आर्मी हाइ अल्टिच्युड सेभेन ए साइड च्याम्पियन

सुन्दरकुमार थकाली २०७९ असोज २ गते ११:३२

जोमसोम ।
मुस्ताङको जोमसोममा जारी हाइ अल्टिच्युड विश्वकर्मा कप सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि विभागीय टिम आर्मीले जितेको छ । शनिबार भएको खेलमा वारागुङ मुक्तिक्षेत्र ३ छुसाङको छुक नरसिंह युवा क्लबलाई ४–२ ले हराउँदै जोमसोम स्थित विभागीय टिम आर्मीले विश्वकर्मा कपको उपाधि सुरक्षित गरेको हो ।

जोमसोम स्थित टु ह्वीलर मोटरबाइक एन्ड सेल्स पार्टस्ले आयोजना गरेको खुला अन्तर क्लब हाइअल्टिच्युड सेभेन ए साइड फुटबल प्रतियोगितामा ११ टिमले सहभागिता जनाएका थिए । जर्सी नं. ७ का आर्मीका धीरेन्द्र शाहीले ३ गोल गरे । आर्र्मीका लागि जर्सी नं. ४ का अनिल बुढामगरले अर्को १ गोल थपे । विभागीय टिम आर्मीबाट पराजित छुक नरसिंह युवा क्लब छुसाङले २ गोल ग¥यो । छुसाङका लागि जर्सी नं. १० राजेश गुरुङ र जर्सी ४ लक्ष्मण थापाले समान १ गोल गरे ।

यसअघि प्रतियोगिताको सेमीफाइनलमा विभागीय टिम आर्मीले थोरङ्लापास युवा क्लब खिङ्गालाई हराउँदै फाइनल यात्रा सुरक्षित गरेको थियो । छुक नरसिंह युवा क्लब छुसाङ जनहित क्लब जोमसोमलाई टाइब्रेकरमा हराउँदै फाइनल पुगेको हो ।
प्रतियोगितामा सर्वोउत्कृष्ट खेलाडी थोरङ्लापास युवा क्लब खिङ्गाका सान्तोक ठकुरी घोषित भए । सर्वाधिक गोलकर्ताको पुरस्कार विभागीय टिम आर्मीका धीरेन्द्र शाहीले पाए । उनले प्रतियोगितामा ७ गोल गरेका थिए । यस्तै, सर्वोउत्कृष्ट गोल रक्षकको पुरस्कार आर्मीकै डम्बरबहादुर कार्कीले जिते ।

Advertisement

विजेता आर्मीले नगद ५० हजारसहित सिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र पायो । यस्तै उपविजेतामै चित्त बुझाएको छुक नरसिंह युव क्लबले नगद ३० हजारसहित सिल्ड , मेडल, ट्रफी र प्रमाणपत्र पायो । घरपझोङ ४ का वडाध्यक्ष यमप्रसाद थकाली, कार्यपालिका सदस्य भीषण थकाली, जनहित युवा क्लबका अध्यक्ष जितेन्द्र शेरचन लगायतले विजेतालाई पुरस्कार हस्तान्तरण गरेका थिए ।

विश्वकर्मा पर्वको उपलक्ष्यमा हाइ अल्टिच्युड सेभेन ए साइड विश्वकर्मा कप फुटबल प्रतियोगिता भएको हो । मुस्ताङमा घरेलु खेलकुद प्रतियोगिताको माध्यमबाट खेल क्षेत्रको विकास र प्रर्वद्धन गर्न सकिने वडाध्यक्ष यमप्रसाद थकालीले बताए । उनले समुन्द्री सतहदेखि ३ हजार उचाईमा खेल खेल्नु आफैंमा चुनौतिपूर्ण रहेको उल्लेख गर्दै मुस्ताङमा पर्वतीय खेलको विकासमा यस प्रकारका इभेन्टले महत्वपूर्ण योगदान दिने सुनाए ।

Advertisement

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया