चुनावपछि सुनसान बन्दै उपल्लो मुस्ताङ

सुन्दरकुमार थकाली २०७९ मंसिर १९ गते १३:५४

जोमसोम ।
प्रतिनिधि र प्रदेशसभा निर्वाचन सकिएलगत्तै उपल्लो मुस्ताङ सुनसान बनेको छ । चुनावमा मतदान गर्न गाउँमा बसेका र बेसी झरिसकेर फेरि मतदान गर्न जिल्ला फर्किएका उपल्लो मुस्ताङी बेसी झर्न थालेपछि उपल्लो मुस्ताङ सुनसान बन्दै गएको हो ।

हिउँद यामको मौसममा जाडो छल्न र घुम्ती व्यापारका लागि बेसी झर्ने उपल्लो मुस्ताङीको सदियौंदेखि परम्परा हो । अत्यधिक चिसो र हिमपात हुने भएकाले सीमावर्ती क्षेत्रका अधिकांश बासिन्दा न्यानो खोज्दै बेसी झर्छन् ।

बेसी झरेकाहरु कोही घुमफिरमा रमाउँछन्, कोही घुम्ती व्यापार, व्यवसायमा सक्रिय हुन्छन् । चिसोका कारण बालबालिका तथा ज्येष्ठ नागरिकलाई निमोनिया लगायतका रोगहरुले सास्ती दिने हुँदा उपल्लो मुस्ताङीले घर घरमा एक जना कुरुवा राखेर बाँकी सदस्य बेसी झर्छन् ।

Advertisement

कतिपय घरमा ताल्चा मारेर चैत, वैशाख महिनासम्मका लागि सहर झर्ने गर्छन् । बर्खायाममा सधै गुल्जार हुने उपल्लो मुस्ताङ हिउँद याम लागेपछि शून्य हुन्छ । मंसिर महिनाअगावै मानिस चिसो छल्न बेसी झर्ने गर्छन् । उपल्लो मुस्ताङमा बर्सेनि एक बालीमात्रै उब्जिन्छ । वैशाख र जेठ महिनामा लगाइएका अन्नबाली भदौ महिनामा थन्क्याएपछि उपल्लो मुस्ताङी फुर्सदिला हुन्छ ।

लोमान्थाङ, चराङ, घमी र छुसाङका मुख्य सडकमा सञ्चालित होटलमा पर्यटकीय चहल–पहल हुने भएकाले होटल व्यवसायीमात्रै हुन्थे । तर कात्तिकको अन्तिम लागेपछि होटल व्यवसायी पनि गाउँमा बस्दैनन् । यसपालि चनावले गर्दा उनीहरु थप दुई हप्ता गाउँमा नै रोकिएका हुन् । उपल्लो मुस्ताङमा यार्तुङ, तिजी पर्व जस्ता स्थानीय मौलिक चाडपर्व सकिएलगत्तै स्थानीइ गाउँबाट बेसी झर्न थाल्छन् ।

Advertisement

यस वर्ष पनि चुनावअघि झन्डै ५० प्रतिशत स्थानीय नागरिक जाडो छल्न र घुम्ती व्यापारका लागि बेसी झरेका थिए । उपल्लो मुस्ताङमा जाडो बढे पनि कतिपय भने चुनावमा मतदान गर्ने पखाईमा गावैमा थिए । मतदान गर्न बसेका र मतदान गर्न जिल्ला फर्किएरहरु मंसिर ४ गतेपछि बेंसी झरिसकेको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिए ।

‘चिसो महिनामा यहाँका नागरिक गाउँमा बस्दैन, जाडो छल्न र व्यापार गर्न झर्छन्,’ अध्यक्ष बिष्टले भने, ‘चुनावको पर्खाइमा बसेका र मतदान गर्न आएका सबै अहिले बेंसी झरिसके ।’ जाडो छल्न बेसी झरेका झन्डै २ हजार जना उपल्लो मतदान गर्न जिल्ला फर्किएकोमा उनीहरु मतदानपछि बेसी झरेको अध्यक्ष बिष्टले सुनाए ।

उपल्लो मुस्ताङ प्रदेश (१) अन्तर्गत पर्छ । त्यहाँ ३ हजार ५ सय ४१ जना मतदाता छन् । जसमध्ये १ हजार ८ सय ४९ जनाले मतदान गरेका थिए । बर्सेनि बेसी झर्ने उपल्लो मुस्ताङी पोखरा, काठमाडौं लगायतका स्थानमा पुगेर वैकल्पिक घुम्ती व्यापारमा जुट्ने गर्छन् भने कतिपयले त छिमेकी देश भारतका विभिन्न स्थानमा पुगेर स्वेटरको व्यापार गर्ने गरेको गाउँपालिका अध्यक्ष बिष्टको भनाइ छ ।

गाउँमा एकबाली मात्र हुने र त्यसले ६ महिना पनि नथेग्ने भएकाले उपल्लो मुस्ताङका गरिब तथा विपन्न परिवार घुम्ती व्यापार गर्न बाध्य छन् । यसरी बेसीमा व्यापार गरेको पैसाले खाद्यान्न, लत्ता कपडा र दैनिक उपभोग्य सामग्री जुटाएर उनीहरु चैत, वैशाख महिनामा उकालो उक्लिन्छन् ।

मंसिर ४ गते अघि नै उपल्लो मुस्ताङका सीमावर्ती गाउँ सुनसान थिए । चीनको सीमानामा पर्ने छोसेर, नाम्डोक, ठिङ्गर, सम्जुङ, भार्सा, चुमजुङ लगायतका गाउँमा मान्छे निकै कम थिए । लोमान्थाङका पनि आधा जसो मानिस बेंसी झरेका थिए । तर, अहिले चुनाव सकिएलगत्तै लोमान्थाङका डेढ दर्जन होटल पनि चिसोका कारण बन्द रहेको लोमान्थाङका अध्यक्ष टसी नर्बु गुरुङ बताउँछन् ।

उपल्लो मुस्ताङमा लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिका पर्छन् । लोघेकर पनि चुनावपछिसुनसान छ । लोघेकरका यारा, घारा, ढि, सुर्खाङ, मराङ, चराङ, घमी, घिलिङ, ढाक्मर लगायतका गाउँ चिसोका कारण शून्य बनेका हुन् । अधिकांश नागरिक बेसी झरिसके पनि याकचौरी र भेडाच्यांग्रा गोठाला गावैमा बसेको लोमान्थाङकी उपाध्यक्ष छिमी बिष्टले जानकारी दिइन् ।

प्रदेश सभासद नम्डु गुरुङ मतदातालाई धन्यवाद दिन गाउँ पुगे पनि स्थानीय नहुँदा धन्यवाद दिन पाएनन् । निर्वाचित गुरुङ अहिले पोखरा, काठमाडौंमा पुगेर मतदातासँग भेटिरहेका छन् । उनले निर्वाचनपछि सबै उपल्लो मुस्ताङका नागरिक बेसी झरेको दाबी गरे ।

उपल्लो मुस्ताङका शैक्षिक संस्थाले अहिले अत्यधिक चिसोका कारण घुम्ती कक्षा चलाइरहेका छन् । लोमान्थाङका ३ सामुदायिक र ४ गुम्बा विद्यालयले अहिले पोखराका विभिन्न स्थानमा घुम्ती कक्षा सञ्चालन गरिरहेको लोमान्थाङका प्रशासन शाखा प्रमुख विकास केशीले जानकारी दिए ।

अहिले उपल्लो मुस्ताङमा दिनमा केही न्यानो महसुस भए पनि बिहान र बेलुकीको तापक्रम माइनस १० डिग्रीसम्म झर्ने गरेको केसीको भनाइ छ । अत्यधिक चिसोका कारण उपल्लो मुस्ताङमा धारा, सेफ्टी ट्यांकी, कुला र शाखा नदी बरफ बनेका छन् । ‘अहिले तापक्रम माइनसमा छ, चिसो एकदमै बढेको छ,’ उनले भने, ‘हामी पनि अब पालिकाको सेवा मुकाम बसेर दिने तयारीमा छौं, गाउँमा सेवाग्राही कोही हुनुहुन्न ।’

गाडी र हवाई सेवा बन्द
शुक्रबारदेखि उपल्लो मुस्ताङ रुटमा चल्ने सवारी साधनको सेवा बन्द गरिएको छ । चिसोका कारण गाउँमा स्थानीय नहुँदा र पर्यटकको समेत चहलपहल नहुँदा जोमसोम लोमान्थाङ यातायात सेवा बन्द भएको उपल्लो मुस्ताङ यातायात सेवा प्रालिका अध्यक्ष देव गुरुङले जानकारी दिए ।

‘चिसोले गर्दा यात्रु पनि हुँदैन, माथि पुगेका सवारी चिसोले स्टार्ट पनि हुँदैन,’ अध्यक्ष गुरुङले भने, ‘इन्धनको पैसा पनि उठ्दैन, यात्रु पनि हुँदैन, यसैले सेवा स्थगित गरेका हौं ।’ उनले हिउँद याममा उपल्लो मुस्ताङ रुटमा चल्ने सवारीलाई पोखरा लगेर मर्मत गरी वैशाख लागेपछि सेवा सुचारु गरिने बताए ।

चिसोका कारण मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको उपस्थिति पातलिएसँगै पोखरा जोमसोम हवाइ सेवा शनिबारदेखि अनिश्चित कालका लागि बन्द भएको जोमसोम नागरिक उड्यन कार्यालयले जनाएको छ ।

कार्यालयले आपत्कालीन हेली उद्दार र हेली चार्टर उडान भने बन्द नहुने जनाएको छ । चिसोका कारण मुस्ताङको जोमसोम र आसपासका होटल सुनसान छन् । चिसोले विकास, निर्माणका कामसमेत प्रभावित बनेका छन् ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया