‘घटिघटाउको निर्माणले गुणस्तरमा कमजोर’

समाधान संवाददाता २०७९ मंसिर ११ गते १२:१४

पोखरा ।
श्रम निर्माण व्यवसायी समिति पोखरा कास्कीको १२ औं वार्षिक साधारण सभा शनिबार भएको छ । कार्यक्रममा पोखरा महानगरपालिकाका इन्जिनियर नेत्र तिमिल्सिनाले निर्माण व्यवसायीलाई सधै भरी घटीघटाउमा काम गर्न भन्दा दर रेटमा एकरुपता कायम गरी काम गर्न सुझाव दिए ।

‘घटी घटाउमा काम गर्दा निर्माण कार्यमा गुुणस्तर कायम गर्न सकिन्न,’ उनले भने, ‘निर्माण व्यवसाय सहरको निर्माण र सुन्दरतासँग जोडिएको हुन्छ, त्यसैले निर्माण कार्य गुणस्तरीय र भरपर्दो हुनु आवश्यक छ ।’ उनले श्रमिकको सुरक्षालाई प्राथमिकतामा राखेर निर्माण कार्यलाई अगाडि बढाउन सुझाव दिए ।

समितिका प्रमुख सल्लाहकार तथा नेपाल विजुली पेन्टर प्लम्बर तथा निर्माण मजदुर युनियन (क्युपेक) नेपाल कास्की अध्यक्ष तीर्थराज मगरले समितिको पहलमा धेरै श्रमिक व्यवसायी बनेको बताए । उनले निर्माण व्यवसायीले सबै श्रमिकलाई समृद्ध बनाउदै लैजान सुझाव दिए ।

Advertisement

पोखरा निर्माण व्यवसायी समिति अध्यक्ष नारायण गुरुङले निर्माण व्यवसायीको एकताबाट हक, अधिकार सुनिश्चित हुने बताए । स्वरोजगार निर्माण व्यवसायी समिति कास्की अध्यक्ष रमेश सिकेले अस्वस्थ प्रतिस्पर्धालाई रोक्न तथा व्यवसायीको सुरक्षाका लागि कार्यगत एकताको प्रस्ताव गरे । उनले निर्माण मजदुरको सुरक्षालाई ख्याल गरेर १० लाखको दुर्घटना बिमाको व्यवस्था गरेको जानकारी दिए ।

गण्डकी निर्माण समन्वय प्रालि अध्यक्ष रामजी सिकेले घटी घटाउमा काम गर्दा निर्माण कार्यमा गुणस्तरीयता कायम गर्न नसकिने बताए । उनले त्यस्तो व्यवसायले धेरै व्यवसायी धरासायी भएको दाबी गरे । कार्यक्रममा दिवंगत निर्माण व्यवसायी मोहनसिंह रानाको परिवारलाई १ लाख राहत प्रदान गरिएको छ । समारोहमा समितिका अध्यक्ष गुञ्जलाल श्रेष्ठ, उपाध्यक्ष तेजकुमार लिम्बु, सचिव चन्द्रबहादुर थापा, कोषाध्यक्ष कृष्णकुमार श्रेष्ठ लगायतले निर्माण क्षेत्रको समस्याका बारेमा बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया