टावर पर्सनालिटी सरदार यदुनाथ

सुरेश रानाभाट २०७९ असोज २ गते १५:०५

‘त्यो पारी मानुङको डाँडाले छेक्यो मायालाई…….’
यो गीत मैले विसं २०३८ सालतिर काका भीम रानाभाटसँग गाई चराउन जाँदा बच्र्याङमा सुनेको थिएँ । हाम्रो गाउँको नाम थान्सिङ, थान्सिङ उता बच्र्याङ र त्योभन्दा उता मानङ गाउँ । दमौली बजारमा लाग्ने डम्म कुहिरो हेर्ने भ्यु प्वाइन्ट पनि हो मानुङ ।

हो, त्यही भ्यु प्वइन्टको रूपमा चर्चित मानुङ गाउँमा विसं १९७० साउन २८ गते बुबा नरनाथ र माता तारादेवी खनालका सुपुत्रका रूपमा यदुनाथ खनालको जन्म भएको थियो । पाँच वर्षको उमेरमा आफ्ना पिता नरनाथबाट उनले घरमै अंकअक्षर चिन्ने अवसर पाए । विसं १९८२ सालमा १२ वर्षको उमेरमा ७ दिन हिँडेर ज्ञानको खोजीमा काठमाडौं आए । संस्कृत छात्रावासबाट उनको औपचारिक पढाइ सुरु भयो ।

खनाल नेपालको पुनर्जागरण कालका भाषा, साहित्य, समालोचना, शिक्षा, कूटनीति प्रशासन र परराष्ट्र मामिलाका टावर पर्सनालिटी नै हुन् ।

Advertisement

नेपालमा विसं १९९० देखि एसएलसी परीक्षा स्वदेशमै रहेर दिन पाउने व्यवस्था भयो । १९९२ को एसएलसी परीक्षामा दरबार हाइस्कुलबाट ‘बोर्ड फस्ट’ हुँदा यदुनाथ खनालले आफूलाई मात्रै होइन जन्मथलो तनहुँ मानुङलाई पनि चिनाए । काठमाडौंवासीले तनहुँको पानीमा के छ भनेर सोधे रे उनलाई । राणाकालीन सरकारले उनलाई मासिक १५ रुपैयाँ छात्रवृत्ति दिएपछि त्रिचन्द्र कलेजमा आइएस्सी पढे ।

विसं १९९३ मा त्रिचन्द्र कलेजमा सम्पन्न कलेजस्तरीय निबन्ध प्रतियोगितामा उनी प्रथम भएपछि उनमा लेखकीय क्षमता र भविष्यमा मुलुकलाई चाहिने मान्छे हुन्छ भनेर निर्णायक रहेका लक्ष्मीप्रसाद देवकोटाले तारिफ नै गरेका थिए । विसं १९८८ मा ‘रानी पोखरी’ शीर्षकको निबन्ध लेखनमा पनि प्रथम भएका खनाल विसं १९९७ को शारदा मासिक साहित्यिक पत्रिकाबाट उनको कलम क्रियाशील भएको देखिन्छ । विसं १९९९ सालमा कलकत्ता विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा एमए गरेका खनाल त्रिचन्द्र कलेजमा १३ वर्ष अंग्रेजी साहित्य पढाउँदा लोकप्रिय भइसकेका थिए ।

Advertisement

यदुनाथ खनालले आफ्ना गुरु बोधविक्रम अधिकारीको अबिचुअरी ‘अस्ताएका तारा’ विसं २००८ साल फागुन १४ गतेको गोरखापत्रमा लेखेका छन् । नेपालमा अबिचुअरीको लेखनको जग उनैले बसालेका हुन् । संस्कृत, नेपाली र अङ्ग्रेजी भाषामा उनको दह्रो पकड थियो । पूर्वीय र पाश्चात्य साहित्यको गहिरो ज्ञान लिएका थिए । लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, भूपी शेरचनका बारेमा अंग्रेजीमा लेखेर अन्तर्राष्ट्रिय जगतमा चिनाएका थिए । समालोचना सिद्धान्त २००३, साहित्य चर्चा २०३२, सूक्रि सञ्चय )संस्कृत पद्यकृति) रिफ्लेक्सन अन नेपाल इन्डिया रिलेसन्स, स्ट्रे थट्स, नेपाल ट्रान्जिसन फ्रम आइसोलेसनिजम, एसेज अफ नेपाल अफेयर्स, नेपाल आफ्टर डेमोक्रेटिक रेस्टोरेसन र नेपाल्स नन् आइसोलेसनिस्ट फरेन पोलिसी आदि उनका प्रकाशित कृति हुन ।

बनारस विश्वविद्यालयबाट संस्कृत, कलकत्ता विश्वविद्यालयबाट विएस्सी र अंग्रेजी साहित्यमा स्नातकोत्तर गरेका खनालको दिल भने डाक्टरी शिक्षामा थियो । प्राध्यापन र निजामतीले उनलाई खोज्यो । खनालले लन्डन विश्वविद्यालयबाट बेलायती शैक्षिक चिन्तन र व्यवहारमा डिप्लोमा गरेका थिए । ओरेगन विश्वविद्यालयबाट शैक्षिक प्रशासनको कोर्स गरेका थिए । हार्वर्ड युनिभर्सिटीको फेलो हुँदै त्रिभुवन विश्वविद्यालयबाट मानार्थ महाविद्यावारिधि प्राप्त गरेका थिए । समग्रमा उनको चाहना शिक्षा क्षेत्रमा थियो । त्रिविको पहिलो भिसी हुने मौकाबाट उनलाई वञ्चित गरिएकोमा सन्तुष्ट थिएनन् ।

विसं २०१२ सालमा तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यले आफ्नो प्रमुख सचिव र गृहसचिव बनाएर सिंहदरबार लगे पनि उनी कर्मचारीको दर्जाभन्दा माथिल्लो श्रेणीमा स्वतन्त्र विद्वानका रूपमा परिचित थिए । खनालको कूटनीतिक क्षमताको अग्निपरीक्षा राजा महेन्द्र, वीरेन्द्र, प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालासम्मले लिन भ्याए । दुईपटक परराष्ट्र सचिव, गृह, सूचना र यातायात मन्त्रालयको सचिव, राष्ट्रिय योजना आयोगको सदस्य, लोकसेवा आयोगको अध्यक्ष, चीन, भारत र अमेरिकाको राजदूत हुने उनी एकमात्र व्यक्ति हुन् ।

नेपालका दुई सँधियारी मुलुक चीन र भारत साथै अमेरिकाका लागि राजदूत भएका खनालको कूटनीतिक पाटो पनि सबल र सफल देखिन्छ । लोकसेवा आयोगको अध्यक्ष भएर उनले खनेको बाटो आज राजमार्ग भएको छ । परराष्ट्र मामिलामा दख्खल राख्ने खनालले संयुक्त राष्ट्रसंघसम्म आफ्नो पहिचान र पदचाप छोडेका छन् । संयुक्त राष्ट्र संघको १५ औं सम्मलेनमा भाग लिएर अमेरिकाबाट नेपाल फर्किएका खनाललाई २०१७ सालमा राजा महेन्द्रले परराष्ट्र सचिव बनाए । उनलाई संयुक्त राष्ट्र संघको महासचिव बन्ने प्रस्ताव आउँदा मानेनन् । राष्ट्र संघमा साना सदस्य राष्ट्र भए पनि भूमिका सकारात्मक र महत्वपूर्ण हुन्छ भन्ने आवाज उनकै हो । नेपालले छिमेकी मुलुक चीन, भारत र अमेरिकासँग कस्तो सम्बन्ध राख्ने भन्ने सवालमा उनले तयार गरेका अध्ययन प्रतिवेदन आज पनि कामयावी छन् ।

आफ्नो कूटनीतिक ज्ञानका कारण पनि यदुनाथ खनाल कहिल्यै विवादमा परेनन् । खनालको कूटनीतिक व्यवस्थापकीय क्षमताका कारण नै चीन, भारत र अमेरिकासँगको सम्बन्धमा नेपाल सन्तुलित रहन सकेको ठहर गरिन्छ । यदुनाथ खनाललाई कदर स्वरुप गोरखा दक्षिण बाहु २०१९, त्रिशक्तिपट्ट प्रथम २०२१, डाक्टर अफ ल १९७४ अमेरिका, सरदार उपाधि २०३३, आदिकवि भानुभक्त आचार्य पुरस्कार २०५४ त्रिभुवन विश्वविद्यालयबाट सम्मानार्थ स्नातकोत्तर महाविद्यावारिधि २०५४ बाट उनी सम्मानित भएका थिए ।

२०६१ असोज १५ गते खनालले यो संसार त्याग गरे । १६ गते विहान जिन्दगीको अन्तिम स्टेसन पशुपति आर्यघाटमा उनको शव जलिरहँदा पुगनपुग दुई दर्जन व्यक्तिहरू मात्र भेला भएका थिए । विश्वका ठूलाठुला नेताहरू खनालबाट प्रभावित थिए, उनी स्वयम् विश्व प्रशंसित व्यक्तित्व थिए । विसं २०२५ साल माघ १६ गते बन्दीपुरको भीषण आन्दोलनमा निर्मल रानाभाटले घटनास्थलमै सहादत प्राप्त गरेपछि सदरमुकाम दमौली सारियो ।

सदरमुकामको शिल्यान्यास गर्ने क्रममा यदुनाथ खनालले मादी र सेती दोभान (जो व्यास गुफा नजिक छ ) बाट सोलीमा ढुङ्गा बोकेर जग हालेका थिए । उनको यो कामले सर्वसाधारण नागरिकलाई जनश्रमदान गर्न प्रेरित गरेको थियो भने सहकार्यको भावना विकसित गराएको थियो । उनकै पहलमा सदरमुकाम दमौली बजारको ‘टाउन प्लानिङ भएको मानिन्छ ।
साहित्य समालोचना लेखन र प्राध्यापनबाट उनी प्रशासन, परराष्ट्र मामिला र कूटनीतिक क्षेत्रका टावर पर्सनालिटी बन्न पुगे । ९२ वर्षको जीवन समयमा उनले ५० वर्ष कूटनीतिक क्षेत्रमा योगदान दिएको पाइन्छ । समग्रमा खनाल नेपालको पुनर्जागरण कालका भाषा, साहित्य, समालोचना, शिक्षा, कूटनीति प्रशासन र परराष्ट्र मामिलाका टावर पर्सनालिटी नै हुन् ।

तपाईको प्रतिक्रिया