हुलाक दिवसमा विभिन्न कार्यक्रम

समाधान संवाददाता २०७९ असोज २५ गते ११:५६

पोखरा ।
हुलाक निर्देशनालय पोखराले विविध कार्यक्रम गरी विश्व हुलाक दिवस २०७९ (९ अक्टोबर) मनाएको छ । हुलाक दिवसको अवसरमा कार्यालय परिसर सरसफाइ, वृक्षरोपण, हाजिरीजवाफ प्रतियोगिता, सेवाग्राही तथा उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको हुलाक निर्देशनालयका हुलाक निर्देशक कीर्तनराज पौडेलले जानकारी दिए ।

पहिलो चरणमा सरसफाइ तथा दोस्रो चरणमा फूलका बिरुवा रोपिएको छ । हुलाकका सेवाग्राही पोखरा अर्चलबोट निवासी लिल पुन र अस्ट्रेलियन नागरिक माइल्स योगलाई निर्देशक पौडेलले टीका, खादा, कलम डायरीसहित सम्मान गरे ।

इलाका हुलाक स्तरीय हाजिरी जवाफ प्रतियोगितामा नीर्मलराज बराल र सनमबहादुर क्षेत्रीको समूह प्रथम भएको छ । प्रतियोगितामा ६ समूहले भाग लिएका थिए । प्रतियोगितामा विजयीलाई नगद पुरस्कार तथा सहभागीलाई प्रमाणपत्र प्रदान गरियो ।

Advertisement

कार्यक्रममा हुलाक निर्देशनालयमा कार्यरत हल्कारा केशवनाथ पौडेल उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरिएको छ । निर्देशक पौडेलले उत्कृष्ट कर्मचारी पौडेललाई दोसल्ला ओढाएर नगद पुरस्कारसहित सम्मान गरे । ज्येष्ठ तथा उत्कृष्ट कर्मचारी छनोटको लागि निर्देशनालयका शाखा अधिकृत तथा सूचना अधिकारी तुलसी आचार्यको संयोजकत्वमा गठित समितिले विभिन्न मापदण्ड तयार गरी सिफारिस गरेको थियो ।

निर्देशनालयका सूचना अधिकारी तुलसी आचार्यको संयोजकत्व भएको कार्यक्रममा निर्देशक पौडेलले विश्व हुलाक दिवसका सबै कार्यक्रमलाई सफल पार्न खट्ने कर्मचारीलाई धन्यवाद ज्ञापन गर्दै समय सापेक्ष र गुणस्तरीय सेवा प्रदान गर्न मातहतका कर्मचारीलाई निर्देशन दिए ।

Advertisement

कार्यक्रममा दीप प्रज्वलन गर्नुका साथै विजयादशमीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको हुलाक निर्देशनालयका सूचना अधिकारी आचार्यले जानकारी दिए ।

तपाईको प्रतिक्रिया