पदक विजेतालाई महानगरले सम्मान गर्ने

समाधान संवाददाता २०७९ असोज २७ गते १२:२१

पोखरा ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने पोखरा महानगरपालिकाका खेलाडीलाई बुधबार एक कार्यक्रमबीच सम्मानसहित जितको शुभकामना दिइएको छ ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसहित उपमेयर मञ्जुदेवी गुरुङ, कार्यपालिका सदस्य, प्रमुख कार्यकारी अधिकृत वीरेन्द्रदेव भारती, महानगरका खेल पदाधिकारी, प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङ लगायतको उपस्थितिमा १ सय ५० बढी खेलाडीलाई सम्मानसहित शुभकामना व्यक्त गरिएको हो ।

महानगर खेलकुद विकास समितिले आयोजनामा गरेको कार्यक्रममा खेलाडीलाई शुभकामना दिँदै प्रमुख आचार्यले प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडी नगदसहित सम्मान गरिने जानकारी दिए । ‘यस प्रतियोगितामा सहभागी हुने खेलाडी साथीहरूलाई जितको अग्रिम शुभकामना छ । तपाईहरुले कुनै पनि खेल वा विद्यामा पदक प्राप्त गर्ने बित्तिकै महानगरपालिकाको तर्फबाट विशेष पुरस्कार प्रदान गर्ने व्यवस्था समेत हामीले गरेका छौं ।’

Advertisement

पोखरा महानगरवासी खेलाडीको नेतृत्वमा गण्डकी प्रदेशले प्रतियोगिताको ऐतिहासिक ट्रफीमाथि आफ्नो नामको इतिहास कोर्ने विश्वाससमेत प्रमुख आचार्यले व्यक्त गरे । ‘नेपाली खेलकुदको इतिहासमा पहिलो पटक राष्ट्रिय खेलकुद परिषद्ले १० किलो चाँदी र २ टोला सुनको सुन्दर ट्रफी निर्माण गरेको छ, हाल त्यो नेपाल प्रहरीको सुरक्षामा प्रदेश प्रहरी कार्यालयमा राखिएको छ,’ उनले भने, ‘प्रतियोगिताको समापनमा प्रधानमन्त्रीको हातबाट यो ट्रफी विजेता प्रदेशलाई प्रदान गरिनेछ, त्यो प्रदेश गण्डकी बनोस् ।’

३९ वर्षपछि पोखरामा हुने यो प्रतियोगितामा पोखरा महानगरपालिकाका २ सय बढी खेलाडीको सहभागिता रहने महानगर खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए । ती खेलाडीले २६ बढी खेलमा प्रतिस्पर्धा गर्नेछन् । यसअघि २०४० सालमा दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेश (तत्कालीन पश्चिमाञ्चल विकास क्षेत्र) मा भएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया