१०० वर्षका उम्मेदवार, ९८ की मतदाता

सञ्जय रानाभाट २०७९ कार्तिक २१ गते १०:२६

सञ्जय रानाभाट, पोखरा ।
आसन्न प्रतिनिधिसभा सदस्यका लागि गोरखा २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग एमालेका २८ वर्षीय युवा अब्दुस मियाँ प्रतिश्पर्धामा छन् । सँगै नेपाली कांग्रेस (बीपी)बाट सय वर्षीय टीकदत्त पोखरेल चुनावी प्रतिस्पर्धामा छन् ।

सय वर्षीय पोखरेलको घर गोरखा सिराञ्चोक गाउँपालिका ४ छोप्राक हो । उनले आफ्नो उम्मेदवारी प्रचण्डका विरुद्ध भएको बताउँदै आएका छन् । देशमा अन्याय, अत्याचार बढ्दै गएकाले सय वर्षको उमेरमा उम्मेदवारी दिएको उनको भनाइ छ ।

पोखरेलले सार्वजनिक कार्यक्रममै प्रचण्डलाई जसरी पनि हराउनुपर्ने अभिव्यक्ति दिँदै आएका छन् । पोखरेलसहित गोरखा २ मा १२ उम्मेदवार छ । तीमध्ये २ जना स्वतन्त्र हुन्, अरु दलका उम्मेदवार हुन् ।

Advertisement

९८ वर्षीय मतदाता
मुजा परेको अनुहारमा फिस्स मुस्कान । कापिरहेको लबज, थर्थराइरहेको हात । उमेर शताब्दी लाग्यो । हिँड्डुल गर्न एउटा बैसाखी छ । बुढ्यालीमा त्यहीँ बैसाखी टेकेर गोरखा १४ याङकोटकी हुममाया सिलवाल हिँड्डुल गर्छिन् । हुममाया शताब्दी (९८ वर्ष) पुग्न लागे पनि यत्रतत्र हिँड्डुल समस्या छैन ।

हिजोआज हुममायालाई हलचल नगरी दिन काट्नै मुस्किल हुन्छ । उनको बोली केटाकेटीदेखि युवा, वृद्ध सबैले प्रष्ट बुझ्छन् । बुढ्यौलीले उनी अचेल टाढाको आवाज कम सुन्छिन् । तर, नजिक गएर कुरा गरे प्रष्ट बुझ्छिन् । उनको जवाफ भने बुढ्यौली शैलीमै आउँछ ।

Advertisement

भलाकुसारी गर्न रुचाउने हुममाया पछिल्ला दिनमा घरनजिकै हुने नेताका आमसभा र कोणसभामा भेटिन्छिन् । शुक्रबार पनि गोरखा २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रचण्डको कोणसभामामा उनी सहभागी भइन् ।

प्रचण्डकै मञ्चपछाडि रुखको फदमुनि बसेर कोणसभा नियालिन् । आधा घन्टासम्म चलेको कार्यक्रम हुममायालाई भने रमाइलो लाग्यो । भन्छिन्, ‘२ दिनअघिसम्म गाउँ सुनसान थियो । चुनाव आएर नयाँ नयाँ मान्छे आइरहेका छन् । घरमा पनि आइरहन्छन् । अस्ति पनि कुन पार्टी आएर भोट मागे । घरसम्मै पिच गर्छु भनेर गएँ ।’

हुममाया जुनसुकै पार्टीको आमसभामा सहभागी हुन्छिन् । बैंसमा पनि पार्टी कार्यकर्ता बनेर हिँड्ने जाँगर नचलेको उनले सुनाइन् । ‘पार्टीमा आइज भनेर कतिले भने आफू छोराछोरी हुर्काउनै व्यस्त भएँ,’ उनले भनिन् ।

चुनावले बुढेसकालमा आफूलाई बोल्ने साथी भेटिएको र नयाँ नयाँ मान्छे हेर्न रमाइलो लागेको हुममायाले सुनाइन् । भन्छिन्, ‘नातिहरु आइरहन्छन् । आमा भन्छन्– हजुर भन्छु अरु त केही बोल्दैनन्, नातिनातिनालाई कापीको पन्ना दिन्छन्, मलाई दिन्नन् ।’

बढ्यौली लागे पनि उनी हृष्टपुष्ट छिन् । आउँदो निर्वाचनमा उनलाई भोट हाल्ने धोको छ । ‘पँधेरामा पानी लिन जान पनि सक्दिनँ । तर, यो पालि भोट हाल्ने धोको छ । छोराहरुले लैजान्छन् । स्थानीय चुनावमा पनि गएर फर्के,’ उनले भनिन्, ‘यसपालि पनि छोराहरुले लगिदिए भोट हाल्ने धोको छ ।’

कुन पार्टीलाई भोट दिने भने उनले खुलाइनन् । ०७४ को चुनावमा छोराहरुले नै भोट हालिदिएको उनले सुनाइन् । सबै नेताले भाषण राम्रो गरे पनि विकासका सपनामात्र बाँडेको उनले बताइन् । ‘बाटो पनि बनाउन सक्दैनन् । नातिनातिना खेल्छन् । धुलो उडेर बिरामी भइरहन्छन् । भोट चाहिँदा भने मीठा भाषण गर्छन । गाउँमा केही गरेनन्,’ उनी केही निराश सुनिइन् ।

उनले विवाह गरेपछि भोट थालेकी हुन् । ‘भोट त कति हालिया ेहालियो । उ त्यो मन्दिरमा पुगेर भाषण पनि सुनियो तर गाउँमा केही माखो मारेनन्,’ उनले पुराना कुरा सम्झिइन् । २०१५ सको पहिलो प्रजातान्त्रिक चुनावमा पहिलो पटक भोट हालेकी थिइन् । यति बेलादेखि नै नेताले बोलेका भाषण पूरा नगरेको उनको दुखेसो छ ।

पञ्चायत, प्रजातन्त्र हुँदै अहिले संघीय गणतन्त्र आउँदा पनि गोरखामा भौतिक पूर्वाधारमा उल्लेख्य विकास नभएको उनको ठम्याइ छ । उनको गाउँमा कच्ची सडकसम्म पुगेको छ । ‘घरअगाडि पानी पनि श्रमदानले आएको हो । कुनै नेताले ल्याएनन् । सबै गाउँले मिलेर पहरो छेडेर पानी ल्याएँ । बाटो घरको तहरोसम्म आए पनि बर्साैदेखि धुलाम्मे छ,’ उनले भनिन् ।

पहिलो पटक भोट हालेदेखि आफूहरुका माग बाटोघाटो, कुलो, पुलपुलेसा, टोल तथा बस्तीमा धाराकुवा, सडक, बत्ति रहेको उनी सम्झिन्छिन् । उम्मेदवार फेरिए पनि आफूहरुका समस्या ज्यूका त्यू रहेको उनको दुखेसो छ ।

सिंहदरबारको अघिकार गाउँ गाउँमा आइपुगे पनि अहिलेसम्म आफूहरुले विकासको अनुभूति नगरेको उनी बताउँछिन् । ‘छोराबुहारी जान्नेबुझने छन् । मलाई केही थाहा छैन ।आजभोलि हिँड्न पनि नसक्ने भइसके,’ उनले भनिन्, ‘घरअगाडि बाटो पिच भएँ नातिनातिना सजिलै स्कुल जान्थे ।’

गोरखा १४ याङ्कोटबाट पृथ्वी राजमार्ग निस्कन करिब पौने घन्टा लाग्छ । बाटो पिच भए १५ मिनेट हो । त्यो बाटो कोलोपत्र नहुँदा धेरै दुर्घटना भएको स्थानीय गोविन्द नेपालीले औंल्याए । उनले बाटो पिच गर्ने धेरै नेताले आश्वासन दिए पनि अहिलेसम्म पूरा नभएको टिप्पणी गरे । ‘आश्वासन त के के थिए । छोराहरु ठूला भए, कमाए अहिले खान, बस्न दुःख छैन । नातिनातिना हिँड्डुल गर्दा लड्लान कि जस्तो लाग्छ । जमाना अनुसार विकासले फड्को मारेन्,’ हुममायाले भनिन् ।

आफ्नो ठूलो इच्छा केही नभएको तर अझै एक पटक भोट हाल्न मन लागेको उनले पटक पटक दोहो¥याइन् । भोट हाल्ने प्रक्रिया भने उनलाई थाहा छैन । गाउँमा अहिलेसम्म कुनै मतदान शिक्षा अभियान आएको छैन । गोविन्द भन्छन्, ‘यसभन्दा अघि त निर्वाचन हुँदा नेताहरु आउँथे । यस पटक त भाषण गर्छन्, जान्छन् । भोट हाल्दा पनि बिग्रने डर छ । मतदान शिक्षा पुगेका छैन ।’

केही वर्षअघिसम्म भोट हाल्ने दिन गाउँले जमघट भएर मतदान केन्द्रमा पुग्ने गरेको उनले सुनाइन् । त्यति बेला मत माग्दै उम्मेदवार घर घर आउथे । भेटेर सहयोग गर्नुपथ्र्यो भन्थे, मतदाता फकाउँथे । उनले भनिन्, ‘अहिले घरपिच्छे पार्टी छन् । यसरी गाउँमा विकास हुँदैन । सबै लोभिपापी भए ।’

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया