संसदमा प्रभावशाली: उम्मेदवारीमा हात खाली

नयाँलाई अवसर दिन प्रदेश छाडें

सञ्जय रानाभाट २०७९ कार्तिक ५ गते १३:०३

सञ्जय रानाभाट पोखरा ।
गण्डकी प्रदेश सभाले ५ वर्ष पूरा गरेपछि प्रदेश सभा सदस्यहरु बिदा भइसके । अब मंसिर ४ को निर्वाचनपछि नयाँ सदस्य आउने छन् । २०७२ मा ‘नेपालको संविधान’ बनेपछि ०७४ मा भएको निर्वाचनबाट गण्डकी प्रदेश सभामा ६० सदस्य निर्वाचित भएका थिए । कार्यकालको अन्त्यसम्म प्रदेश सभामा ५८ सदस्य कायम रहे ।

संघीयता कार्यान्वयनपछि स्थापित प्रदेश सभाको पहिलो कार्यकाल अनुभव र अभ्यासका हिसाबले नयाँ थियो । तर कतिपय प्रदेश सभा सदस्यले सांसदमा प्रभावशाली भूमिका निर्वाह गरे ।

संसदीय अभ्यास कानुन र विधिका आधारमा चल्छ । कतिपय अवस्थामा परम्परालाई पछ्याइन्छ । प्रदेश सभा मूलतः कानुन निर्माणको थलो हो । जनताको आवाज उठाउने ठाउँ हो । मुख्य काम कानुन निर्माण हुँदाहुँदै यसमा पटक्कै ध्यान नदिने रोग गण्डकीमा पनि देखा पर्‍यो ।

Advertisement

कानुन बनाउँदा के कस्ता प्रावधान राख्ने, के कस्ता कानुन बनाउने र त्यसमा के कस्ता प्रबन्ध गर्न सकिन्छ भन्नेतिर कमै प्रदेश सभा सदस्यले ध्यान दिएका थिए । तर केही प्रदेशसभा सदस्य थिए, जसले विधि र कानुनमा पनि ध्यान पुर्‍याए, जनताको आवाज पनि उठाए र प्रदेश स्तरमा संसदीय अभ्यास गरे ।

तर तीमध्ये कतिपयले दोहोरिएर प्रदेश सभा सदस्य बन्न आआफ्ना पार्टीबाट टिकट पाएनन् । प्रदेश सभामा प्रभावशाली उपस्थिति जनाएकामध्य एक प्रतिनिधि प्रदेश सभा सदस्य आशा कोइरालाबारे समाधनकर्मी सञ्जय रानाभाटले यहाँ समेट्ने जमर्काे गरेका छन् ।

Advertisement

आशा कोइराला
संसद बैठकको शून्य समयमा जनताका सवाललाई खरो रुपमा प्रस्तुत गर्ने सांसद हुन्, माओवादी केन्द्रकी आशा कोइराला । उनले पनि आसन्न निर्वाचनमा टिकट पाइनन् । तनहुँ क्षेत्र नम्बर २ बाट आकांक्षा देखाए पनि टिकट मिलेन ।

उनी भन्छिन्, ‘मेरो इच्छा प्रदेश सभाभन्दा पनि प्रतिनिधि सभा सदस्य बन्ने थियो । मैले तनहुँ २ बाट प्रतिनिधि सभा सदस्यका लागि इच्छा देखाएकी थिएँ । तर, गठबन्धनबाट नेपाली कांग्रेसले पाएपछि मेरो उम्मेदवारीको अर्थ भएन ।’

०६४ को संविधान सभाको पहिलो निर्वाचनमा प्रत्यक्ष निर्वाचन लडेकी कोइराला २०७० को दोस्रो संविधान सभाको निर्वाचमा समानुपातिकबाट सांसद थिइन् । त्यति बेला संघीय महिला बालबालिका तथा समाज कल्याण मन्त्रीको जिम्मेवारी उनले सम्हालिन् । ‘०७४ मा गण्डकी प्रदेश सभामा प्रत्यक्षबाट निर्वाचित भएँ । यो अवधिमा विशेष जिम्मेवारी त पाइनँ ।

एउटा प्रदेश सभा सदस्य भएर जति गर्नुपर्ने थियो, गरेँ जस्तो लाग्छ,’ उनले भनिन्, ‘संसदमा माओवादी तेस्रो शक्ति थियो । माओवादी ५ वर्ष नै सरकारमा सहभागी भयो । यो अवधिमा ठूलो जिम्मेवारी नपाए पनि विधेयकहरु ब्नाउन मेरो महत्वपूर्ण जिम्मेवारी रह्यो ।’

संसदको कार्यव्यवस्था परामर्श समितिमा रहेर काम गरेकी कोइरालाले विधायन समितिको सदस्यसमेत रहेर काम गरिन् । कानुन बनाउने कुरामा सधैं गम्भीर भएर लागेको उनी बताउँछिन् । ‘हामीले प्रदेशलाई अति आवश्यक कानुनहरु बनाएका छौं । यसको कार्यान्वयन सरकारले गर्नुपर्छ । जे जति भूमिका पाएँ । पूरा गरेँ जस्तो लाग्छ,’ उनी भन्छिन् ।

टिकट नपाए पनि आफू खुसी रहेको कोइराला बताउँछिन् । ‘प्रदेश सभामा दाबी गरेको भए फेरि पनि पाउन सक्थेँ । प्रदेश सभामा नयाँले अवसर पाउनुपर्छ भनेर छोेडेकी हुँ,’ उनी भन्छिन् ।

वाम गठबन्धनको सरकारलाई रचनात्मक सहयोग गरेको उनको भनाइ छ । प्रदेश सरकारले प्रदेश गौरवका आयोजना निर्माण गरेर ती आयोजना निर्माण गरेर नमुना प्रदेश बनाउने कुराको आफूले सधै स्वागत उनले सुनाइन् । भन्छिन्, ‘प्रदेशभर खानेपानी समस्या थियो । यसमा २ वर्षभित्र आधारभूत खालको जुन लक्ष्य थियो । त्यो सुरु भएको छ । गौरवका आयोजना राख्न सुझाव दिने कुरा आफूले सधैं गरेँ ।’

माओवादी केन्द्रीय सदस्यसमेत रहेकी कोइराला अब पार्टी राजनीतिमा केन्द्रित हुने बताउँछिन् । ‘पार्टीले मलाई धेरैपटक अवसर दिएको छ । नयाँ साथीले पनि अवसर पाउनुपर्छ भन्ने लागेको छ । अब पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई जनताको पक्षमा काम गर्न निर्देशन दिने कामहरु गर्छु,’ उनी भन्छिन् ।

पृथ्वीसुब्बा नेतृत्वको सरकारले विकास निर्माणका राम्रा राम्रा काम गर्न सकेको कोइराला बताउँछिन् । भन्छिन्, ‘एक निर्वाचन क्षेत्र १ कृषि गाउँ, हरेक पालिकाको केन्द्र जोड्ने सडक यो नीति सबैभन्दा राम्रो हो । कसैले प्रश्न उठाउने ठाउँ नै थिएन । यो सम्झनलायक ५ वर्षका विकासका काम हुन् ।’

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया