स्वर्ण सपनाको दुःखान्त

रिखिराम जीसी २०७९ असोज ३१ गते १५:४६

पोखरा ।
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत प्याराग्लाइडिङका खेलहरु शनिबारबाट सुरु थियो । आइतबार पनि शनिबारजस्तै प्रतिस्पर्धा गर्न २५ जना खेलाडी अफिसियल, रेफ्री पोखरा महानगरपालिका २५, सराङकोट पुगे ।

सराङकोट पुगेपछि प्याराग्लाइडिङ प्रशिक्षक तथा रेफ्री सुरेन गुरुङले सहभागी सबै खेलाडीलाई प्याराग्लाइडिङ टेक अफ गर्ने ठाउँमा लगे । खेलाडीहरुलाई नियम र ध्यान दिनुपर्ने कुराहरु जानकारी गराउँदै आवश्यक तयारी पूरा गरे । पहिला रेफ्री सुरेन हावाको चाप र मौसमका अवस्था बुझ्न सबैभन्दा पहिले प्याराग्लाइडिङमा उडे ।

हावाको चाप सामान्य भएपछि खेलाडीहरुले उड्ने अनुमति दिए । २५ जना खेलाडीमध्ये पहिले उडेका खेलाडी थिए निसिम थापा । तर उड्नासाथै प्याराग्लाइडिङले आकाशको सट्टा भुइँको बाटो समायो । ग्लाइडर निर्माणाधीन घरमाथि खस्यो र खस्यो निसिमको जीवन पनि । निसिमले आइतबारै अन्तिम सास फेरे ।

Advertisement

ग्लाइडर खसेपछि उनलाई तत्काल स्वास्थ्यकर्मीसहितको टोलीले उद्धार गरी उपचारका लागि मेट्रोसिटी अस्पताल लगिएता पनि तर डाक्टरले मृत घोषणा गरे । ‘उडान लगत्तै उनको प्याराग्लाइडिङ ‘कोल्याप्स’ भयो,’ एक प्रत्यक्षदर्शीले भने, ‘उनी सोझै पोखरा १८ सराङकोटस्थित एक निर्माणाधीन भवनमा खस्न पुगे । जहाँ उनको निधन भयो ।’

प्याराग्लाइडिङमा अनुभव भएका निसिमसँग देश तथा विदेशमा प्याराग्लाइडिङ प्रतियोगितामा भाग लिएको र जितेको अनुभव पनि थियो । उनले नेपाल च्याम्पियन लिगमा पटक पटक प्याराग्लाइडिङको उपाधि जितेका थिए । उनले भारत, कोरिया, इन्डोनेसिया लगायतका देशमा प्याराग्लाइडिङ इभेन्टमा पनि सहभागिता जनाइसकेका थिए । उनी प्याराग्लाइडिङ खेलाडीहरुको छाता संस्था एफएआईका कम्पिटिसन वरियता प्राप्त खेलाडीसमेत हुन् । गोरखा पालुङटार स्थायी घर भएका २६ वर्षे निसिम परिवारसँगै पोखराको हस्पिटल चोक बस्थे । उनी त्रिभुवन आर्मी क्लबमा नवौं राष्ट्रिय खेलकुदका लागि करारमा अनुबन्ध भएका थिए ।

Advertisement

निसिम राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जित्न चाहन्थे । स्वर्ण पदकका लागि मिहेनत गरेका उनी कहिल्यै नफर्किने गरी सधैका लागि संसारबाट विदा भएका छन् । पोखराका आकाशमा निसिमको प्रतिस्पर्धात्मक प्याराग्लाइडिङ उडान यो पहिलो थियो । त्यही नै अन्तिम बन्यो ।

प्याराग्लाइडिङ खेलको प्रसंगमा सबैभन्दा अगाडि पोखराको नाम लिइन्छ । अधिकांश प्याराग्लाइडिङ उडान पोखराकै आकाशमा हुन्छ । लुम्बिनी प्रदेशमा भएको आठौं राष्ट्रिय खेलकुद प्याराग्लाइडिङलाई समावेश गरिएको थियो । जुन बेला प्याराग्लाइडिङ पोखराकै आकाशमा भएको थियो । जसमा निसिमले आर्मीबाटै खेलेका थिए र त्यो बेला आर्मीले रजत पदक जितेको थियो । दिवंगत निसिम उनका आमाबाबुका एक्लो सन्तान हुन् ।

प्याराग्लाइडिङ प्रतियोगितमा त्रिभुवन आर्मी, एपीएफ, गण्डकी, कर्णाली र प्रदेश नम्बर १ का २५ खेलाडी सहभागी थिए । खेलका क्रममा खसेर खेलाडीको मृत्यु भएपछि नवौं खेलकुद अन्तर्गत प्याराग्लाइडिङ खेल स्थगित भएको छ । खेलाडीको मृत्युपछि प्याराग्लाइडिङ खेलहरु अनिश्चितकालका लागि स्थगित गरिएको नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघले जनाएको छ । जसले गर्दा प्रतियोगिता अनिश्चित बनेको छ ।

देशभर सञ्चालनमा रहेका प्याराग्लाइडिङ उडान बन्द गर्न नागरिक उड्डयन प्राधिकरणले निर्देशन दिएको छ । प्राधिकरणबाट अर्काे सूचना जारी नभएसम्म प्याराग्लाइडिङ देशैभर बन्द गराउन निर्देशन दिएको हो । हवाई क्षेत्रसँग सम्बन्धित यो खेललाई थप व्यवस्थित बनाउन तत्काल बन्द गर्ने निर्णय भएको प्राधिकरणले जनाएको छ ।

थिएन अनुमति
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत प्याराग्लाइडिङ उडानका लागि अनुमति नलिएको पाइएको छ । प्याराग्लाइडिङ उडानका लागि प्राधिकरणसँग अनुमति लिनुपर्ने कानुनी व्यवस्था भएपनि राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले प्रतियोगिता सञ्चालनका लागि अनुमति नलिएको पाइएको छ ।

नागरिक उड्डयन कार्यालय पोखराका प्रमुख विक्रम गौतमका अनुसार राखेपले प्राधिकरणको कुनै पनि कार्यालयबाट अनुमति लिएको छैन । ‘अनुमति लिनुपर्ने हो, आयोजकले के गर्नुभो, कहाँ अनुमति लिनुभो, उडानका लागि हामीकहाँबाट उहाँहरुले नै अनुमति लिनुभएको छैन,’ गौतमले भने ।

मनोरञ्जनात्मक गतिविधि सम्बन्धी नियमावली २०६९ अनुसार प्रतिस्पर्धात्मक उडानको अनुमति प्राधिकरणसँग लिनुपर्छ । प्रतियोगितको बारेमा आफूहरुलाई जानकारी नभएको गौतमले बताए । ‘प्राधिकरण कसैलाई पनि नवौं राष्ट्रिय खेलकुदमा प्याराग्लाइडिङ उडान प्रतिस्पर्धा हुन्छ भनेर जानकारीसमेत नगराएनन्,’ उनले भने ।

दिवंगत खेलाडीलाई गोल समर्पण
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबलमा आइतबार नेपाल पुलिस क्लबविरुद्ध त्रिभुवन आर्मी क्लबका गोल ग¥यो । पोखरा रंगशालामा खेलको १५ औँ मिनेटमा आर्मीका नवयुग श्रेष्ठले गोल गरे । तर आर्मीका कुनै पनि खेलाडीले सेलिबे्रसन गरेनन् । जसको कारण थियो –आइतबार प्याराग्लाइडिङका क्रममा खसेर आर्मीका खेलाडी निसिम थापाको मृत्यु ।

गोल गरेप्रश्चात उनीहरु प्रशिक्षक रहेको लाइन नजिक गएर केहीबेर शीर झुकाएर मौन बसे । आइतबारै विहान त्रिभुवन आर्मीका प्याराग्लाइडिङ खेलाडीको निधन भएकोमा आफ्नो बेन्चमा पुगेर उनले गोल दिवंगत आत्मालाई समर्पण गरे । सो खेलमा आर्मीले पुलिसलाई २–० गोल अन्तरले पराजित गरेको छ । यससँगै आर्मी पुरुष फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आर्मीले पहिलो खेलमा लुम्बिनीलाई ४–० ले हराएको थियो ।

तपाईको प्रतिक्रिया