बेनी–जोमसोम सडक ६ दिनपछि खुल्यो

सुन्दरकुमार थकाली २०७९ असोज २५ गते १०:४६

जोमसोम ।
निरन्तरको वर्षाले अवरुद्ध बेनी जोमसोम राजमार्ग अन्नतः ६ दिनपछि खुलेको छ । अवरुद्ध बेनी–जोमसोम सडक मर्मतपछि सोमबार दिउँसो ४ बजेबाट सञ्चालनमा आएको हो ।

अविरल वर्षाले राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकको म्याग्दी खण्ड र मुस्ताङ खण्डमा दर्जनौं स्थानमा पहिरो गएको थियो । ठाउँ ठाउँमा नदी कटानले समेत क्षति पुर्‍याएपछि बेनी–जोमसोम सडकको सिधा सम्पर्क बिच्छेद भएको थियो । म्याग्दी र मुस्ताङ खण्डमा सडक अवरुद्ध भएपछि सडक खुलाउने निरन्तर प्रयास गरेपछि सडक सहज बनाउन अप्ठ्यारो परेको थियो ।

दसैं सकिएलगत्तै आईतबारदेखि मौसममा सुधार भएको र वर्षा रोकिएकाले ठाउँमा सडक उपकरण प्रयोग गरेर सडक मर्मत गरी सडक सञ्चालनमा ल्याउन सफल भएको आयोजनाका सुपरभाइजर ईन्द्रसिंह शेरचनले जानकारी दिए ।

Advertisement

‘हामीले अवरुद्ध बेनी–जोमसोम सडक सुचारु गर्न अहोरात्र प्रयत्न गर्‍यौं तर वर्षाले अवरोध पु¥यायो,’ शेरचनले भने, ‘वर्षा रोकिएकाले सडक मर्मतलाई तीव्रता दिएर सोमबारबाट सडक सञ्चालनमा ल्याउन सक्यौं ।’ ७६ किमी बेनी–जोमसोम सडकको घुमाउने ताल, बेगखोला, बैसरी, गुइठे, लाटो खोला, दाना ,रुप्से, काभ्रेभीर लगायतका स्थानमा बाढी, पहिरो र नदी कटानले क्षति गरेको थियो ।

आइतबारदेखि मुस्ताङ खण्डसमेत सहज भएको छ । बाढी, पहिरो र नदी कटानले मुस्ताङको मार्फा, खन्ती, एक्लेभट्टी, पान्डा खोला, मुक्तिनाथ जाने सडक र कागबेनी छुसाङ लगायतका दर्जनौ स्थानमा सडक अवरुद्ध भएको थियो । मुस्ताङको मार्फाका २ स्थानमा झन्डै एक किमी बाटो बाढीले क्षति गरेको थियो ।

Advertisement

स्थानीय प्रशासन, घरपझोङ गाउँपालिका, वारागुङ मुक्तिक्षेत्र गाउँपालिका, सुरक्षा निकाय र स्थानीयको सक्रियतामा मुस्ताङ सडक आइतबारदेखि सहज पारिएको प्रहरी नायब उपरीक्षक रवीन्द्रनाथ पौडेलले जानकारी दिए ।

बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङ भ्रमण गर्ने पर्यटक तथा तीर्थयात्री बिचल्लीमा परेका थिए । सडक सहज भएसँगै मुस्ताङको जोमसोम लगायत मार्फा, टुकुचे, लेते घाँसा र तातोपानीमा बसेका पर्यटक गन्तव्यतर्फ लागेका छन् । म्याग्दी र मुस्ताङ सडक सहज भएसँगै बीच सडकमा अलपत्र परेका दर्जनौं सवारी साधन गन्तव्यमा प्रस्थान गरेको सडक सुपरभाइजर शेरचनले जानकारी दिए ।

बेनी जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङमा लगातार ८ दिनदेखि खाद्यान्न, इन्धन र अत्यावश्यक सामग्री ढुवान हुन सकेको थिए । मुस्ताङमा उत्पादित स्याउ पोखरा, काठमान्डौं लैजान सकिएको थिएन । बेनी–जोमसोम सडक अवरुद्ध हुँदा दसैं बिदामा मुस्ताङ भ्रमण गर्न चाहेका पर्यटकसमेत आउन सकेका थिएनन् ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया