नवौं राष्ट्रिय खेलकुद

सबै जिल्लामा तयारी पूरा

समाधान संवाददाता २०७९ असोज २६ गते ११:०१

गण्डकी ।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता असोज २८ गते औपचारिक रुपमा उद्घाटन हुने भए पनि केही खेल भने सुरु भइसकेका छन् । पुरुष क्रिकेट भइसकेको छ भने महिला क्रिकेट असोज २३ गतेदेखि सुरु भएको छ । प्रतियोगिताकै महिला तथा पुरुषतर्फको ह्यान्डबल र फेन्सिङ सोमबारबाट सुरु भएका छन् ।

प्रतियोगिताका लागि आएका खेलाडीको चहलपहलले पोखरा खेलमय बनेको छ । ३६ खेलमा प्रतिस्पर्धा हुने राष्ट्रिय खेलकुदमा क्यानोनिङ र छेलोका प्रदर्शनी खेलसमेत हुने छन् । प्रतियोगिताका अधिकांश खेल पोखरामा नै हुनेछन् भने केही लमजुङ, मनाङ र मुस्ताङ बाहेक गण्कडीका सबै जिल्लामा हुनेछन् ।

२०३८ देखि सुरु राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत २०४० मा दोस्रो राष्ट्रिय खेलकद गरेको पोखराले ४ दशकपछि घरेलु मैदानमा खेल आयोजना गरेको छ । ८ हजार खेलाडीसहित अफिसियल, प्रशिक्षकसमेत गरी करिब १० हजारसहभागी हुने प्रतियोगिता राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ ।

Advertisement

कात्तिक ३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि कास्कीसहित तनहुँ, स्याङ्जा, पर्वत, गोरखा, नवलपुर, म्याग्दी र बाग्लुङमा खेलस्थल तोकिएको खेलमैदान व्यवस्थापन उपसमितिका संयोजक एवम् राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङले जानकारी दिए ।

गण्डकीका सबै जिल्लामा कम्तीमा १ खेल खेलाउने भनिए पनि पूर्वाधार लगायतका कारण लमजुङ, मनाङ र मुस्ताङमा भने यस पटक कुनै पनि प्रतियोगिता हुने छैनन् । ७ प्रदेशसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी ३ विभागीय र एक गैर आवासीय नेपाली संघ (एनआरएन) गरी ११ टिमबीच प्रतिष्पर्धा हुनेछ । स्वर्ण ३ सय ९३, रजतः ३ सय ९३ र कास्य ६ सय पदका लागि प्रतिष्पर्धा हुनेछ ।

Advertisement

खेलकुद अन्तर्गत एथलेटिक्स, महिला क्रिकेट र ब्याडमिन्टन पोखरा रंगशालामा खेलाइनेछ । पुरुष फुटबल, टेनिस, बक्सिङ, भलिबल पुरुष, जिमन्याष्टिक, ह्याण्डबल पुरुष तथा महिला, सफ्ट टेनिस, स्क्वास र उसु प्रतियोगिता पोखरा रंगशालामा हुनेछ ।

जुडो र ‘फुल कन्ट्याक्ट’ कराँते पोखराको प्रदर्शनी हल तथा शारीरिक सुगठन पोखरा सभागृहमा खेलाइनेछ । पौडी पोखराका फिस्टेल एकेडेमी, हक्की महिला गण्डकी बोर्डिङ स्कुल, भारत्तोलन पोखरा उद्योग वाणिज्य संघको सभाहल, गल्फ पोखरा हिमालयन गल्फ कोर्स, साइक्लिङ, ट्रायथोलन र प्याराग्लाइडिङ पनि पोखरामै हुनेछ । आर्चरी, फेन्सिङ पोखरा रंगशालामा हुनेछ । रग्बी भण्डारढिक खेल मैदान, कबड्डी महिला पुरुष दुवै रञ्जित पार्टी प्यालेस रानीपौवा, खोखो पोखरा रंगशालाभित्रको ह्यान्डबल एकेडेमीमा खेलाइने भएको छ ।

नेपालगञ्जमा भएको आठौँ राष्ट्रिय खेलकुदमा गण्डकीले १ स्वर्ण र ७ रजत पदक हात पारेको थियो । नवौँमा आइटिएफ तेक्वान्दोतर्फ २९ स्वर्ण, २९ रजत र ५८ कास्य पदकका लागि खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगिताको मुख्य आयोजनास्थल पोखरा भएपनि जिल्ला तहमासमेत खेलस्थल तय हुँदा स्थानीय खेल पदाधिकारी र खेलप्रेमी उत्साहित छन् । जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष लोकेन्द्र केसीले प्रतियोगिताले खेलसँगै जिल्लाको पर्यटन प्रवद्र्धनमा पनि सघाउ पुग्ने बताए ।

प्रतियोगिता अन्तर्गत स्याङ्जा जिल्लाको वालिङमा महिला फुटबल प्रतियोगिता हुनेछ । वालिङ नगरपालिका वडा नं ८ स्थित खेल मैदानमा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जिल्ला खेलकुद विकास समिति स्याङ्जाका अध्यक्ष गिरीबहादुर (मोहन) गुरुङले जानकारी दिए । असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म नवौं राष्ट्रिय खेलकुदका कार्यक्रम हुने भए पनि महिला फुटबल भने एकदिनअघि असोज २७ गतेबाट सञ्चालन हुने भएको हो ।

पर्वतमा हुने कराँतेको तयारी पूरा भएको छ । प्रतियोगिता कुश्मा बजारको बगाउँस्थित जिल्ला खेलकुद विकास समितिको हलमा सञ्चालन हुनेछ । करातेतर्फ चार प्रदेश तथा आर्मी, प्रहरी, सशस्त्र प्रहरी तथा एनआरएनए सहित ११ वटा टिमले प्रतिष्पर्धा गर्ने छन् । प्रतियोगितामा ११ वटै टिमबाट ३२ जनाका दरमा करिब चार सय खेलाडी, हरेक टिमका दुई÷दुई जना कोच, राष्ट्रिय र अन्तर्राष्ट्रिय कोचसमेत गरी एक सय ३० जना अफिसियलको सहभागिता रहने जनाइएको छ ।

म्याग्दीको बेनीमा महिला भलिबल र तेक्वान्दोको प्रतिस्पर्धा हुँदै छन् । गोरखामा हुन लागेको बुद्धिचाल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । यहीँ असोज २७ गतेदेखि कात्तिक २ गतेसम्म गोरखा सदरमुकाम स्थित गोरखा क्याम्पसको हाताभित्र भित्र हुन लागेको प्रतियोगिताका लागि आवश्यक पूर्वाधार निर्माण लगायतका व्यवस्थापनका काम अन्तिम चरणमा पुगेको जिल्ला खेलकुुद विकास समितिका अध्यक्ष शान्तसिंह बस्न्यात जानकारी दिए ।

पूर्वी नवलपरासीमा नवौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा पुगेको छ । जिल्लामा कुस्ती र सेपाताक्रोको प्रतियोगिता हुने र त्यसको तयारी तयारी अन्तिम चरणमा पुगेको जिल्ला खेलकुद विकास समिति नवलपुरका कार्यालय प्रमुख विष्णुलाल श्रेष्ठले जानकारी दिए । प्रतियोगिताको कुस्तीतर्फ १ सय ५८ र सेपाताक्रोतर्फ ८४ जना गरी २ सय ४२ जना खेलाडीले भाग लिने छन् । प्रतियोगिताको कुस्ती थारु राष्ट्रिय सङ्ग्रहालय डन्डा र सेपाताक्रो कावासोतिस्थित योङ्ग स्टार क्लबको कभर्ड हलमा हुनेछ ।

तपाईको प्रतिक्रिया