्ने इच्छा पलायो । विदेश जानका लागि जम्मा गरेको रकम उनले पुर्खाले गर्दै आएको पेशा भेडापालनमा लगाए । ‘सानै उमेरबाटै विदेश जान मन थिएन,’ उनी भन्छन्, ‘भेडापालनमा राम्रो आम्दानीको सम्भावना भए पनि यसमा दुःख निकै छ ।’ खोप्रा खयर क्षेत्रमा पर्ने नौली वन क्षेत्रमा साथीहरुसँग मिलेर भेडापालन गर्दै आएका पुनले राम्रो आम्दानी भएको सुनाए ।
अहिले उनीसँग एक सयभन्दा बढी भेडा छन् । ‘सुरुमा ६० वटा भेडा किनेर साथीको गोठमा मिसिएको हुँ,’ उनले भने, ‘भेडा बढ्दै जान्छन्, केही समय यस क्षेत्रमा नै जम्न सके भने वार्षिक १५–२० लाख कमाउन सक्छु ।’ पुनसँगै भेडी गोठमा पाउद्वारका कमल पाइजा र अर्का एक साथीका गरी करिब ३ सय भेडा छन् । अहिले खयर क्षेत्रमा ५ भेडी गोठ छन् । भेडाका लागि चरण क्षेत्र बढी चाहिने भएकाले नजिक नजिक भेडीगोठ कम हुन्छन् । लेकमा बस्नुपर्ने भएकाले पनि कतिपयले यो पेशा छोड्दै गएको पाउद्वारका राजु पुनको ठम्याइ छ ।
म्याग्दीको धवलागिरी गाउँपालिका ५ मल्कबाङ घर भएका (हिमबहादुर) देवान छन्त्यालले २ दशक लामो वैदेशिक रोजगारीबाट आर्जन गरेको स्रोतलाई जन्मथलोमै उपयोग गर्ने उद्देश्यले व्यवसायिक भेडापालन सुरु गरेका छन् । ‘गाउँकै स्रोत र साधनलाई उपयोग गरी आयआर्जन गर्ने मेरो लक्ष्य हो, अहिले करिब मेरो गोठमा १ हजार भेडा छन्,’ उनले भने । लेकाली क्षेत्रमा भेडिगोठ रहने भएकाले रेखदेखका लागि अहिले ४ जनालाई रोजगारी दिएको उनले सुनाए । गाउँदेखि टाढा वन जंगल र हिमाली भेगमा भेडीगोठ राख्ने गरिन्छ ।
मलेसियामा आकर्षक तलबको जागिर छाडेर आएका छन्त्यालले पछिल्लो समय वैदेशिक रोजगारीबाट भित्रिएको पुँजी उत्पादनमूलक क्षेत्रमा लगानी नभईकन घरजग्गा र अनुत्पादक क्षेत्रमा मात्रै लगानी भइरहेको सन्दर्भमा अरुलाई समेत सकरात्मक सन्देश प्रवाह होस् भनेर भेडा पाल्न थालेको जनाए । ‘कमाई त विदेशमा पनि राम्रो थियो, तर जीवन नै उतै बिताउन मन मानेन, स्वदेश फर्किएपछि पनि सहर बजारमा कमाई गर्ने सीप थियो, तर जन्मथलोको सम्भावनालाई नै मैले उजागर गर्नुपर्छ भन्ने अठोट गरेँ,’ उनी आशावादी सुनिए ।
गोठमा बस्नु र गोठालो बनेर जीवन बिताउनु कठिन भए पनि आफू जन्मेको ठाउँमा जस्तोसुकै संघर्ष र परिश्रम गर्न पछि पर्नु नहुने उनको भनाइ छ । पछिल्लो समय म्याग्दीमा भेडापालन गर्ने किसानको संख्या बढ्दै गएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीका अनुसार पछिल्लो समय भेडा पालन गर्ने किसानका लागि अनुदानको व्यवस्था गरेको छ । तर किसान भने सामुदायिक वन क्षेत्र चरनका लागि प्रयोग गर्न नपाउँदा हिउँदको समयमा निकै समस्या हुने गरेको बताउँछन् ।
राकेश शर्मा
शर्मा समाधान राष्ट्रिय दैनिकका म्याग्दी संवाददाता हुन् ।
तपाईको प्रतिक्रिया