आत्महत्या रोकथामका लागि अभिमुखिकरण

समाधान संवाददाता २०७९ मंसिर १८ गते १७:१५

पोखरा ।
मनोसामाजिक सुस्वास्थ्य तथा आत्महत्या रोकथाम सम्वन्धि अभिमुखिकरण कार्यक्रम पोखरामा गरिएको छ । आत्महत्या रोकथाममा सबैको सहकार्य भन्ने मुल नाराका साथ कोशिश (राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्वन संगठन) नामक संस्थाको आयोजनामा अभिमुखिकरण कार्यक्रम आइतबार सम्पन्न भएको हो ।

पोखरा महानगरपालिका वडा कार्यालय ६ र शहरी स्वास्थ्य केन्द्र पोखरा ५ को समन्वय तथा सिबिएमको सहयोगमा अभिमुखिकरण भएको थियो । पोखरा वडा नम्बर ६ का जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, शिक्षिक–शिक्षिका, विभिन्न संघसंस्था तथा समूहका प्रतिनिधिलगाएत ३५ जना तालिममा सहभागि रहेको कोशिशले जनाएको छ ।

आत्महत्याको जोखिम कस्ता व्यक्तिमा हुने गर्दछ र सम्भावित व्यक्तिलाई कसरी सहयोग गर्न सकिन्छ भन्नेमा अभिमुखिकरण केन्द्रीत रहेको थियो । कोशिशका कार्यक्रम संयोजक सुदिप घिमिरेले मनोसामाजिक सुस्वास्थ्य तथा आत्महत्या रोकथाममा आफुले कसरी भूमिका खेल्न सकिन्छ भन्ने कुरामा प्रस्तुती राखेका थिए । आत्महत्या रोकथामका लागि सबै क्षेत्रको भूमिका महत्वपूर्ण रहने उनले बताएका छन् ।

Advertisement

कार्यक्रमको समापन गर्दै पोखरा ६ का वडासदस्य दिपेन्द्र पहारीले आत्महत्या रोकथामका लागि वडा कार्यालय सदैव सकारात्मक रहेको र वडाले गर्ने कार्यमा कहिल्यै पछाडी नपर्ने बताए । कार्यक्रमको सञ्चालन शहरी स्वास्थ्य केन्द्र पोखरा ५ का आशिक सुवेदीले गरेका थिए ।

‘कोशिश’ मानसिक स्वास्थ्य/मनोसामाजिक समस्या तथा मनोसामाजिक अपांगता अनुभव गरेका व्यक्तिद्वारा २०६५ सालमा स्थापित एक गैह्र सरकारी संस्था हो । यसको उद्देश्य आत्महत्या सोँचाइ तथा व्यवहार भएका व्यक्तिहरुलाई मनोसामाजिक सहयोग र सचेतना गराउनु हो ।

Advertisement

तपाईको प्रतिक्रिया