पोखराको प्याराग्लाइडिङः अझै खुलेन ‘सोलो उडान’

सञ्जय रानाभाट २०७९ कार्तिक १२ गते १७:०६

सञ्जय रानाभाट
पोखरा ।
पोखराका आकाशमा असोज ३० गतेदेखि बन्द भएको प्याराग्लाइडिङ अन्तर्गत ‘सोलो उडान’ अझै खुलेको छैन । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत क्रस कन्ट्री प्याराग्लाइडिङ इभेन्टअन्तर्गत असोज ३० गते सराङकोटमा त्रिभुवन आर्मी क्लबका निसिम थापाको प्रतियोगिताकै क्रममा मृत्यु भएपछि सोलो उडान १५ दिनदेखि ठप्प छ ।

दुर्घटनापछि सोही दिन नागरिक उड्डयन प्राधिकरणले सुरक्षा जोखिम भन्दै पोखराको आकाशमा अनिश्चितकालका लागि प्याराग्लाइडिङलाई बन्द ग¥यो । प्याराग्लाइडिङ नै बन्द गराएपछि यसको चौतर्फी विरोधपछि उच्चस्तरीय छानबिन समितिले एक साताअघि व्यावसायिक उडान गर्न अनुमति दिएपनि सोलो उडान भर्ने अनुमति दिएको छैन । यसको प्रत्यक्ष असर पोखराबाट सोलो उडान भर्न चाहने पर्यटकलाई परेको छ ।

करिब दुई दशक अघि सोलो उडानबाट सुरु भएको पोखराको प्याराग्लाइडिङ बन्द हुनुको कारण भने अहिलेसम्म बाहिरिएको छैन । पर्यटन व्यवसायीहरुले भने प्राधिकरणको अनभिज्ञताले पर्यटन क्षेत्रलाई १० वर्षपछि सार्ने काम भएको बताउँछन् ।

Advertisement

यसअघि पोखरा १८ सराङकोट बाहेक नजिकैको तोरीपानि उडान हुन्थ्यो । सो क्षेत्रमा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले निश्चित उचाई र दूरी (बक्स) तोकिदिएको छ । सोही बक्सभित्र रहेर उडान संचालन गर्न पाइन्छ । तर, प्याराग्लाइडिङ गर्ने जो पाइलटहरुले सो क्षेत्रभन्दा बाहिरबाट प्याराग्लाइडिङ उडान गर्न थालेपछि सोलो उडान बन्द भएको प्राधिकरणका एक कर्मचारी बताउँछन् । भन्छन्, ‘नियम विपरीत उडान हुन थाले । यसले जोखिम दिनप्रतिदिन थपियो ।

यसले भोलीका दिनमा फेरी अप्रिय घटना नहोला भन्न सकिँदैन । यसकारण अहिलेलाई सोलो उडानका लागि निश्चित मापदण्ड पूरा नभएसम्म बन्द हुन्छ ।’ व्यवसायीक उडान भन्दा सोलो उडान बक्स छाडेर उडाउने केही पर्यटन व्यवसायीहरु स्वीकार्छन । तर, नियमन गर्नुको सट्टा बन्द नै गर्नु जायज नभएको उनीहरुको तर्क छ । सोलो उडानमा पाइलटले प्याराग्लाइडिङलाई फनफ्न्ती उडाउने, तोकिएको आकाशको क्षेत्र नाघेर उडान भर्दा दुर्घटना हुने सम्भावनलाई उच्च रहेको छ ।

Advertisement

टेन्डम र सोलो उडान एकैठाउँमा हुँदा भीडभाड पनि बढाउने भएकाले प्राधिकरणले व्यवसायीलाई मर्का नपर्ने गरि सोलो उडान बन्द गरेको हो । सोलो उडान गर्नेहरु टेकअफ र टेकअन एकैठाउँमा गर्दा जोखिम उत्तिकै थियो । यसमाथी तोरिपानीबाट टेकअफ गरेका पाइलटपनि सराङकोटकै आकाशमा आउने भएकाले ट्राफिक जाम हुने गरेको स्वंम पाइलटहरु बताउँछन् । नेपाल प्याराग्लाइडिङ पाइलट् क्लबका सचिव हरि गिरीका अनुसार प्राधिकरणको निर्णयले पर्यटन र राजस्व दुवै क्षेत्रमा मर्का परेको बताए । ‘पर्यटक आउने भनेको मनोरञ्जन गर्न हो । बाघ कराएको बाख्रा हराएको एकै चोटी भयो । राजस्व पनि घट्यो । क्यानलाई राजस्व घाटा लाग्छ ।

होटल व्यवसायमा घाटा पुग्छ,’ उनले भने, ‘विशेष गरी विदेशीहरु सोलो उडानकै लागि नेपाल घुम्न आउँछन् । अब त्यो बन्द हुने विन्दुमा पुग्यो ।’ उनले प्याराग्लाइडिङ स्कुलहरु पनि बन्द हुने अवस्थमा पुगेको बताए । ‘पाइलट बन्न चाहनेका लागि स्कुलहरु बन्दहुने अवस्थामा पुगे । अब कि धरान जानुप¥यो कि बन्दीपुर जानुप¥यो हैन भने ती स्कुलहरु बन्द गरेर बस्नुपर्छ । विकल्प दिन नयाँ ठाउँम गन्तव्य खोज्नुपर्‍याे ।’ उडानमा रेस्क्यु प्रयास अन्तर्राष्ट्रियस्तरमै नभएकाले यसलाई कार्यान्वयन गर्न कठिन रहेको नेपाल हवाइ खेलकुद संस्थाका अध्यक्ष सुनिल भट्टराईले बताए । ‘दुर्घटनाको त्रास त थियो । विदेशी पाइलटहरु पोखराको आकाशमा उडान भर्न आउने थिए । त्यो असर होटल व्यवसायीलाई पर्ने देखिन्छ । यसले राजस्वदेखि विभिन्न क्षेत्रमा असर त पर्ने नै भयो ।’ सोलो उडानको विकल्प दिनेबारे प्राधिकरणसँग छलफल भईरहेको उनले सुनाए ।

पोखराका पर्यटन व्यवसायी तथा अधिवक्ता गणेशबहादुर थापाले प्याराग्लाइडिङ बन्द हुँदा र खुल्दा अहिलेसम्म सर्त नखुलेकाले प्राधिकरणको गम्भिर त्रुटि भएको बताउँछन् । उनले कुन नियतले बन्द भयो र कुन नियतले फेरी व्यवसायीक उडान भयो भन्दै प्रतिप्रश्न गरे । उनले सोलो उडान र व्यवसायीक उडान एकै ठाउँमा हुँदा जोखिम बढेकाले सोलो उडानको विकल्प दिनुपर्ने बताए । ‘लाइसन्स भएको डाइभर र सिकारी चालकले एकै ठाउँमा गाडि चलाउँदा दुर्घटना हुने जोखिम हुन्छ । यसकारण सोलो उडान अन्यत्रै सार्नुपर्छ ।’

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया