कास्की र स्याङ्जामा मधुवनको सहयोग

समाधान संवाददाता २०७९ कार्तिक २७ गते १६:५०

पोखरा ।
मधुवन नेपालले कास्की र स्याङ्जाका विभिन्न स्थानमा औषधी तथा ह्विलचेयर वितरण गरेको छ । संस्थाले हालै पोखराको मानव सेवा आश्रम, कास्कीस्थित कारागार रहेका महिला तथा बालबालिकाका लागि स्वास्थ्य शिविर र स्याङ्जाका ६ जनालाई ह्विलचेयर वितरण गरेको हो ।

छोरेपाटनस्थित मानव आश्रममा आश्रित दीर्गरोगीका लागि आवश्यक उच्च रक्तचाप, सुगर, मानसिक तथा सामान्य रुघा, खोकी, ज्वरो, भिटामिन तथा मलह पट्टी लगायतका एक वर्षलाई पुग्ने औषधी वितरण गरिएको छ ।

कास्की कारागारमा रहेका महिला तथा बालबालिकाका लागि स्वास्थ्य जाँच शिविर, न्यानो कपडा, शैक्षिक, खेलकुद, तथा सरसफाइका सामाग्री वितरण गरेको संस्थाले जनाएको छ । संस्थाले सिबिआरएससँगको सहकार्य र कालीगण्डकी गाउँपालिका, स्याङ्जाको समन्वयमा शारीरिक रुपमा अशक्त ६ जनालाई ह्विलचेयर वितरण गरेको छ ।

Advertisement

सन् २०१९ मा स्थापना भएको संस्थाले झण्डै ४ लाख रुपैयाँको सहयोग गरिसकेको संस्थापक राघवी न्यौपानेले जानकारी दिइन् । अमेरिकामा रहेर पब्लिक हेल्थमा स्नातकोत्तर गरिरहेकी उनले पढाइपछिको समयमा कामबाट जम्मा गरेको पैसाबाट सामाजिक क्षेत्रमा सहयोग गरिरहेको बताईन् ।

संस्थामा गण्डकी मेडिकल कलेज पोखराका इन्र्टन डाक्टरहरु प्रज्ञा अर्याल, प्रशंसा थापा, निसान केसी, सरोजकुमार यादव, निश्चल जंग शाह, निशा तामाङ, नमस्या बस्याल लगायत संस्थामा स्वयमसेवकका रुपमा आवद्ध छन् ।

Advertisement

संस्थाले अब कास्कीका सामुदायिक विद्यालयमा प्रजनन् स्वास्थ्य शिक्षा उपलब्ध गराउने र एचआइभी एड्सबाट संक्रमितहरुको क्षेत्रमा काम गर्ने तयारी गरिरहेको संस्थाका संस्थापक न्यौपानेले जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया