खेलाडी उत्साहित, दर्शक न्यून

समाधान संवाददाता २०७९ कार्तिक २ गते १०:५५

जमुना वर्षा शर्मा
पोखरा ।
‘एकताबद्ध देश, खेलकुदको सन्देश’ भन्ने नाराका साथ यतिबेला पोखरा रंगशालामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता भइरहेको छ । खेलप्रेमीका लागि यो एउटा उत्सव हो । अहिले कास्की र गण्डकी प्रदेशका ८ जिल्लामा विभिन्न ३६ खेलमा ६ हजार बढि खेलाडी मैदानमा उत्रेर खेल प्रदर्शन गरिरहका छन् । यद्यपि खेलाडीले सोही मात्रामा दर्शकको साथ भने पाउन सकेका छैनन् ।

पर्यटकीय राजधानी पोखराको खेल मैदानमा माछापुच्छ्रे र अन्नपूर्ण हिमशृंखलामा आँखा जुधाएर खेल्न पाउँदा खेलाडी जति उत्साहित छन् त्यति नै दर्शकको उपस्थिति हुन नसक्दा खेलाडीलाई निराश बनाएको छ ।

खेलाडीलाई उत्साह थप्ने दर्शकको साथ भने रंगशाला देखिएन, खेलाडी आफै चिच्याएर उत्साह थपिरहेका थिए

Advertisement

लमजुङका टेबल टेनिस खेलाडी प्रितम गुरुङ आफू पहिलोपल्ट राष्ट्रिय खेलमा भाग लिएको अनुभव सुनाउँदै भने, ‘म पहिलोचोटि राष्ट्रिय खेलमा भाग लिएको हुँ, उत्साहित छु, टेनिस डबलमा तेस्रो स्थान हासिल गर्न सफल भयौं, तर खेलमा दर्शकको उपस्थिति भने निकै न्यून छ ।’ खेलप्रतिको क्रेज बढ्दै गइरहेको सन्दर्भमा दर्शकको उपस्थिति पनि महत्वपूर्ण हुने उनको भनाइ छ ।

‘खेलाडीलाई उत्साह थप्ने नै दर्शकको साथमाया र हुटिङले हो तर सोचे जस्तो दर्शकको उपस्थित देखिएन,’ उनी भन्छन् । दर्शकको न्यून उपस्थिति हुनुमा व्यवस्थापकीय कमजोरी हुन सक्ने उनको बुझाइ छ ।

Advertisement

महिला क्रिकेटको राम्रो सम्भावना रहे पनि खेलाडीलाई उत्साह थप्ने दर्शकको साथ भने रंगशालाको क्रिकेट मैदानमा देखिएन । खेलाडी आफै चिच्याएर उत्साह थपिरहेका थिए, मैदान वरिपरि दर्शकको उपस्थिति थिएन ।

महिला क्रिकेट खेलकुद प्रतियोगिताका संयोजक सञ्जयकान्त सिग्देलले क्रिकेट खेलमा दर्शकको कमजोर उपस्थित हुनुमा व्यवस्थापकीय कमजोरी भएको स्वीकार्छन् । ‘हामीबाट कमजोरी भएका छन्,’ उनले भने, ‘यसअघिका प्रतियोगिता हेर्न आउने दर्शकलाई समेत हामीले ल्याउन सकेनौ, त्यसका विभिन्न कारण हुन सक्छन् ।’

चाडबाडको बेला र चुनावको रौनकले गर्दा पनि युवाहरु खेलभन्दा बढी राजनीतिक गतिविधिमा सक्रिय भएकाले कम भएको हुन सक्ने उनको अनुमान छ । दर्शकका लागि प्यारापिट बनाउन नसक्नु र राष्ट्रिय खेलमा धेरै इभेन्ट हुनु र दर्शकमा विकल्प खुला भएकाले पनि दर्शक पाउन नसकिएको सिग्देलले सुनाए ।

‘खेलका धेरै विकल्प भए यति शून्य हुन्छ भन्ने लागेको थिएन, यसलाई शिक्षाको रुपमा लिएका आगामी प्रतियोगितामा क्रिकेटप्रेमी दर्शकको उपस्थित बढाउन पहल गर्नेछौं,’ उनले भने । उनले पर्वत बागलुङसँगै केही जिल्लाका महिला खेलाडी आएर समेत खेल हेरेको जनाउँदै यसलाई भने सकारात्मक पक्षको रुपमा लिनुपर्ने सुनाए ।

तनहुँबाट राष्ट्रिय खेलमा पहिलोपल्ट सहभागिता जनाएकी ब्याटमिन्टन खेलाडी दिलाशा रानाले सोचे जस्तो दर्शकको उपस्थिति हुन नसकेको बताइन् । सिंगल ब्याटमिन्टनमा पराजित हुन पुगेपनि अब डबल, मिक्स डबल खेलमा आफ्नो उत्कृष्ट प्रदर्शन गर्न आतुर छिन् । ‘दर्शकहरुको एउटै रोजाइ हुन्न, जुन खेलमा रुचि राख्नुहुन्छ, त्यतै जानुहुन्छ अहिले धेरै खेल भइरहेका छन् । ब्याटमिन्टनमा दर्शकको भिड खासै देखिँदैन,’ उनले भनिन् ।

ह्यान्डबलतर्फ स्वर्ण पदक जित्न सफल गण्डकी प्रदेशका खेलाडी विशाल बस्नेतले अरु खेलमा भन्दा ह्यान्डमा आफूहरुले दर्शकको साथ राम्र्र्रै पाएको प्रतिक्रिया दिए ।
झण्डै दुई दर्जन बढी अन्तर्राष्ट्रिय खेलमैदानमा पुगेर खेलकुदको रिपोर्टिङ गरेको अनुभव संगालेका एसियाली खेलकुद पत्रकार महासंघका कोषाध्यक्ष एवं बिबिसी नेपाली सेवाका खेलकुद पत्रकार नीरञ्जन राजवंशी खेलकुदको कुम्भमेलालाई आयोजकले थप व्यवस्थित र प्रचारात्मक गतिविधि गर्न चुकेको बताउँछन् ।

उपराष्ट्रपति नन्दबहादुर पुनको उपस्थितमा भएको नवौं राष्ट्रिय खेलको औपचारिक उद्घाटन समारोहमा समेत प्यारापिट खाली देखिनु नै कमजोर व्यवस्थापनको नजिता भएको उनले बताए । ‘खेलले सिटी चिनाउँछ, खेलाडीको मनोबल उच्च बनाउने दर्शकको उपस्थिति निकै महत्वपूर्ण हुन्छ यद्यपि गण्डकीमा भएको खेलमा खेलाडी उत्साह लिएर खेलेपनि दर्शकको साथ सोचे जस्तो पाएनन्,’ उनले भने ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले खेलप्रेमी भएको पोखरामा दर्शकको उपस्थित बाक्लो हुनुपर्नेमा होस्ट गरेको गण्डकी प्रदेश र आयोजकबाट व्यवस्थापकीय कमी कमजोरी रहेको बताउँछन् । ‘पोखरा खेल पर्यटनको शहर पनि हो, यहाँ धेरै इभेन्ट हुँदै आएका छन्,’ उनले भने, ‘उस्तै मात्रामा खेलप्रेमी दर्शक पनि छन् तर खेलाडी उत्साह देखिएको यस प्रदेशमा दर्शकको उत्साहमा कमी देखियो ।’

राष्ट्रिय खेलकुद परिषद गण्डकी प्रदेशका सदस्य सचिव घनश्याम पौडेलले दर्शकको उपस्थिति कम हुनुमा हरेक खेलको प्रत्यक्ष प्रसारण भएकाले र अर्कोतर्फ कोरोना र डेंगुका कारण पनि भिडमा मान्छेको रुचि कम भएको हुन सक्ने बताउँछन् । ‘हामीले प्रचार प्रसारका लागि वडा तह देखिनै गरेका थियाैं, प्रचार प्रसारमा कमी भएजस्तो लाग्दैन तर अहिले भिडभाड भन्दा घरमै बसेर खेलको प्रत्यक्ष प्रसारण हेर्न मिल्ने भएकाले पनि दर्शकको उपस्थिति कमी भएको हो कि भन्ने हामीले अनुमान गरेका छौं,’ उनले भने । असोज २८ गते औपचारिक उद्घाटन भएको खेलको समापन असोज ३ गते समापन हुँदैछ ।

तपाईको प्रतिक्रिया