भोकमरी रोक्न उत्पादन बढाऔंः अर्थमन्त्री

समाधान संवाददाता २०७९ असोज १३ गते १४:०६

पोखरा ।
गण्डकीका अर्थमन्त्री रामजीप्रसाद बराल ‘जीवन’ले नेपालमा भोकमरी आउन नदिन समयमै उत्पादनमा ध्यान दिनुपर्ने बताएका छन् । पोखरा २२ मा रहेको सक्रिय महिला विकास बचत तथा ऋण सहकारीको बुधबार भएको २२ औं साधारण सभामा उनले नेपालमा भोकमरी समस्या आउन सक्ने भएकाले समयमै उत्पादन बढाउनेतर्फ योजनावद्ध प्रयास गर्नुपर्ने बताए ।

भारतले कुनै पनि समयमा नाकाबन्दी गरेमा नेपालमा केही महिनामै भोकमरी समस्या उत्पन्न हुने हुँदा हरेक गाँउमा कृषि उत्पादन गर्नुपर्ने उनको भनाइ छ । खेतबारी बाँझै हुनु र मैदानी भागमा घर बन्दाले नेपालको उत्पादनमा ह्रास आएको मन्त्री बरालको भनाइ छ ।

महिलालाई सामाजिक तथा आर्थिक रुपमा सक्षम बनाउनुपर्ने जनाउँदै उनले समानुपातिक र समावेसीको मुद्दाले समाजमा पछि पारिएका विभिन्न समुदाय र महिलालाई अघि बढाएको बताए । उनले जमिनको वैज्ञानिक परीक्षण गरी उत्पादनको योजना बनाउनुपर्ने उनको जोड छ ।

Advertisement

जिसस कास्की संयोजक लीलाधर पौडेलले पछिल्लो समय आम्दानीको स्रोत बढ्दै गएकाले पुँजीलाई उचित ढंगलले प्रयोग गर्न आग्रह गरे । पोखरा २२ का वडाध्यक्ष हिमलाल बरालले कृषि क्षेत्रको प्रबद्र्धन हुने गरी उत्पादन क्षेत्रमा लगानी गरी आत्मनिर्भर बन्न आग्रह गरे । जिल्ला सहकारी संघका कोषाध्यक्ष नवराज बरालले समयसापेक्ष संस्थालाई प्रविधि मैत्री बनाउन सुझाव दिए ।

संस्थाका अध्यक्ष लक्ष्मीदेवी पौडेल बरालको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा २२ का वडा सदस्य सीतादेवी विक, निर्वमान अध्यक्ष कमला बराल, राष्ट्रिय सहकारी बैंक पोखराका नरेश पाण्डे, शुक्रराज माविका प्राचार्य नरनाथ बराल, सेयर सदस्य विशेश्वरी बराल, सहकारीकर्मी कोपिला पौडेल, सहसचिव सावित्रा ढुंगाना पौडेल, सदस्य सर्मिला पराजुली लगायतले बोलेका थिए ।

Advertisement

सभामा निवर्तमान अध्यक्ष कमला बरालसहित विभिन्न क्षेत्रमा उत्कृष्टता हाँसिल गर्ने सेयर सदस्यलाई सम्मान गरिएको छ । २०५६ मा ९९ सेयर सदस्यबाट सुरु भएको सहकारीमा हाल १ हजार १ सय ८४ सेयर सदस्य छन् । संस्थाको शेयर पुँजी २ करोड १४ लाख ३५ हजार ५ सय छ ।

तपाईको प्रतिक्रिया