व्यापार मेलाको तयारी अन्तिम चरणमा

समाधान संवाददाता २०७९ मंसिर १५ गते ११:१७

पोखरा ।
मंसिर १६ देखि २५ गतेसम्म आयोजना हुने समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९ को तयारी अन्तिम चरणमा पुगेको छ । राष्ट्रको औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा समेत सघाउ पुर्‍याउने उद्देश्यले मेला आयोजना गरिएको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले बताए ।

मेला गण्डकी प्रदेशको व्यवसाय विस्तारको सम्भावनाको खोजी तथा प्रदेशको पर्यटकीय सम्भावना उजागर गर्ने उद्देश्यमा समर्पित रहेको अध्यक्ष प्रजापतिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश तथा पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको मेलामा गण्डकी सरकार, पोखरा महानगरपालिका एवं नेपाल पर्यटन बोर्ड, पोखराको प्रतिष्ठित व्यवसायिक घराना लक्ष्मी हाउसको उत्पादन समृद्धि स्टिल्स मुख्य प्रायोजक छ ।

Advertisement

मेला सम्पन्न गर्न नेपाल उद्योग वाणिज्य महासंघ मेला समितिका सभापति नरेन्द्रकुमार प्रधानको संयोजकत्वमा २ सय ५१ सदस्यीय मुल आयोजक र पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिको अध्यक्षतामा कार्य सम्पादन समिति गठन गरिएको छ । कार्यसम्पादन समितिअन्तर्गत सल्लाहकार समितिका साथै विभिन्न २५ उपसमितिको सक्रियता छ ।

मेलाको करिब ९० प्रतिशत तयारी सकिएको र बाँकी काम बिहीबारसम्म सम्पन्न हुने अध्यक्ष प्रजापतिले जानकारी दिए । मेला गण्डकी प्रदेशका संचार, कानुन तथा प्रदेशसभा मामिलामन्त्री एवं पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विन्दुकुमार थापाले उद्घाटन गर्ने कार्यक्रम छ । मेलामा डोमतर्फ ७८, अटोका ४५ र अन्य विभिन्न खालका १ सय २० वटा स्टल गरी करिब २ सय ५० स्टल छन् ।

Advertisement

मेलाका लागि सबैजसो स्टलहरु बुकिङ भइसकेका छन् । विशेष उत्पादनका लागि केही स्टल रिजर्भ राखिएको छ । मेलाका आकर्षणको रुपमा औद्योगिक तथा व्यापार मेला, हस्तकला मेला, कृषिमेला, पुष्पमेला, अटोमेला, सूचना तथा प्रविधिहरुको प्रदर्शनी, विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरुको गतिविधिको प्रदर्शनी लगायत दैनिक उपभोग्य वस्तु घरायसी सरसामान, लत्ताकपडा, श्रृंगारका सामानको बिक्री वितरण रहेको प्रजापतिले जानकारी दिए ।

सिटीइभिटीको सहयोगमा कास्की जिल्ला हस्तकला संघले मेला स्थलमा हस्तकलाका सामग्री बनाउने तालिमसमेत प्रदान गर्ने अध्यक्ष प्रजापतिले बताए । मेलामा राष्ट्रिय कलाकारबाट सांस्कृतिक कार्यक्रम गरिनुका साथै रत्यौली गीत प्रतियोगिता र डान्सिङ स्टार प्रतियोगिता पनि राखिएको छ ।

मेला प्रवेश गर्न टिकट शुल्क १ सय र विद्यार्थीका लागि ६० रुपैयाँ लाग्नेछ । अवलोकनकर्ताले क्युआर कोडमार्फत् पनि टिकटको भुक्तानी गर्ने तथा मेला स्थलमा रहेका सम्पूर्ण स्टलको जानकारी प्राप्त गर्ने व्यवस्था मिलाइएको छ । मेलामा दैनिक उपभोग्य एवं अन्य सामग्रीमा छुटको व्यवस्था मिलाइएको छ भने मेलाको प्रवेश टिकटमा दैनिक आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रवेश टिकटको अर्धकट्टीकै आधारमा अवलोकनकर्ताले मणिपाल अस्पताल, ग्यालेक्सी हस्पिटल, युआरल, एलिगेन्स ट्रेड सेन्टर लगायतमा विशेष छुट पाउन सक्नेछन् । मेला अवधिभर प्रदर्शनी केन्द्रमा उद्यमशीलतासम्बन्धी सेमिनारको पनि आयोजना गरिएको छ ।

हालसम्म पोखराको पर्यटनको भावी गन्तव्य, महिला उद्यमशीलता विकासका अवसर र चुनौती, स्वरोजगार सिर्जना र यसका विविध आयामहरु, पोखराको स्वास्थ्य क्षेत्र र अवसरहरु, पोखराको पूर्वाधार, आवश्यकता र सुधार एवं व्यवसायिक वातावरण निर्माणका लागि निजी क्षेत्रको पहल विषयमा विभिन्न विज्ञहरुसँग गरिने अन्तरक्रिया कार्यक्रम तय गरिएको छ ।

विज्ञहरुको उपलब्धताको आधारमा अन्य कार्यक्रमहमेला अवधिमा थप्न सकिने उनले जानकारी दिए । मेलाबाट अनुमानित १ करोड आम्दानी, ८५ लाख खर्च र करिब १५ लाख बचत हुने अनुमान गरिएको छ । मेलाबाट बचत भएको रकम उद्यमशीलता प्रवद्र्धन गर्न तथा व्यवसायीको क्षमता अभिवृद्धिका लागि खर्च गरिने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया