५० औं थाक खेलकुदः पुरुषतर्फ कोवाङ, महिलातर्फ टुकुचे च्याम्पियन

सुन्दरकुमार थकाली २०७९ असोज ९ गते १०:४८

जोमसोम ।
मुस्ताङकै जेठो खेलकुद प्रतियोगिता थाक च्याम्पियनसीपको पुरुष भलिबलतर्फ धौलागिरी युवा क्लब कोवाङ र महिला भलिबलतर्फ नीलगिरी युवा क्लब टुकुचे च्याम्पियन बनेका छन् । शनिवार भएको फाइनलबाट कोवाङ र टुकुचे पुरुष तथा महिला भलिबल च्याम्पियन बनेका हुन् ।

धौलागिरी युवा क्लब कोवाङले (३–०)को सोझो सेटमा अन्नपूर्ण युवा क्लब ताक्लुङलाई पराजित गरेको हो । यस्तै, महिलातर्फ अन्नपूर्ण युवा क्लब ताक्लुङलाई हराउँदै नीलगिरीले उपाधि सुरक्षित गर्‍यो । बुधबारदेखि जारी थाक च्याम्पियनसीप भलिबल प्रतियोगिताको सेमीफाइनलमा मिलिजुली युवा क्लब मार्फालाई हराउँदै धौलागिरी फाइनलमा पुगेको थियो । महिलातर्फ निर्मल स्पोर्टिङ क्लब लेतेलाई हराउँदै नीलगिरी फाइनल गएको थियो ।

५० औं थाक च्याम्पियनसिपका विजेता धौलागिरी युवा क्लब कोवाङ र नीलगिरी युवा क्लव टुकुचेले नगदसहित सिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र पाएका छन् । विजेताहरुलाई थाक खेलकुद तथा सांस्कृतिक विकास संघ अध्यक्ष चन्द्रमोहन गौचन, थासाङ गाउँपालिका अध्यक्ष प्रदीप गौचन र घरपझोङ गापाका अध्यक्ष मोहनसिंह लालचनले पुरस्कार वितरण गरे ।

Advertisement

तारो हान्ने खेलमा निर्मल स्पोटिङ क्लब (लेते)च्याम्पियन बनेको छ । शुक्रबार भएको प्रतियोगितामा ७ डोरमा ६१ अंक बटुल्दै निर्मल स्पोर्टिङले उपाधि जितेको हो । यस्तै, नीलगिरी क्लब (टुकुचे) ७ डोरमा ५८ अंक जोड्दै उपविजेता बन्यो । आर्चरीमा निर्मल स्पोर्टिङका साजन शेरचन उत्कृष्ट खेलाडी घोषित भए ।

कृषि मेला प्रर्दशनीमा जिल्लाका विभिन्न किसानलाई पुरस्कृत गरिएको छ । थासाङ गाउँपालिकाको कृषि शाखाबाट आयोजना गरिएको कृषि मेला प्रर्दशनीमा खाद्यबाली, फलफूल तथा तरकारी लगायतमा प्रतियोगिता भएका थिए । २०२७ देखि निरन्तर भएको प्रतियोगिता कोरोना कहरका कारण २ वर्षसम्म सञ्चालन हुन सकेको थिएन । बर्सेनि अन्तर क्लबस्तरीय प्रतियोगिता आलोपालो आयोजना हुने गरेकोमा यस पटक अन्नपूर्ण युवा क्लब ताक्लुङले आयोजना गरेको हो ।

Advertisement

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया