‘लालपुर्जा दिन्छु भन्छन्, तर कसैले दिन्नन्’

रिखिराम जिसी २०७९ मंसिर १ गते १०:२१

पोखरा ।
पोखराको केन्द्रमै छ पोखरा बसपार्क । बसपार्क नजिकै ससाना घरटहरा छन् । पृथ्वीचोक चाइनिज पुल अघिबाट दक्षिण लागेपछि आउँछ सुकुम्बासी बस्ती । यो बस्तीका बासिन्दा दैनिक मजदुरीमा निर्भर छन् । सबैजसो आआफ्नै कामकाजमा जान्छन् । बाहिरका मान्छे पनि कमै बस्ती पस्छन् । दिउँसोपख बस्ती सुनसानै जस्तो हुन्छ । केही दिनयता भने चहलपहल बढेको छ । राजनीतिक दल तथा उम्मेदवारहरु बस्ती पसेका छन् ।

उम्मेदवारहरु उनीहरुलाई ‘तपाईंहरुको समस्या समाधान गर्छाैं,’ भन्दै आश्वासन दिँदै हिँडेका छन् । उनीहरुको हरेकपटकको आश्वासन भूमिहीन सुकुमबासीलाई लालपुर्जा दिने नै हुन्छ । उम्मेदवारको झुटा आश्वासनबाट ५५ वर्षीय निरमाया गुरुङ निराश छिन् । उनी भन्छिन्, ‘लालपुर्जा दिन्छु भन्छन् तर कसैले दिन्नन् ।’ उनी त्यस क्षेत्रमा बस्न थालेको १९ वर्ष भयो ।

‘१३ दिनमा लालपुर्जा दिन्छु भनी यहाँ सर्न लगाए, अहिले १९ वर्ष भइसक्यो, अहिलेसम्म लालपुर्जा पाएका छैनौं’

Advertisement


१३ दिनमा लालपुर्जा दिन्छु भनी आफूहरुलाई बसपार्कमा सारिएको गुरुङ बताउँछिन् । उनी भन्छिन्, ‘१३ दिनमा लालपुर्जा दिन्छु भनी यहाँ सर्न लगाए, यहाँ आएको १९ वर्ष भइसक्यो, अहिलेसम्म पाएका छैनौं ।’

अहिले पनि ढुक्क तरिकाले बस्न नपाएको अर्की भूमिहीन लेकमाया थापामगर बताउँछिन् । ‘अहिलेपनि हामी ढुक्क तरिकाले सुत्न पाएका छैनौँ, यहाँबाट उठाएर लान्छ कि भन्ने पिर छ,’ उनले भनिन् ।

Advertisement

सरकारले नहटाओस् भन्नका लागि यस क्षेत्रमा विकास लिएको लेकमाया बताउँछिन् । ‘हामीले विकास लिएका छौं कमसेकम हटाउँदैन कि त सरकारको लगानी हालेको छौं नि त । भवनमा सरकारको लगानी हालिम्, बाटोमा सरकारी लगानी हालिम्,’ उनले भनिन् ।

सेतीलाई सफा राख्न आफुहरुले गर्दै आइरहेको बंगुर पालनसमेत छोडेको उनी बताउँछिन् । ‘ट्याइलेट आफ्नो हुनुपर्छ भनेर, सेती सफा गर्नुपर्छ भनेर बंगुर पालेर हामीले जीविका पाल्थिम्, बंगुर पाल्न पनि छोड्दिम्,’ उनले भनिन्, ‘घरमा अहिले कोही हुदैन सबै काममा जान्छन् किन कि उनीहरु मजदुर गरेर खाने हो नि त ।’

नेताहरुले चुनावको बेला मात्रै आश्वासन दिने गरेको लेकमाया सुनाउँछिन् । ‘यहाँ आउँछन् आश्वासन दिन्छन् । ५ वर्षमा हामीलाई एउटा बजेट दिएन । अझैसम्म दिएको छैन । तर हामीले नगरमा हुन्छ कि प्रदेशमा हुन्छ कि माग गरिम्,’ उनले भनिन् ।

भूमिहीनलाई लालपुर्जासँगै गाँस, बास, कपास पनि दिनुपर्ने लेकमाया बताउँछिन् । उनी भन्छिन्, ‘हाम्रो मेन समस्या लालपुर्जा हो, त्यो सँगै गाँस, बाँस, कपास पनि दिनुपर्छ ।’
भूमिहीनलाई सार्नुपर्ने भए विकल्प दिनुपर्नेमा लेकमायाले जोड दिइन् ।

‘त्यहाँका जनताहरुलाई लालपुर्जा दिनु हुन्न है, यो पोखराको मुटु हो, बसपार्क बनाउने ठाउँ हो, यिनीहरुलाई अन्तै ठाउँमा सार्नुपर्छ भन्ने पनि आउँछन्, तर अन्त ठाउँमा सार्ने कहाँ हो त ? यत्रो बस्ती छ । ठाउँ पनि हुनु पर्‍यो नि फेरि सेती नदीको किनारमा लगेर फ्याँक्ने त होइन,’ उनले भनिन् ।

२०३२ सालमै बसपार्क निर्माण गर्न अधिग्रहण गरिएको जग्गामा अहिले करिब १ हजार हाराहारीमा सुकुम्वासीका घर बनेका छन् । पृथ्वीराजमार्गको मापदण्ड, मुआब्जा स्वरुप जग्गा वितरण लगायत र सुकुम्बासी वस्तीका कारण बसपार्कको जग्गा २ सय ५ रोपनीबाट ८१ रोपनीमा खुम्चिएको छ ।

पोखरा बसपार्क क्षेत्र प्रतिनिधि सभा तर्फ २ नम्बर क्षेत्र र प्रदेश सभातर्फ २ ‘ख’मा पर्दछ । दुवैतर्फ मुख्य राजनीतिक दलकै प्रतिस्पर्धा हुने देखिन्छ । प्रतिनिधि सभा एमालेकी विद्या भट्टराई र गठबन्धनकातर्फबाट नेकपा एकीकृत समाजवादीका श्रीनाथ बरालबिच प्रतिस्पर्धा हुने देखिन्छ ।

भट्टराई अघिल्लो उपनिर्वाचनमा यसै क्षेत्रमा निर्वाचन भएकी थिइन् । प्रदेश सभातर्फ गठबन्धनका तर्फबाट कांग्रेसका विन्दुकुमार थापा, एमालेकी मीना गुरुङ र राप्रपाका अरुण गिरी लगायत उम्मेदवार छन् ।

रिखिराम जिसी

जिसी समाधान संवाददाता हुन् 

तपाईको प्रतिक्रिया