पोखरा रिसर्च सेन्टरले युवाका लागि फेलोसिप सञ्चालन गर्ने

समाधान संवाददाता २०७९ मंसिर १७ गते १८:४२

पोखरा ।

पोखरा रिसर्च सेन्टरले वर्ष २०२२/२३ मा गण्डकीमा नेसनल इन्डोमेन्ट फर डेमोक्रेसीको सहयोगमा युथ इन पोलिसी एन्ड गभर्नेन्स फेलोसिप सञ्चालन गर्ने भएको छ । प्रदेश १ मा पनि पहिलोपटक यो फेलोसिप सञ्चालन गर्ने भएको छ । अमेरिकी दुतावासको सहयोग र विकल्प एन अल्टर्नेटिभको सहकार्यमा उक्त फेलोसिप हुन लागेको हो ।

युथ इन पोलिसी एन्ड गभर्नेन्स फेलोसिप गण्डकी प्रदेश र प्रदेश नम्बर १ दुबैको आवेदन डिसेम्बर २ अर्थात मंसिर १६, २०७९ देखि डिसेम्बर २२ पुस ७, २०७९ सम्म खुला रहने जानकारी संस्थाले दिएको छ । ‘२० देखि ३० वर्षका, कम्तीमा स्नातक तहमा अध्ययन गरीरहेका र सम्बन्धित प्रदेशमा कम्तीमा १ वर्षदेखि बसोबास गर्दै आएका नेपाली नागरिकले आवेदन दिन पाउनेछन्,’ संस्थाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

Advertisement

आवेदकहरुमध्येबाट सुरुको चरणमा ५० जना छनोट गरी पहिलो तहको तालिम दिइने भएको छ । २५ जनालाई छनोट गरी दोस्रो तहको तालिम दिइने पनि संस्थाले जनाएको छ । अन्तिम चरणमा १२ जनालाई छनोट गरी तेस्रो तहको तालिम पश्चात प्रदेश सभाका सदस्यहरुसँग ज्ञान सहयोगीका रुपमा ६ महिना काम गराइनेछ । तालिमका क्रममा युवाहरुले सार्वजनिक नीति निर्माण, सुसाशन, सरकारको संरचना, अनुसन्धान आदिका बारेमा प्रशिक्षण प्राप्त गर्नेछन् ।

पोखरा रिर्सच सेन्टर सार्वजनिक नीतिहरुको क्षेत्रमा काम गर्दै आइरहकोे संस्था हो । यस संस्थाले सार्वजनिक नीति सगँ सरोकार राख्ने बिभिन्न विषयहरुमा गण्डकी प्रदेशलाई आफ्नो मुख्य कार्यक्षेत्र मानेर अनुसन्धान, प्रशिक्षण तथा पैरवी गर्दै आइरहेको छ ।

Advertisement

२० देखि ३० वर्षका युवालाई कानुन तथा सार्वजनीक नीति निर्माणमा सहभागी गराउँदै प्रदेश सभाका सदस्यहरुसँग रहेर काम गर्दै प्रदेश सभालाई बलियो बनाउन सहयोग गर्ने उद्देश्यले युथ इन पोलिसी एन्ड गभर्नेन्स फेलोसिप (वाइजिपी फेलोसिप), पोखरा रिर्सच सेन्टरको पहलमा सन् २०२० देखि सुरु गरिएको हो ।

सन् २०२० मा पूर्व व्यावसायिक संसदीय सहयोग कार्यक्रम ( प्रिपार्लिमेन्टरी सपोर्ट प्रोग्राम फेलोसिप )को नाममा सुरु गरिएका थियो । हाल यो वर्षदेखि यसलाई रिब्रनडिङ गरेर अझै नयाँ र प्रभावकारी बनाउँदै मंसिर १६ गते कार्यक्रममार्फत सार्वजनिक गरेको हो ।

सन् २०२०÷२१ मा पहिलो पटक गण्डकी प्रदेशमा यो फेलोसिपको आयोजना रिसर्च सेन्टरले अमेरिकी दुतावास काठमाडांैको सहयोगमा सञ्चालन गरे पश्चात, २०२१÷२२ मा कर्णाली प्रदेशमा दुतावासकै सहयोगमा ऋति फाउन्डेसनसँगको सहकार्यमा सञ्चालन गरको थियो । गण्डकीमा नेसनल इन्डोमेन्ट फर डेमोक्रेसीको सहयोगमा सञ्चालन गरेको थियो ।

तपाईको प्रतिक्रिया