बुद्ध मण्डलालाई ६ लाख सहयोग

समाधान संवाददाता २०७९ असोज २४ गते १३:११

पोखरा ।
तमु धिं जापानले पोखरा ११ काँहुडाडामा निर्माण हुने धर्मकाया बुद्धमण्डलालाई ६ लाख १ हजार १ सय रुपैयाँ प्रदान गरेको छ । तमु धिं नेपालमा निर्माणाधीन गुरुङ संग्रहालयलाई ५१ हजार १ रुपैयाँ, तमु(गुरुङ)कलाकार संघ गण्डकी प्रदेश समितिलाई ५१ हजार १ रुपैयाँ र तमु (गुरुङ)कलाकार संघ केन्द्रीय समितिलाई ५१ हजार १ रुपैयाँ तमु धिं जापानले सहयोग गरेको छ ।

धर्मकाया बुद्ध मण्डला तथा विकास समितिद्वारा बुद्ध मण्डला निर्माणस्थलमा आयोजित कार्यक्रममा तमु धिं जापानका संरक्षक ईश्वर गुरुङ, चर्चित गायक राजु लामा, तमु धिं जापानका पूर्व अध्यक्षहरु ओमप्रकाश गुरुङ, श्रीभक्त गुरुङ, श्रीजंग गुरुङ, एनआरएनए जापान अध्यक्ष शिव पौडेल लगायतले उक्त सहयोग रकम धर्मकाया बुद्धमण्डला निर्माण तथा विकास समितिकी अध्यक्ष रुद्रकुमारी गुरुङ मैना, तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, तमु(गुरुङ)कलाकार संघ गण्डकी प्रदेश समितिका अध्यक्ष सुरेन्द्र गुरुङलाई हस्तान्तरण गरे ।

तमु धिं जापानको वार्षिक कार्यक्रम अन्तर्गत गत २१ ऋगस्टमा जापानमा भएको २४ औं रोधीं साँझ २०२२ बाट बचत रकममध्येबाट नेपालको पर्यटन प्रवद्र्धन, सँस्कृति संरक्षण र विकासका लागि सहयोग गरिएको हो । बुद्ध मण्डला निर्माण सहयोगार्थ आयोजित रोधी साँझ एवम कन्सर्टमा मंगोलयन हर्टका चर्चित गायक राजु लामाको विशेष सांगीतिक प्रस्तुति गरी तमु धिं जापानले सहयोग संकलन गरिएको कार्यक्रम संयोजक तथा तमु धिं जापानका संरक्षक ईश्वर गुरुङले जानकारी दिए ।

Advertisement

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले तमु धिं जापानले पोखरा र राष्ट्रको विकासका लागि गरेको सहयोग एवं पहलको प्रशंसा गरे । काहुँडाँडामा बुद्ध मण्डला निर्माणका लागि पोखरा महानगरपालिकाको तर्फबाट आवाश्यक बजेट, योजना, आवाश्यक प्रक्रियागत कार्यहरुमा पूर्ण रुपमा सघाउने बताए । तमु धिं जापानका संरक्षक गुरुङले बुद्ध मण्डला निर्माणमा एक ईंटा थप्न खोजेको जनाए । मंगोलियन हर्टका चर्चित गायक राजु लामाले पुण्यकर्मका लागि आयोजित कार्यक्रममा आफूले सहभागिता जनाएर सघाउन पाएकोमा खुसी व्यक्त गरे । उनले आगामी दिनमा पनि सघाउने प्रतिवद्धता जनाए ।

गैर आवासीय नेपाली संघ जापान अध्यक्ष शिव पौडेलले मण्डला निर्माणको अभियानमा एनआरएनए जापान पनि सघाउन तयार रहेको उल्लेख गरे । पोखरा महानगरपालिका वडा नं.११ का वडाध्यक्ष प्रेमप्रसाद कर्माचार्यले बुद्ध मण्डला निर्माणका लागि वडा, महानगरपालिका सहयोग गर्न तयार रहेको बताए । तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले तमु धिं जापान एवम सहयोगीलाई धन्यवाद दिए । उनले बुद्ध मण्डला निर्माणका लागि आगामी दिनमा चर्चित गायक राजु लामा, राजेश पायल राई लगायतका गायकसहितको भव्य सांगीतिक कार्यक्रम गरी बुद्ध मण्डला निर्माणको अभियानलाई सहयोग र प्रचार गर्ने इच्छा सुनाए । उनले तमु धिं जापानले विदेशी भूमिमा रहेर बुद्ध मण्डला निर्माणार्थ उदाहरणीय अभियान थालनी गरी सहयोग गरेकोमा आभार प्रकट गरे ।

Advertisement

धर्मकाया बुद्ध मण्डला विकास तथा व्यवस्थापन समितिकी अध्यक्ष रुद्रकुमारी मैना गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा मण्डला निर्माणको ऐतिहासिकता, उद्देश्य, भइरहेका गतिविधि र योजनाबारे उपाध्यक्ष राजबहादुर गुरुङले प्रष्ट पारे भने अर्का उपाध्यक्ष भरतराज शाक्यले स्वागत र सचिव पूर्ण लामा ह्योल्मोले कार्यक्रम सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया