मध्यविन्दु क्याम्पसलाई क्युएए

समाधान संवाददाता २०७९ मंसिर २ गते ११:४४

नवलपुर ।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को कावासोतीमा अवस्थित मध्यविन्दु बहुमुखी क्याम्पसले विश्वविद्यालय अनुदान आयोगबाट दोस्रो चरणको गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्राप्त गरेको छ । बुधबार आयोगमा आयोजित एक कार्यक्रमका बीच क्याम्पसलाई दोस्रो चरणको क्युएए प्रदान गरिएको हो ।

२०६३ मा सामुदायिक क्याम्पसको रुपमा स्थापित यस क्याम्पसले स्थापनाको १० वर्षमा नै क्युएए प्राप्त गर्न सफल भएको थियो । क्याम्पस प्रमुख गणेशमा गिरीले दोस्रो चरणको क्युएए प्राप्त हुनु सम्पूर्ण नवलपुरबासी मात्रै नभई गण्डकी प्रदेशकै शान भएको बताए ।

उनले भने, ‘पहिलोपटक क्युएए प्राप्त गरेपछि लगातार दोस्रो चरणको क्युएए प्राप्त गर्दा हामी अत्यन्त खुसी र्छौ । क्यापसको थप स्तरोन्नति र शैक्षिक गुणस्तर अझ उचाईमा पुर्‍याउन हामी लागिपर्ने छौं ।’

Advertisement

विश्वविद्यालय अनुदान आयोगको उच्च शिक्षासम्बन्धी गुणस्तरको मापदण्ड पूरा गरी उच्च शिक्षा प्रदान गर्ने सरकारी, सार्वजनिक वा नीजि विश्वविद्यालय, क्याम्पसलाई क्युएए प्रदान गर्दै आएको छ । अनुदान आयोगले गुणस्तर सुनिश्चिता प्रत्यायन समिति बनाई मूल्यांकन गर्दै आएको छ ।

क्युएए प्रक्रियामा जान स्वीकृति एलओआई पाइसकेका संस्थाले दोस्रो चरणमा प्रवेश गरी स्वअध्ययन प्रतिवेदन (एसएसआर) प्रतिवेदन अनुदान आयोगमा बुझाउनुपर्छ । आयोगले एसएसआर प्रतिवेदन विज्ञहरूको मूल्यांकन टोली पियर रिभ्यु टिम (पीआरटी) खटाउँछ ।

Advertisement

एसएसआर प्रतिवेदनका आधारमा शैक्षिक संस्थाको भ्रमण गरी संस्थाको प्रमाणीकरण गरिन्छ । विज्ञहरूको मूल्यांकन टोलीको सिफारिसका आधारमा आयोगको बैठकले क्युएए प्रमाणपत्र दिने गर्दछ ।

त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त मध्यविन्दु बहुमुखी क्याम्पसले कक्षा ११ र १२ अन्तर्गत म्यानेजमेन्ट, आर्ट्स, साइन्स लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ । उच्च शिक्षा अन्तर्गत बिबिए, बिबिएस, बिआइसिटिइ, एमबिए, एमबिएस लगायतका कार्यक्रम पनि चलाएको छ ।

तपाईको प्रतिक्रिया