बिजनेस प्लान सिकाउँदै प्रतिभा स्कुल

समाधान संवाददाता २०७९ कार्तिक २७ गते १६:४२

पोखरा ।
नयाँ व्यवसाय थाल्दाका झन्झट कस्ता हुन्छन् ? आर्थिक रुपमा तयारी कसरी गर्ने, कस्तो व्यवसाय गर्ने? व्यवसायमा सफलता र असफलता हात पार्दा के गर्ने ? यस्तै समस्या हुन्छन् जो कोहीलाई नयाँ व्यवसाय थाल्दा ।

नयाँ व्यवसायमा आइ पर्न सक्ने यस्तै चुनौती र अवसरबारे ज्ञान आदानप्रदान गर्न प्रतिभा माविले शनिबार ‘व्यवसायिक योजना’बारे विद्यार्थीलाई अनुभवीको कुरा सुनाएको छ ।

विद्यालयका निर्देशक किरण सापकोटाले दसैं, तिहारको एक महिने बिदामा विद्यार्थीलाई आफूले जानेको र बुुझेको ‘बिजनेस प्लान’ तयार गर्न लगाइएको जनाए । कक्षा ११ र १२ मा अध्ययनरत व्यवस्थापन र होटल व्यवस्थापन विषयका विद्यार्थीले बिदाको बेला तयार पारेको बिजनेस प्लानलाई प्रस्तुत गरेका हुन् ।

Advertisement

प्लानमध्ये प्रथम हुनेलाई १५ हजार, दोस्रोलाई १० हजार र तेस्रो र चौथोलाई जनही ५ हजार प्रदान गरिने सापकोटाले बताए । ‘११ र १२ कक्षाको तहमा पहिलो पटक यो योजना तयार पार्न लगाएका हौं ।

स्नातक र स्नातकोत्तर तहमा धेरै शिक्षण संस्थाले विद्यार्थीलाई बिजनेस प्लान गर्न लगाउँछन्,’ सापकोटाले भने, ‘तर, प्रतिभाले ११ कक्षादेखिका विद्यार्थीलाई यो काममा संलग्न गराएको छ ।’

Advertisement

सापकोटाका अनुसार विद्यार्थीले प्रस्तुत गरेकोमध्ये प्रथम हुने बिजनेस प्लानलाई विद्यार्थीले साच्चै व्यवसायिकता दिएमा विद्यालयले आर्थिक सहयोगसमेत गर्नेछ । ‘अहिले प्रस्तुत गरेको बिजनेस प्लानलाई साच्चै व्यवसायिकता दिने र आर्थिक रुपमा अवस्था कमजोर भए विद्यालयले बिउ पुँजीको रुपमा पाँच लाख रुपैयाँ सहयोग गर्नेछ,’ सापकोटाले भने, ‘आर्थिक रुपमा व्यवसाय गर्नबाट कोही पनि पछाडि हट्नु नपरोस भनेर यो सहयोग घोषणा गरिएको हो ।’

विद्यालयले दिएको बिउँ पुँजी बापतको पाँच लाख रुपैयाँ बिना ब्याज ५ वर्षपछि फिर्ता गर्नुपर्नेछ । त्यसबाहेक आवश्यक परेमा विद्यालयले अरु लगानीकर्ता खोज्न पनि सघाउने उनले बताए । त्यसबाहेक विद्यार्थीले तयार पारेको बिजनेस प्लानलाई बेच्न चाहेमा पनि विद्यालयले सघाउने सापकोटाले बताए ।

कार्यक्रममा सेलवेज ग्रुपका अध्यक्ष सुशीलमान प्रधानांगले व्यवसायमा अनुसन्धान, पारदर्शिता, लक्ष्य हुनुपर्ने बताए । कुनै पनि व्यवसाय सफल हुनका लागि व्यवसायीले योजना बनाउनुपर्ने उनको भनाइ छ ।

तीन दशकअघि आफूले सानो आकारको कपडा पसलबाट थालेको व्यवसायले अहिले ठुलो आकार लिएको अनुभव सुनाउँदै प्रधानांगले भने, ‘आफूलाई अनुकुल हुने गरि व्यवसाय गर्ने हो । कतै कमजोरी भइहालेमा पनि सुधार्न सकिन्छ ।’

प्रतिभा एजुकेशन फाउन्डेसनका अध्यक्ष नारायण पौडेलले व्यवसाय थाल्दा बीच बीचमा बाधा अवरोध आए पनि अघि बढ्ने सोच राख्नुपर्ने बताए । ‘बेलैमा सोच गरेर व्यवसाय थाल्ने हो भने दीर्घकालीन हुन सक्छ । त्यसको लागि विद्यार्थीले अहिले नै सोच्नुपर्छ,’ पौडेलले भने, ‘योजना नै अघि बढ्ने बाटो हो । आफ्ना योजनामा अवरोध आएपनि चिर्न सक्नुपर्छ ।’

तपाईको प्रतिक्रिया