जीवन जीवनकै खोजी हो

रिखिराम जिसी २०७९ कार्तिक २० गते ११:०४

रिखिराम जिसी, पोखरा ।
समाज र राजनीतिको बारेमा लेखिरहने लेखक खगेन्द्र संग्रौलाले आफ्नै बारेमा पनि लेखेका छन् । आफ्नै बारेमा उनले लेखेका स्मरणहरुका पुस्तक छन् । उनी आफैंलाई आफ्नाबारेमा लेख्न बाँकी लाग्दैनथ्यो । झन् जीवनी लेख्ने प्रस्ताव आउँदा सुरुमा त ठाडै अस्वीकार पनि गरेका थिए ।

संग्रौलाकै शब्दमा साथीभाइको जिद्दीका अघि उनको जोर चलेन । प्रस्ताव स्वीकारे । र, लेखक उज्ज्वल प्रसाईले खगेन्द्रको जीवनी पुस्तक लेखे—एक बागी, खगेन्द्र संग्रौलाको साधना र संघर्ष ।

‘पुस्तकमा संग्रौलाको प्रशंसा मात्रै छैन, कटु आलोचना हूबहू राखिएको छ’

Advertisement

आफ्नै पुस्तकको विमर्शमा शनिबार संग्रौला पोखराको हिमालय रिडर्स कर्नरमा उपस्थित थिए । उनले आफू लेखेर बाँच्ने लेखक नभई श्रीमतीको कमाइमा बाँचेको उनले सुनाए । र, भने, ‘यो पुस्तक पढेपछि मेरो श्रीमती र छोरी खुसी भए किनभने यहाँ उनीहरुको पनि नाम रहेछ ।’ उनले कोही व्यक्ति एक्लै केही नबन्ने वरिपरिका मान्छे र उसको वैचारिकीले ऊ बन्ने बताउँदै आफ्नो लेखकीय व्यक्तित्व निर्माणको जस श्रीमतीलाई सुम्पिए ।

जीवन जीवनकै खोजी भएको संग्रौलाले बताए । ‘जीवन जीवनकै खोजी हो, जीवन जीवनकै उत्खनन् हो, जीवन जीवनको उद्घाटन हो,’ उनले भने, ‘अनेक ठेस र ठक्करहरुको विभिन्न संयोग हो ।’ उनले जीवन के हो भन्ने थाहा भए यसको अस्तित्व नै नहुने सुनाए ।

Advertisement

जिन्दगीमा लेख्न र पढ्नबाहेक केही नजानेको सुनाउँदै उनले आफू जीवन लेख्न लायक नरहेको दोहोर्‍याए । उनले पुस्तकलाई जोगाउने भनेको विवेकलाई जोगाउनु भएको उल्लेख गरे ।

लेखक उज्ज्वल प्रसाईले नेपालमा जीवनी खासै नलेखिएको भन्दै दुईचार पुस्तकको नाम लिए । ‘कुनै पनि व्यक्तिको महत्वलाई समातेर समाज बुझाउन जीवनी लेखिन्छ, मलाई यो जीवनी लेख्न साढे ६ वर्ष लाग्यो, राइटिङलाई रिभिजिट गरे, ६ वर्ष नेपाली समाजकै अन्वेषण गरे । प्रसाईले भने, ‘अरु ३/४ सय पेज लेख्न सकिन्थ्यो, छुट्यो ।’

कवि कल्पना चिलुवाल, लेखक गनेस पौडेल र अनुसन्धाता शेखर पराजुलीले बागीमाथि विचार राखेका थिए । बागीमा तत्कालीन सामाजिक राजनीतिक परिवेश आएको चिलुवालले बताइन् । ‘किताबले त्यो बेलाको समय बुझ्न सहयोग गरेको छ,’ चिलुवालले भनिन्, ‘पुस्तकमा खगेन्द्र संग्रौलालाई मात्र पढ्दैनौ, तत्कालीन सामाजिक संस्कार, राजनीतिक परिवेश पढ्दै जान्छौं ।’

संग्रौला पञ्चायत कालदेखि नै बागी लेखकका रुपमा परिचित रहेको उनको भनाइ थियो । पुस्तकमा संग्रौलाको प्रशंसासँगै आलोचना पनि गरिएको कवि चिलुवालले जानकारी दिइन् । ‘पुस्तकमा संग्रौलाको प्रशंसा मात्रै गरिएको छैन, कटु आलोचनाहरुलाई हुबहु राखिएको छ । किताब प्रशंसाको पुलिन्दा मात्रै बनेको छैन,’ उनले भनिन् ।

यो पुस्तक अनुसन्धानको उपज भएको अनुसन्धाता पराजुलीले बताए । ‘राजनीतिक र सामाजिक परिवेशको विशद व्याख्या छ, यो किताब अनुसन्धानको उपज हो भन्न कुनै दकस मान्नु पर्दैन,’ उनले भने ।

ठूलो क्यानभासमा चित्र कोरेजस्तो गरी लेखकले संग्रौलाको जीवनी लेखेको अनुसन्धाता पराजुलीले सुनाए । पुस्तकमा संग्रौलाको कमजोरीहरु पनि समेटिएकाले प्रशंसाको पुलिन्दा नभएको उनको भनाइ थियो ।

अनुसन्धाता पराजुलीले खगेन्द्र संग्रौला निडर लेखक रहेको बताए । ‘उहाँको जरो र किलो विचारमा छ, निश्चित जीवन दर्शन छ, देखेको कुरा लेखिहाल्ने उहाँ ब्रह्मले देखेको लेखिहाल्ने निडर लेखक हुनुहुन्छ,’ उनले भने, ‘लोकतन्त्र सबैका लागि बराबरी हुनुपर्छ भन्ने विचार उहाँमा छ ।’

संग्रौलाको लेखनमा नेपाली रैथाने बोलीको बेग्लै किसिमको कौशल रहेकाले लेखन मिठो हुने पराजुलीले सुनाए । ‘उहाँको लेख पढेर गाली गर्न सकिन्छ, प्रशंसा गर्न सकिन्छ तर बेवास्ता गर्न सकिन्न,’ उनले भने । लेखक गनेस पौडेलले अरुलाई आलोचना गर्ने संग्रौलामा आफ्नो आलोचना सुन्ने खुबी रहेको सुनाए ।

रिखिराम जिसी

जिसी समाधान संवाददाता हुन् 

तपाईको प्रतिक्रिया