सम्पादकीयः निर्वाचन नतिजाको घन्टी

समाधान संवाददाता २०७९ मंसिर १२ गते १२:०७

यो वर्षमात्रै जन्मिएको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले ठूला र पुराना पार्टीहरुलाई झट्का दिने गरी उपस्थिति जनाएको छ । २०७९ को आमनिर्वाचनको महत्वपूर्ण सन्देश नयाँ पार्टीहरुप्रति मतदाताको आकर्षण देखिएको छ । गण्डकी प्रदेशकै हकमा पनि ठूला पार्टीहरुलाई रास्वपाले घन्टी बजाइदिएको छ ।

उसले कुनै पनि प्रत्यक्ष निर्वाचन जितेको त छैन, तर थुप्रै निर्वाचन क्षेत्रमा घन्टी बजाइदियो । त्यो के भने ठूला र पुराना दलहरु सुध्रिएनन् भने मतदाताले नयाँ रोज्ने सन्देश आएको छ । मतदाता कुनै पनि दलका दास होइनन् भन्ने सन्देश पनि यो पार्टीलाई आएको मतले देखाएको छ ।

गण्डकी प्रदेशमा प्रतिनिधि सभा निर्वाचन क्षेत्र कास्की २ र नवलपुर १ मा त्यहाँ निर्वाचित प्रत्यक्ष उम्मेदवारभन्दा समानुपातिकमा रास्वपाको भोट धेरै आएको छ । प्रदेशभरका १४ निर्वाचन क्षेत्रमा रास्वपा उम्मेदवार निकटतम् प्रतिस्पर्धी भएका छन् । २ वटामा तेस्रो भएका छन् । तुलनात्मक रुपमा कम परिचित उम्मेदवार हुनुचाहिँ रास्वपाको कमजोरी रह्यो ।

Advertisement

उम्मेदवारहरुको ब्रान्डिङमा पनि ऊ फितलो प्रस्तुत हुँदामात्रै हार बेहोरेको बुझ्न सकिन्छ । होइन भने धेरै निर्वाचन क्षेत्र रास्वपाले पुराना पार्टीका उम्मेदवारलाई आत्थुआत्थु पार्ने रहेछन् । यो सबै पुराना पार्टीहरु एमाले, कांग्रेस र माओवादीले गएका ५ वर्षमा गरेका गतिविधिकै परिणाम हो ।

पुराना पार्टीले ५ वर्षलाई लगभग खेरै फालेका थिए । झन्डै दुईतिहाई बहुमत छँदाछँदै पार्टीलाई विभाजन गर्ने, आफ्नै पार्टी विभाजन गर्ने काम एमाले र माओवादीले गरे । उनीहरु एक बनेर ३ वर्ष पनि टिक्न सकेनन् । जनतासँग गरेका बाचा पटक्कै पूरा गरेनन्, बरु धोका थिए । पछिल्लोपटक फेरि माओवादी र कांग्रेससमेतले बनाएको सरकारले पनि तत्कालीन केपी ओलीको सट्टा आफ्नो सरकार बन्नुको औचित्य पुष्टि गर्न सकेन ।

Advertisement

सरकारी सेवा चुस्त बनाउन असफल भयो । भ्रष्टाचार घटाउन सकेन । बढिरहेको महँगी रोक्न सकेन । देशमा आर्थिकदेखि राजनीतिक अराजकता अत्यन्तै मौलायो । ठूला नेताहरु को प्रधानमन्त्री बन्ने भन्नेमात्रै ध्याउन्नमा लागे । देश बनाउने एजेन्डामा उनीहरुको कहिल्यै छलफल भएन । खालि झगडामात्रै गरिरहे ।

त्यसैले जनताले अब विकल्प खोज्ने संकेत दिएका छन् । उनीहरुको कानै टट्टाउने गरी घन्टी बजाइदिएका छन् । तर, नवउदय भएको पार्टी रास्वपासँग पनि अब ऊ फेरि पुरानै पार्टीहरु जस्तै राजनीतिमा नरुमलिने चुनौती छ । जनतामा आशा र विश्वास जगाउन सफल भयो र रास्वपाका सांसदहरुले सरकारको खबरदारी गर्दै जनताकै पक्षको आवाज उठाए भने भविष्य उज्ज्वल छ ।

तपाईको प्रतिक्रिया