जसले १ सय मत पनि कटाएनन्

प्रमिला कुँवर २०७९ मंसिर १३ गते ११:३५

पोखरा ।
मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा कतिपय उम्मेदवारले सय मत पनि प्राप्त गरेका छैनन् । खास गरी अत्यन्तै कम मत प्राप्त गर्नेमा साना पार्टी तथा स्वतन्त्र उम्मेदवार देखिएका छन् ।

कास्की निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभातर्फ साना तथा ठूला दल र स्वतन्त्र गरेर १४ जनाको उम्मेदवारी परेको थियो । तीमध्ये ५ जना उम्मेदवारलाई १ सय पनि मतदाताले पत्याएनन् । आमूल परिवर्तन मसिहा पार्टीका उम्मेदवार शिवप्रसाद अधिकारीले ८० मात्रै मत पाएका छन् । नेकपा माओवादी समाजवादीका टुकबहादुर सिंजालीले ३६ मत पाएका छन् ।

सीता श्रीस मगरले १९ प्राप्त गरेकी छन् । उनी राष्ट्रिय जनता पार्टीकी उम्मेदवार हुन् । राजेन्द्र माकले १६ मात्रै मत प्राप्त गरेका छन् । उनी नेपाल किसान पार्टीबाट चुनावी प्रतिस्पर्धामा थिए । स्वतन्त्र उम्मेदवारी दिएका दिलबहादुर रानाले ५ मतमात्रै पाएका छन् ।

Advertisement

यो क्षेत्रबाट नेकपा एमालेका मनबहादुर गुरुङ निर्वाचित भएका छन् । गुरुङले २५ हजार ७ सय ८ मत ल्याएका थिए । उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका किशोरदत्त बरालले २३ हजार १ सय ८९ मत ल्याएका थिए ।

प्रदेश सभा १ (१) मा स्वतन्त्र उम्मेदवार नवराज पौडेलले ५९ मत ल्याएका छन् । यो क्षेत्रमा ८ जना उम्मेदवार थिए । पौडेलले मात्रै १ सय भोट पनि कटाएनन् । यहाँ नेकपा एमालेका खगराज अधिकारी निर्वाचित भएका छन् । उनीसँग निकटतम् प्रतिस्पर्धी माओवादी केन्द्रका दीपक कोइराला भएका थिए । अधिकारीले १५ हजार ६ सय ३० ल्याउँदा कोइरालाले ११ हजार ६ सय २७ मत पाए ।

Advertisement

कास्की ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवारमध्ये ४ जनाले ५० मत पनि प्राप्त गर्न सकेका छैनन्

प्रदेश सभा १ (२) मा सयभन्दा कम मत ल्याउन उम्मेदवार छैनन् । सबैभन्दा कम नेकपा माओवादी समाजवादीकी गौमती गुरुङले १ सय १ मत प्राप्त गरेकी छन् । यहाँ नेकपा एमालेका वेदबहादुर गुरुङ विजयी भएका छन् । वेदबहादुर गुरुङ १२ हजार ६ सय ६१ मतसहित विजयी हुँदा उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका दीपक गुरुङले ११ हजार ७ सय ९४ मत पाएका थिए ।

कास्की क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका तारानाथ सुवेदीले ७५ मत ल्याएका छन् । गीताबहादुर रोकाले ६५ मत ल्याएका छन् । उनले आमुल परिवर्तन पार्टीबाट उम्मेदवारी दिएका थिए ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च पार्टीबाट चुनावी मैदानमा उत्रेका बालकुमार राईले ३३ मात्रै मत पाएका छन् । नेपाल मजदुर किसान पार्टीका उम्मेदवार पशुपति प्रजापतिले २६ मत प्राप्त गरेका छन् । ईश्वरबहादुर रानाले २४ मत ल्याएका छन् । उनी राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार हुन् ।

स्वतन्त्र उम्मेदवार दिएकी जमुना शर्माले १२ मत प्राप्त गरेकी छन् । स्वतन्त्र उम्मेदवारी दिएकी अर्की उम्मेदवार गीता नाथले जम्मा ४ मत प्राप्त गरेकी छन् । यहाँ नेकपा एमालेकी विद्या भट्टराई विजयी भएकी छन् । भट्टराईले १६ हजार ९ सय ९८ मत ल्याएकी थिइन् । उनका निटतम् प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले १२ हजार ४ सय ९५ ल्याएका थिए ।

प्रदेश सभा २ (१) मा स्वतन्त्र उम्मेदवार दुर्गाकुमारी शर्माले ४५ र निशा थापा गुरुङले ३४ मत पाएका छन् । यहाँ नेकपा एमालेका भीमबहादुर कार्की विजयी भएका छन् । उनले १० हजार ५ सय ३१ मत ल्याएका थिए । उनका निकटतम् प्रतिस्पर्धी राप्रपाका विजयबहादुर भण्डारीले ५ हजार ८ सय ९३ पाएका थिए ।

प्रदेश सभा २ (२) मा स्वतन्त्र उम्मेदवार मोनिका तामाङले ५२ र दिलमाया पुन गुरुङले ३२ मत ल्याएका छन् । यहाँ नेपाली कांग्रेसका विन्दुकुमार थापा निर्वाचित भएका छन् । थापाले ९ हजार २ सय ८० र उनका निकटतम् प्रतिस्पर्धी एमालेकी मीना गुरुङले ७ हजार ९ सय ७१ ल्याएकी थिइन् ।

कास्की ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवारमध्ये ४ जनाले ५० मत पनि प्राप्त गर्न सकेका छैनन् । स्वतन्त्र उम्मेदवारी दिएर चुनावी प्रतिस्पर्धामा होमिएका ढकबहादुर कार्कीले २४ मत प्राप्त गरेका छन् । नेपाल मजदुर किसान पार्टीका बलराम सिबन्जराले १९ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार पशुपतिनाथ तिमिल्सिनाले १६ मत प्राप्त गरेका छन् । अर्का स्वतन्त्र उम्मेदवार यादवप्रसाद तिमिल्सिनाले जम्मा १० मत प्राप्त गरेका छन् ।

यहाँ नेकपा एमालेका दामोदर पौडेल विजयी हुँदा माओवादी केन्द्रका रामजी बराल निकटतम् प्रतिस्पर्धी बने । पौडेलले २२ हजार ९ सय ८० र बरालले १७ हजार ५ सय ३५ मत ल्याएका थिए । कास्की ३ (१) र (२) मा भने क्रमश ७ र ६ जना उम्मेदवार थिए । त्यहाँ सयभन्दा कम मत ल्याउने कोही छैनन् ।

कास्की ३ (१) बाट १४ हजार ४ सय ७३ मतसहित एमालेका गणेशमान गुरुङ विजयी भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी माओवादीका दुर्गादत्त भण्डारीले ९ हजार ६ सय ६२ मत ल्याएका थिए । कास्की ३ (२)बाट कांग्रेसका प्रकाश बराल विजयी हुँदा एमालेका राजीव पहारी पराजित भए । बरालले १२ हजार ३ सय ६७ र पहारीले ११ हजार ९ सय २ मत ल्याएका थिए ।

प्रमिला कुँवर

पत्रकारितामा स्नातक कुँवर समाधान दैनिक र समाधानन्युज डटकमकी संवाददाता हुन् । 

तपाईको प्रतिक्रिया